सुरक्षा तयारी
प्रजिअ ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै कात्तिक १ गते शनिबारदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम निषेध गरेका हुन्।
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न पाँच क्षेत्रमा दुई महिनासम्म विरोध तथा प्रदर्शनका कार्यक्रमहरु गर्न नपाउने आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै भोलि (कात्तिक १ गते शनिबार) देखि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हुन्। ‘विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवं हुलदंगा वा अशान्ति हुनसक्ने भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतल निवासलगायत क्षेत्रहरुमा कात्तिक १ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ प्रजिअ पौडेलद्वारा जारी आदेशमा छ।
यी हुन् निषेधित क्षेत्र
क) शीतलनिवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र :
उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,
पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म,
दक्षिण पश्चिमतर्क सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म।
ख) हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र :
केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटेलको सिमानासम्म।
ग) नारायणहिटी दरवार संग्रहालय क्षेत्र :
केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,
नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म।
घ) सिंहदरबार क्षेत्र :
भद्रकाली मन्दिर (तीनकुने आइल्यान) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म,
सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म,
पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म,
पुरातत्त्व विभागको चोकदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म।
ङ) प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र :
बालुवाटार पवित्र वर्कसप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक, चिनियाँ दूतावास हुँदै भाटभटेनीतर्फको लक्ष्मी बैंकअगाडि ढुंगेधारासम्म,
इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,
प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधानन्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,
प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म,
राष्ट्रबैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म ।

