काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हाम्रा धेरै धर्मावृत्त दन्त्यकथाका नाटीकुटी खोज्न थाले पनौतीको शची तीर्थमा जस्तै अनेक अपत्यारिला र असम्भव भ्वाङ भेटिन्छन्।

३१ आश्विन २०८२
पनौतीस्थित इन्द्रेश्वर महादेव। तस्बिर : रासस
अ+
अ-

नेपाली लोकवार्तामा ‘धर्मावृत्त दन्त्यकथा’ नामको छुट्टै वर्ग खुट्ट्याउन सकिन्छ। धर्म ग्रन्थमा पाइने धार्मिक कथाको पृष्ठभूमिमा जनजिब्रोमा थप तन्किएका दन्त्यकथा वा किंवदन्ती यस वर्गमा पर्छन्। धर्म ओढेको वा ओढाइएको कथा भन्ने अर्थमा यो नाम दिइएको हो।
हिन्दु धर्मावृत्त दन्त्यकथा वेद, ब्राह्मण, पुराण, काव्य (रामायण, महाभारत) आदिमा पाइने अथवा कुनै धार्मिक पावन स्थलको कथा-उपकथासित सम्बद्ध भई थप तन्किएका किंवदन्ती पर्छन्। लोककथामा नाम किटेर वा नकिटी देवदेवता, ऋषिमुनि, अप्सरा आदि पात्र हुँदैमा त्यसलाई यस वर्गमा राखिहाल्न मिल्दैन। जस्तै, बोधविक्रम अधिकारीलिखित नेपाली दन्त्यकथा को ‘स्यालको कथा’ मा महादेव-पार्वतीको उपस्थिति भए पनि यो धर्मावृत्त दन्त्यकथा होइन। अरू धर्मका पनि यस्ता कथा हुनसक्छन्।
इन्द्रको अहिल्यागमन

काठमाडौँ उपत्यकाको बाहिरी आग्नेयमा पुरानो बस्ती पनौतीलाई एकथरी मानिस यो सत्ययुगदेखिको बस्ती हो भनेर गौरव मान्छन्। धार्मिक विश्वासअनुसार यहाँका दुई खोला चसुखुसी (पुण्यवती र पद्मावती पनि भनिने) र रोसी (लीलावती र रोषमती पनि भनिने) दोभानमा जमिनमुनिबाट आएको अदृश्य रुद्रवती खोला मिसिएर बनेको शची त्रिवेणी धाम छ।

शची तीर्थको पूर्वार्ध धार्मिक कथा देवराज इन्द्रको अहिल्यागमन हो जुन कतिपय हिन्दु पुराण एवं रामायण महाकाव्यमा सानातिना पाठभेदका साथ पाइन्छ। ब्रह्मापुत्री अहिल्याको परमसौन्दर्यमा देवराज इन्द्र बेहद लोभिए। अहिल्यापति ऋषि गौतम बिहान झिसमिसेमै नदीतटमा पाठ-ध्यानमा घण्टौँ बिताउँथे। इन्द्रले ऋषिको कुटी परिसरमा रात नसकिँदै भुकभुक हुन लागेको इन्द्रजाल सृजना गरे। ऋषि बिहान भएछ भन्ठानेर नदीतिर लागे। अनि इन्द्रले गौतमको छद्म भेष धारण गरी कुटीमा छिरी अहिल्यासित समागम गरे।

कथामा पाठभेद देखिनाका साथै अन्योलका प्रश्न पनि खडा हुन्छन्– इन्द्र तपस्यारत दोभानमा मिसिन रुद्रावती खोला बनी महादेव आएका हुन् कि पार्वती?

