काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप २०२७ छनोटमा मलेसियासँगको २–० हार उल्टाउन माग गर्दै फिफासमक्ष आधिकारिक उजुरी दर्ता गरेको छ। एन्फाले मलेसियाले अवैध खेलाडी खेलाएको आरोप लगाएको छ।
विवादको केन्द्रमा हेक्टोर हेभेल रहेका छन्। उनी मार्च २५ मा सुलतान इब्राहिम स्टेडियममा भएको खेलमा गोल गर्ने खेलाडी हुन्। तर, पछि फिफाले उनलाई अवैध खेलाडी ठहर गरेको थियो।
एन्फा प्रवक्ता सुरेश शाहले नेपाल न्यूजसँग भने,‘नियम उल्लंघन भएको छ भने प्रतियोगिताको नियावलीअन्तर्गत नै हामीले स्वत: अंक पाउने व्यवस्था हुन्छ।’
फिफाले सेप्टेम्बर २६ मा मलेसियाको फुटबल संघ (एफएएम) लाई जालसाजी गरेर सात खेलाडी खेलाएको भन्दै कारबाही प्रकृया अगाडि बढाएको थियो। कारबाहीमा पर्ने खेलाडीमा हेभेलसहित जोआओ फिगुएरेडो, रोड्रिगो होल्गाडो, इमानोल माचुका, फाकुन्डो गार्सेस, जोन इराजाबाल र ग्याब्रियल पाल्मेरो रहेका छन्। यी सबैलाई एक वर्षका लागि सबै फुटबल गतिविधिबाट प्रतिबन्ध लगाइएको छ।
यदि फिफाले एन्फाको उजुरी मान्यो भने मलेसियाको जित रद्द हुनसक्नेछ र एएफसी एसियन कप २०२७ छनोटको तालिकामा ठूलो परिवर्तन आउन सक्ने सम्भावना छ। चार खेलमा अपराजित रहेको मलेसियाले नेपालसहित भियतनाम र लाओसलाई हराउँदै १२ अंक बटुलिसकेको छ। यो टोली शीर्ष स्थानमा छ। भियतनाम नौ अंकसहित अर्को चरणको प्रतिस्पर्धामा हुँदा तीन अंक जोडेको लाओससँगै अंकविहीन नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ।
नेपालले अब १८ नोभेम्बरमा मलेसिया र ३१ मार्चमा लाओससँग खेल्दै प्रतियोगिता टुंगाउने छ।