३१ आश्विन २०८२
अ+
अ-

काठमाडौं। एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले २३ भदौ घटना नरसंहार भएको भन्दै तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उन्मुक्ति नपाउने बताएका छन्।

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा २३ र २४ भदौको भएका घटना समयमा पार्टी सत्ता र राज्य सत्तामा भएकाहरुले आजिवन उन्मुक्ति नपाउने पनि बताएका हुन्।

“पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौं,” उनले भने। उनले २३ र २४ भदौको घटनालाई विदेशी षडयन्त्र मात्रै भनेर भन्दा विश्लेषण बस्तुनिष्ठ नहुने र आफ्नो अकर्मण्यता नछोपिने बताएका छन्।

बैठकमा सिंहले भने, “२४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।” २३ भदौमा जेन जी आन्दोलन हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।

उनले अहिलेको जनतामा जनताको आक्रोश नेकपा एमालेमाथि नभै पार्टी अध्यक्ष ओलीविरुद्ध भएको बताए। “उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समुहमाथी रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।” सिंहले युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ती भन्न नहुने बताए।

“कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ?,” सिंहले भने ।

उनले विधान महाधिवेशनले गरेको विश्लेषण २४ घण्टा नपुग्दै असफल भएको भन्दै यही कार्यनीति बोकेर ५ वर्ष पार्टी जान नसक्ने बताए। ” नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउदैन। सक्किने बाटोमा लैजान्छ” सिंहको चेतावनी थियो।

उनले भ्रस्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपीहरु अहिले केन्द्रीय कमिटीमा रहेको भन्दै कारवाहीको माग गरेका छन्। “त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने?” उनको प्रश्न थियो।

उनले बैठकमा पार्टी पदाधिकारीहरुको समेत आलोचना गरेका थिए। “४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउदा कुनै हिनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरुले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन,” सिंहले भने।

उनले दुई पटक संसद विघटन गरेको एमाले चुनाव बहिस्कार गर्ने र प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर जनताको जाँदा हाँसोको पात्र हुने बताए। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउने माग गरे।