उता ऋषिले नदीतटमा रातकै वातावरण पाएर यो कसैको छल हो भन्ने चाल पाए। कुटीमा फर्कंदा आफ्नै रूपको छद्मभेषी कोही कुटीबाट जाँदै गरेको देखे। उनले दिव्यचक्षुले भएको कुरा छर्लंग देखे। क्रोधावेशमा ऋषिले स्त्रीयोनि लुब्ध इन्द्रलाई तिनको शरीरमा हजार योनि पलाओस् भनी श्राप दिए, तुरुन्त त्यस्तै भयो। इन्द्र लाजले लुक्न स्वर्ग गए।

ऋषिले पत्नीलाई पनि ढुंगा हुने श्राप दिए। अहिल्याले आफ्नो निर्दोषता जाहेर गरी श्रापमुक्तिको प्रार्थना गरिन् (तिनको दोष-निर्दोषबारे पाठभेद पाइन्छ)। दिइसकेको श्राप फिर्ता नहुने हुँदा ऋषिले त्रेता युगमा विष्णुको अवतारको पाउको स्पर्शबाट पाप मुक्त हुने बताए। अहिल्या त्यहीँ ढुंगा भइन् र जुगपछि रामको चरण स्पर्शबाट फेरि मानव चोलामा फर्किन्।

पाठभेदमाथिका प्रश्नैप्रश्न

इन्द्रको अहिल्यागमन कथाको पृष्ठभूमिमा पनौतीमा धर्मावृत्त दन्त्यकथा जन्मन्छ। डा. सुमनराज ताम्राकार (पनौतीका चाडपर्व र मेलापर्व, वि.सं. २०६६, लेखक स्वयम्, पृ. २० र २१) का अनुसार तन्किएको कथा यस्तो छ —

पतिको विरूप देखेर पतिलाई श्रापमुक्त गर्न इन्द्राणीले गुरु बृहस्पतिसित सल्लाह गरिन् जसले ब्रह्माको आज्ञा लिई इन्द्रले कुञ्ज पर्वत (अहिले गोरखनाथ डाँडो भनिने) मुनि पद्मावती र लीलावतीको दोभानमा जहाँ सुकेको बाँस गाड्दा पलाउँछ त्यहाँ ज्येष्ठ पूर्णिमाका दिन नुहाएर १२ वर्ष महादेवको तपस्या गर्नुपर्छ भने। त्यस ठाउँमा इन्द्रसँगै इन्द्राणीले पनि तपस्या गरिन्। इन्द्राणीको तपस्याले प्रसन्न पार्वती त्यस दोभानमा रुद्रमती नदीका रूपमा प्रकट भइन्, इन्द्राणीले आफ्ना दिव्यचक्षुले देखिन्। पद्मावती उत्पन्न भएको एक दिव्य वर्ष (३६० वर्ष) पूरा भएपछि आधा नक्षत्र परेको कुनै ज्येष्ठ पूर्णिमाका दिन त्यहाँ शिवलिंग प्रकट भएर भने इन्द्राणी तपस्या गरी रुद्रावती प्रकट भएको हुनाले यस तीर्थको नाम शचि (शची) भयो, यस तीर्थमा नुहाए इन्द्रको निधारको योनिबाहेक अरू लोप हुनेछ र प्रकट भएको लिंगको नाम इन्द्रेश्वर हुनेछ।

शची तीर्थको एकसरो कथा यसरी सकिन्छ। तर यसका पाठभेदहरूबाट धर्मावृत्त कथाका भ्वाङहरू एकपछि अर्को देखिँदै जान्छ। ताम्राकारले प्रचलित लोकोक्ति यसरी प्रस्तुत गरेका छन्–

इन्द्रले १२ वर्षसम्म धैयर्पूवक तपस्या गरिबस्दा महादेव खुसी भई इन्द्रको रोग निको पार्न तयार भए र इन्द्रले सधैँ नुहाउने लीलावती र पुण्यवतीको दोभान नजिकै रहेको कुञ्जगिरिभित्र रहेका अमृतरूपी जडीबुटीरूपी औषधी पगाल्न महादेव आफै गिरिमा प्रवेश गरी वासुकि नागसमेतको सहायताले औषधीरूपी रुद्रावती नदी बनी दोभानमा मिसिन आए। दोभान पवित्र त्रिवेणी बन्यो र इन्द्रको सम्पूर्ण श्राप पनि निको हुँदै गयो। इन्द्रले तपस्या गरेको ठाउँमा अहिले मुक्तेश्वर महादेवको मन्दिर छ। इन्द्र स्वर्ग जाने बेलामा तिनले एक महादेवको स्थापना गरिगए इन्द्रेश्वर महादेव।

