३१ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

दोलखा। दोलखाको बैतेश्वर गाउँपालिका ३, ठाडेमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बैतेश्वर ३, ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई शुक्रबार बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो।

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेका प्रहरीको भनाइ छ।

भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो। दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए। उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने गरिएको छ।

यसअघि गौरीशंकर गाउँपालिकाका दुईजना भालुको आक्रमणबाट घाइते भएका थिए। गौरीशंकर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेका वन अधिकृत न्यौपानले उल्लेख गरे। -रासस