कथामा पाठभेद देखिनाका साथै अन्योलका प्रश्न पनि खडा हुन्छन्– इन्द्र तपस्यारत दोभानमा मिसिन रुद्रावती खोला बनी महादेव आएका हुन् कि पार्वती?, रुद्र (महादेव) खोला बनेर दोभानमा मिसिएको हो र तपस्या गर्ने इन्द्र हो भने तीर्थको नाम शची (इन्द्राणी) किन?, तपस्याले खुसी भएका महादेव इन्द्रेश्वर नाममा प्रकट भएर पापमुक्तिको वरदान दिएका हुन् कि महादेव प्रकटै नभईकन औषध-खोला बनेर इन्द्रले नुहाउने पानीमा मिसिएका हुन्?, इन्द्रले पाएको श्राप हो कि ओखतीले निको हुने रोग?, महादेव कहाँ प्रकट भएका हुन्, इन्द्रेश्वर मन्दिर स्थलमा कि मुक्तेश्वर स्थलमा?, इन्द्रेश्वर महादेवले इन्द्रलाई दर्शन दिएका भए किन दोभानमा मुक्तेश्वर महादेव र दोभानभन्दा निकै टाढा इन्देश्वर?

प्रश्न यत्तिमै सकिँदैन। यदि इन्द्रलाई मुक्तिको वरदान दिनमा मुक्तेश्वर महादेवको भूमिका छैन भने इन्द्रले तपस्या गरेको ठाउँमा किन इन्द्र नभएर मुक्तेश्वरको स्थापना?, इन्द्रले आफू स्वर्ग जाने बेला आफूले तपस्या गरेको ठाउँभन्दा पर इन्द्रेश्वर महादेव किन थापना गरे (पछिल्लो पाठभेदअनुसार इन्द्रेश्वर लिंग आफै प्रकट भएका होइनन् र?), इन्द्रेश्वरसँगै किन श्रापित अहिल्याको ढुंगा (यससम्बन्धी चर्चा तल छ)? अनि इन्द्रको तपस्यासित कुनै साइनो नहुने गरी शची तीर्थलाई किन उत्तर प्रयाग भनिन्छ र इन्डियाको प्रयागमा माघमा १२ वर्षमा लाग्ने मकर मेलाको बेला यहाँ पनि एक महिने मकर मेला लाग्छ?

कुञ्जगिरिको कथा 

माथि उल्लिखित कुञ्जगिरिसित सम्बन्ध भएको अर्को धर्मावृत्त दन्त्यकथा यहाँ प्रासंगिक छ। रामायणको युद्ध काण्डमा लंकामा लक्ष्मण घाइते हुँदा उपचारका लागि बुटी लिन आएका हनुमानले बुटी चिन्न नसकेर हिमालय पर्वतको एक हिस्सा नै उखेलेर लगेका थिए। त्यतिखेर थकाइ र तिर्खा लागेका हुनाले हनुमन्ते खोला (भक्तपुर)को हनुमानघाटमा झरेर पानी पिए र क्षणभर आराम गरे। फेरि पर्वत लिएर उड्दा सन्तुलन बिग्रेर हिमालका टुक्राहरू खसे। त्यही उछिट्टिएको एक अंश कुञ्जगिरि (गोरखनाथ डाँडो) हो, त्यसैले त्यहाँ हिमालयका जडीबुटी छन् (यो कुञ्जगिरि उत्पत्ति कथा मैले २०६० सालको दशकमा पनौतीका बुढापाकाबाट सुनेको हुँ। मुक्तिनाथ खनाल अनूदित, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा २०२८ सालमा प्रकाशित नेपाल-महात्म्य  पुस्तकमा भने हनुमान हनुमन्तीर्थमा उत्रेको कुरा छ, तर कुञ्जगिरिको कुरा छैन)।

प्रश्न हो– अहिल्याले सराप पाएर हालको मिथिलाञ्चलमा बनेको ढुंगो थपक्क पनौतीमा कसरी आइपुग्यो? पुराण र रामायणले श्रापित अहिल्याले ढुंगाबाट पुनर्जीवन पाएपछि ढुंगा यथावत् रह्यो भन्ने कुरा भन्दैन, पनौतीमा चाहिँ ढुंगा जस्ताको तस्तै कसरी रह्यो?

कुञ्जगिरिमा औषधजन्य बुटी भएकाले महादेव त्यहाँ गई बुटीलाई पानीमा मिसाएर रुद्रावती भएर प्रकट भए भन्नाका लागि यस धर्मावृत्त दन्त्यकथाले मद्दत गर्छ तर इन्द्रको तपस्याकाल (सत्य) र हनुमानले हिमाल लगेको (त्रेता) काल र पर्वत लगेको भूगोलको गणना गर्दा यहाँ अर्को भ्वाङ पर्छ। हनुमानले पर्वत लाँदा अहिल्या नै पापमुक्त भइसकेकी थिइन् भने त्यतिबेलासम्म इन्द्र श्रापपीडित कदापि थिएनन्। स्त्रीमाथि दमन देवताकै पालादेखिको चलन देखिन्छ, इन्द्र अहिल्यागमनको केही समयपश्चात् सत्य युगमै पापमुक्त भइसकेका थिए।

धर्मावृत्त दन्त्यकथालाई समयकाल र भूगोल चाहिँदैन। हनुमानले हिमाल लाँदा हनुमन्तीर्थ (हनुमानघाट)मा पानी पिएको कथा रामायणमा वर्णित भूगोलसित मेल खाँदैन, किनभने हनुमान हालको इन्डियाको हिमाञ्चल प्रदेशमा रहेको हिमालयको खण्ड उखेलेर अयोध्याको आकाश माथिबाट लंका गएका थिए, भरतको अवरोधका कारण हनुमान अयोध्यामा ओर्लेको प्रसंग रामायणमा पाइन्छ।

अहिल्याशिला

इन्द्रले तपस्या गरेको भनिने दोभानभन्दा उत्तरमा पनौती बस्तीसित सटेर इन्द्रेश्वर महादेवको मन्दिर छ। त्यसको परिक्रमा मार्गको उत्तरपूर्वमा एउटा ढुंगो भुइँको सतहमा मिल्ने गरी गाडिएको छ। पनौती घुम्न आउनेलाई त्यो ढुंगो अहिल्या-ढुंगा हो कुल्चन हुँदैन भनेर कतिपय पनौतीवासी गौरवका साथ भन्छन्। तर, अहिल्या गौतम ऋषिको आश्रममै ढुंगा बनेकी थिइन्।

राजा रवि बर्माले बनाएको अहिल्याको चित्र। तस्बिर : विकिपेडिया

रामायणका अनुसार गंगा नदीपारिको मैदान (इन्डियाको कैमुर पर्वतको तराई)मा राम आफ्ना दोस्रा गुरु विश्वामित्रको आश्रममा छँदा गुरुकै आज्ञाले गुरुका साथ जनकपुरमा हुन लागेको ‘शिव धनुषयज्ञ’ (सीतास्वयंवर)को भव्यता हेर्न गएका थिए (कारणवश राम-सीता विवाह भयो)। यस यात्रामा उनीहरू गंगा तरेर उत्तरी फाँटमा पुग्दा कुनै ठाउँ (किंवदन्तीअनुसार हालको विहार, दरभंगाको अहिल्या नगरी पनि भनिने अहिरिया गाउँ)मा रामको पादस्पर्श एउटा विशाल शिलामा भयो जुन शिला गौतम ऋषिको आश्रमको परिवेश थियो र त्यही अहिल्या शिलाबाट पुनर्जीवित भइन्। त्यसपछि उनीहरू जनकपुर आए (दरभंगा र नेपालको जनकपुर दुवै मिथिला क्षेत्रमा पर्छ)।

प्रश्न हो– अहिल्याले सराप पाएर हालको मिथिलाञ्चलमा बनेको ढुंगो थपक्क पनौतीमा कसरी आइपुग्यो? पुराण र रामायणले श्रापित अहिल्याले ढुंगाबाट पुनर्जीवन पाएपछि ढुंगा यथावत् रह्यो भन्ने कुरा भन्दैन, पनौतीमा चाहिँ ढुंगा जस्ताको तस्तै कसरी रह्यो?

यस सम्बन्धमा दरभंगामा प्रचलित अर्को किंवदन्ती यहाँ प्रासंगिक होला। दरभंगा महाराजले अहिल्याले पुनर्जीवन प्राप्त गरेको भनिएको ठाउँमा इसा १७६५ मा देवीको सम्मानमा मन्दिर बनाउन चाहे। मन्दिर बन्दै गर्दा देवी महाराजको स्वप्नमा प्रकट भएर भनिन्, ‘राजन्, म युग युग शिला भएर बसिसकेँ, फेरि मलाई शिलामा नकुज्याउनुहोस्। मन्दिर बरु श्रीरामलाई समर्पण गर्नुहोस्।’ अनि महाराजले मन्दिरमा राम, लक्ष्मण, सीता, विश्वामित्र, हनुमान आदिका मूर्ति स्थापना गरे। तिनै राजाले मन्दिरमा अहिल्याको मूर्ति स्थापना गरेनन् होला, तर विडम्बना त्यहाँ अहिले अहिल्या र गौतम ऋषिको मूर्ति पनि छ।

पनौतीमा अहिल्या-ढुंगा सँगै रहेको इन्द्रेश्वर महादेवले श्रापित विरूप इन्द्रलाई श्रापमुक्त गरेका हुन् कि शची तीर्थमा रहेका मुक्तेश्वरले भन्ने अस्पष्टता रहेको कुरा माथि चर्चा भइसकेको छ। नेपाल महात्म्यले श्रापित इन्द्रले पनौतीमा तपस्या गर्न आएको कथा कथ्दैन। त्यहाँ इन्द्रेश्वर महादेवको चर्चा चण्डेश्वरीले चण्डासुर मारेको कथाको प्रसंगमा छ। चण्डासुर दैत्यको वधपछि खुसी भएका देवताहरू चण्डेश्वरीको सम्मानमा यहाँ (हालको बनेपा क्षेत्र) आई ठाउँ ठाउँमा लिंग स्थापना गर्ने क्रममा इन्द्रले इन्द्रेश्वर लिंग स्थापना गरे (अध्याय ५, श्लोक १५)। यसबाट इन्द्रेश्वर महादेवले श्रापित इन्द्रलाई मुक्त गरेको होइन भन्ने देखिन्छ।

पनौती उपत्यका आसपास विकास भएको ढुंगेयुगदेखिको बस्ती हो र त्यतिबेलादेखि नै त्यहाँ ज्येष्ठ पूर्णिमाको दिनलाई वर्षको पहिलो दिन (नयाँ वर्षारम्भ) मानी हाल इन्द्रेश्वर भनिने लगायत अन्य इष्टदेवदेवी (आजु अजि अजिमा)हरूको जात्रा गर्थे।

तर कतिपय पनौतीवासी अहिल्यागमनबापतको श्रापबाट मुक्त भएपछि इन्द्रेश्वर महादेव स्थापना गरी पनौती बसाले भन्ने कथा मच्ची मच्ची कथ्छन् (सूर्यप्रसाद लाकोजू, पनौती, सविताकुमारी श्रेष्ठ, वि.सं. २०६६), सोही किताबमा अन्यत्रै रहेको बस्तीमा उडुसले उपद्रो दु:ख दिएको हुनाले हालको ठाउँमा पनौती बस्ती सरेको भन्ने उल्लेख पनि छ। मानौँ, इन्द्रले आफ्नो पापमुक्ति पछि इन्द्रेश्वर शिवलिंग स्थापना गरे। तर, किन श्रापित ढुंगा अहिल्याशिलासँग सटेर स्थापना गरे? के आफ्नो अहिल्यागमनको पौरख देखाउन? अथवा पापकर्मको प्रायश्चित गर्न?

इन्द्रले अहिल्यामाथि गरेको पापकर्म पहिला कि चण्डेश्वरीबाट चण्डासुर मारिएको? घटनाक्रम लेखाजोखा गर्दा चण्डासुर मारिएको घटना पहिला हो। नेपाल महात्म्यमा भनिएको कुरा भन्दैमा ती अकाट्य हुन् भनेर मान्न सकिँदैन, किनभने ती पनि त्यतिखेर प्रचलित धर्मावृत्त दन्त्यकथाहरूको संकलन मात्र हुन् जुन मूल पुराण लेखिएको धेरैपछि अर्थात् इस्वीको आठौँ शताब्दीपछि मात्र लेखिएका हुन् र चण्डासुर (चण्ड नामका असुर) र चण्डेश्वरी हिमवत् खण्ड, नेपाल महात्म्यको उपज हुन्। यस अर्थमा चण्डासुर विशुद्ध नेपाली दैत्य हो, देवी चण्डेश्वरी पनि।

धर्मावृत्त दन्त्यकथामा किन भ्वाङ पर्छ?

हिन्दु वा सनातन आर्यधर्ममा आधारित यस्ता धर्मावृत्त दन्त्यकथा हिन्दउपमहाद्वीपभरि अनेक तरहका पाइन्छन्। कतिपय मूल कथासित बाझिन्छन् भने कतिपय उही कथा विभिन्न ठाउँसित सम्बन्धित हुन्छन्। अध्ययनबाट के निष्कर्षमा पुगिन्छ भने, गंगा मैदानमा आर्य संस्कृतिको पूर्ण विकास भइसकेपछि खास गरी इसाको चौथोदेखि आठौँ शताब्दीसम्म मूल १८ पुराण, रामायणमहाभारत पनि बनिसकेपछि हिन्द उपमहाद्वीपमा यही मीठा धार्मिक कथा लिएर आर्यहरू फैलिए।

यसअघि नै आर्यहरूले सिन्ध, यमुना र गंगा क्षेत्रका अनार्य सैन्य शक्तिलाई हराइसकेको र आध्यात्मिक ज्ञान पनि वेद, उपनिषद् आदिको रचनाले फराकिलो भइसकेको हुँदा सामरिक बलभन्दा धार्मिक भावको विस्तारलाई उनीहरूले हतियारका रूपमा प्रयोग गरे। जहाँ गए, त्यहाँ आफ्नो विशाल धर्म-कथाले अनार्यहरूलाई मोहित पार्ने मात्र होइनन्, उनीहरूको बसोबास क्षेत्र यस्तो वा त्यस्तो धार्मिक सन्दर्भ गाँसिएको पवित्र ठाउँ हो भनेर पावन तीर्थ बनाउँदै गए। अल्पज्ञानी आर्यहरूले मान्दै आएका देवता प्रायः शिव र भगवतीमा परिणत भए (पछि विष्णुमा पनि), जमिनमुनिबाट अदृश्य नदीहरू मिसिएर त्रिवेणी र पञ्चवेणीहरू बने, इत्यादि। स्थानीयहरू तपस्वी फकिर वा सदाचारी पण्डितको मुखारविन्दबाट आकर्षक अनेक मनोरञ्जनात्मक कथा, आफ्नो बुद्धिले छिचोल्न नसकिने आध्यात्मिक ज्ञान इत्यादिका साथ आफ्नो ठाउँको तथाकथित आदिम महत्त्व पनि जान्न पाएर मख्ख परे।

काठमाडौँ उपत्यका र आसपासका सन्दर्भमा दक्षिणी मैदानबाट उक्लेका स्वनामधन्य वा सिद्धपुरूषले बेलाबेला यस देवभूमिको फलानो ठाउँमा देवताले यसरी क्रीडा गरेका थिए वा फलानो कारण सो ठाउँमा उत्पन्न भएका थिए, इत्यादि भनेर राजा र जनसाधारणलाई बताएको कुरा इतिहास नै हो झैँ गरी नेपालका अनेक वंशावलीमा उल्लेख भएको प्रमाण पाइन्छ। यसकारण यसरी सिर्जिएका धर्मावृत्त कथाहरूमा कस्सिएर नाटीकुटी खोज्न थालेपछि भ्वाङहरू भेटिन थाल्छन्, जुन खोजाइको इतिहाससम्बद्ध कुनै महत्त्व छैन। त्यसैको एउटा नमुना शची तीर्थ हो।

पनौती उपत्यका आसपास विकास भएको ढुंगेयुगदेखिको बस्ती हो र त्यतिबेलादेखि नै त्यहाँ ज्येष्ठ पूर्णिमाको दिनलाई वर्षको पहिलो दिन (नयाँ वर्षारम्भ) मानी हाल इन्द्रेश्वर भनिने लगायत अन्य इष्टदेवदेवी (आजु अजि अजिमा)हरूको जात्रा गर्थे (भिक्टर प्रधान, ढुंगेयुगीन बस्ती पनौती, हिमालखबर, ११ साउन २०८१। त्यसैले स्थानीय आदि (आजु) देवतालाई वैदिक सनातन आर्यदेवमा सामेल वा परिवर्तन गर्नुपर्दा यिनको नाम इन्द्रेश्वर हुनाका साथै इन्द्रेश्वरसम्बन्धी दुई कथा जन्मे, कुनै स्वनामधन्य सिद्धले इन्द्रको तपस्या गरेको र स्वर्ग जाने बेला इन्द्रेश्वर स्थापना गरेको कथा हाले, अर्काले चण्डेश्वरीको विजयको सम्मानमा अरू देवताले वरपर शिवलिंग स्थापना गर्न थालेपछि इन्द्रले पनि आफूले पहिला तपस्या गरेको ठाउँमा इन्द्रेश्वर स्थापना गरे।

अनि अर्का स्वनामधन्य आए। र, भनिदिए- शची त ठूलो तीर्थ हो इन्द्रसँगै शचीले पनि १२ वर्ष तपस्या गरेकी थिइन्। प्रयागराजमा गंगा र यमुनाको दोभानमा सरस्वती अदृश्यरूपमा मिसिए जस्तै यहाँ रुद्रावती प्रादुर्भाव हुनुभएको छ, त्यसैले यो उत्तर गया हो।

अनि यहाँ प्रयागकै अनुकरणमा १२ वर्षे मकर कुम्भमेला सुरु भयो ज्येष्ठ पूर्णिमामा यही दोभानमा हुने जात्राको ६ महिनापछि। यो कुरा पुष्टि गर्न फुलचोकी पहाडको उत्तरबाट उत्पन्न हुने गोदावरी (फुलचोकीको दक्षिण पाखोबाट रोसी उत्पन्न भई शची तीर्थमा मिसिन्छ)को नाम पनि एक स्वनामधन्य फकिरले राखेका हुन् भन्ने कुराले सघाउँछ। एक जना फकिर हालको गोदावरीको मुहानमा आए र भने– अहो मेरो जपमाला, लट्ठी, झोला, तुम्बा, बाघछाला र विभूतिको डल्लो गोदावरीमा बगेको थियो, म यहाँ आउँदा सो बगेर यहाँ पो निस्क्यो, गोदावरी त जमिन भित्र भित्रबाट यहाँ पो निक्लेको रहेछ ! (डानियल राइट, हिस्ट्री अफ नेपाल, पुन:प्रकाशित १९९०, यहाँ मद्रासको गोदावरी भनिएको छ, हुनुपर्ने महाराष्ट्र हो)।

बस, देवभूमि नेपालका सोझासिधाहरूले यसलाई गोदावरी भने अनि यसको पुरानो नाउँ बिर्से। एक समुद्र (अरब सागर) नजिकैबाट बगेर अर्को समुद्र (बंगालको खाडी)मा बग्ने नदी गोदावरी कसरी भित्री हिमालमा रहेको काठमाडौँमा जमिन मुनि मुनिबाट आई प्रकट हुन्छ? तर आयो देवभूमि नेपालमा! अनि महाराष्ट्रमा जस्तै १२ वर्षे सिंहस्थ कुम्भमेला लाग्न थाल्यो असोजतिर।