व्यक्तिवृत्त
गत विश्वकपमा नेपालको कमजोर प्रदर्शनपछि रोहितलाई नेतृत्व छोड्नसम्मको दबाब परेको थियो। तर, ओमानमा उनले आफ्नै कप्तानीमा नेपाललाई लगातार दोस्रोपल्ट विश्वकपमा पुर्याए।
ओमानको त्यो साँझ नेपाली क्रिकेटका लागि असामान्य थियो। आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरेपछि राष्ट्रिय टोलीका सदस्यहरू आपसमा अँगालिए। कोही भावुक देखिए। केहीको आँखा रसायो। उत्सवको त्यो घडीमा एउटा अनुहार भने यस्तो देखियो, जो शान्त थियो।
यो कथा हो– कप्तान रोहितकुमार पौडेलको। जसका लागि त्यो क्षण जित मात्र थिएन, एक वर्षअघिको पीडादायी यात्राको अन्त्य पनि। यसअघि उनको क्षमता र निर्णय गर्ने शक्तिबारे प्रश्न उठेको थियो।
युवा अवस्थामै उनी यति ठूलो जवाफ दिनुपर्ने दबाबमा थिए। तर, निरन्तरको प्रयास र धैर्यको परिचय दिँदै उनले आफ्नो कप्तानीमा नेपाललाई लगातार दोस्रोपल्ट विश्वकपमा प्रवेश गराइछाडे। लामो समयपछि मैदानमा खुसी देखिएका रोहित भन्दै थिए, “म यो खुसी शब्दमा बयान गर्न सक्दिनँ।”
सन् २०२४ को आईसीसी टी-२० विश्वकप नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण थियो। सन् २०१४ मा पहिलोपटक बाङ्लादेशमा विश्वकप खेलेयता एक दशकको अन्तरालमा नेपाल टी-२० विश्वकपमा फर्किएको थियो। त्यतिबेला नेपाली टोलीको नेतृत्व गरेका थिए, २२ वर्षीय उनै रोहितले।

तस्बिर : क्यान
उनको कप्तानीमा लामो तयारीपछि नेपाली टोली अमेरिका र क्यारेबियन आइल्यान्डको वेस्ट इन्डिज टापुमा पुगेको थियो। उनको नेतृत्व क्षमताप्रति त्यतिबेला नेपाली समर्थकले ठूलै आशा राखेका थिए। तर, नेपालको प्रदर्शन सोचेजस्तो भएन।
ब्याटिङ क्रम अस्थिर रहँदा लाखौँ समर्थक निराश भए। टोलीको रणनीति पनि अस्पष्ट देखियो। ९५ दिनअघि नेदरल्यान्ड्सलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ विकेटले हराएको नेपाल विश्वकपमा त्यही डच टोलीसँग पराजित भयो।
अझ, श्रीलंकाविरुद्धको खेल वर्षाले रद्द हुँदा दक्षिण अफ्रिकासँग एक रनको झिनो अन्तरले पराजय भोग्नुपर्यो। बाङ्लादेशसँगको अन्तिम खेलमा १०७ रनको कमजोर लक्ष्य पनि पूरा गर्न सकेन।
अघिल्लो विश्वकपको फितलो नतिजापछि रोहितले आफ्नो समय परिवार र प्रशिक्षणमा सीमित राखे। बिहानै कीर्तिपुर पुग्थे, नेटमा घन्टौँ अभ्यास गर्थे।
पटक पटक जितनजिक पुगेर हार्नुको पीडा सामान्य हुँदैन। त्यो हारको पीडा रोहितले मात्र भोगेनन्, दक्षिण अफ्रिकाका पूर्वबलर डेल स्टेनदेखि विश्वचर्चित खेलाडीहरूले पनि त्यो अवस्था बुझेका थिए। त्यसैले उनीहरूले नेपालको हारको घाउमा मलम लगाउँदै सान्त्वना दिए। तर, सामाजिक सञ्जालमा रोहितका आलोचकहरूले पटक पटक यही कुरा कोट्याउँदै उनलाई बदनाम गर्न खोजे।
‘खेलाडीका रूपमा रोहितसँग क्षमता छ, तर कप्तानीमा असफल छन्’ भन्ने भाष्य स्थापित गर्न नखोजिएको होइन। उनीविरुद्ध ‘निर्णयमा ढिलाइ, फिल्ड सेटअपमा गल्ती र रणनीतिक कमजोरी’ जस्ता आरोप लागे। फेसबुक र एक्समा ‘रोहित आउट’ भन्ने ट्रेन्ड नै चलाइयो। केहीले त उनलाई कप्तान पदबाट किन राजीनामा नदिएको भन्दै सार्वजनिक आलोचना नै गरे।

अंकमाल गरिरहेका सन्दीप लामिछाने र रोहित पौडेल। तस्बिर : क्यान
तर, रोहितले त्यो कठिन समयमा कुनै प्रतिक्रिया दिएनन्। चुप बसे। विश्वकप छनोट खेल्न जानुअघि पूर्वखेलाडी शरद भेषवाकरको पडकास्टमा उनले भने, ‘एसिया कपमा भारत र पाकिस्तानसँग खेलेपछि दक्षिण अफ्रिका र बाङ्लादेशलाई हराउन सक्छौँ भन्ने विश्वास थियो। पहिलोपल्ट खेलिरहेकोजस्तो लागेको थिएन। तर, नतिजा दिलाउन सकेनौँ, दुःख लाग्छ।’
उनको मौनता धेरैलाई कमजोरी लाग्छ। तर, थोरैलाई मात्र थाहा छ– उनको मौनताभित्र धेरै कुरा लुकेका छन्।
अघिल्लो विश्वकपको फितलो नतिजापछि रोहितले आफ्नो समय परिवार र प्रशिक्षणमा सीमित राखे। बिहानै कीर्तिपुर पुग्थे, नेटमा घन्टौँ अभ्यास गर्थे। उनका अनुसार उनी आफ्नो गल्तीको मूल्यांकन स्वयं गर्थे।
तत्कालीन मुख्य प्रशिक्षक मोन्टी देसाईका ‘प्रिय कप्तान’ हुन्, रोहित। मोन्टीकै प्रशिक्षणमा उनी सफल कप्तानमा दरिए। सन् २०१८ मा नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन १२ मध्ये ११ खेल जिताए। एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै कुनै बेला टोलीका अधिकांश खेलाडीले देखेको भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गरे। उनकै कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्यो भने पहिलोपल्ट टेस्ट टोली वेस्ट इन्डिजविरुद्धको शृंखला २–१ ले आफ्नो पोल्टामा पार्यो।
नेपाली समर्थकले एकपल्ट फेरि रोहितको कप्तानीमा नेपाली क्रिकेटको भविष्य देख्न थालेका छन्।
रोहितको विषयमा पूर्वप्रशिक्षक जगत टमाटाको धारणा छ, “सबैभन्दा महत्त्वपूर्ण कुरा उनी जिज्ञासु स्वभावका छन्। धेरै सिक्न चाहन्छन्। ब्याटिङ मात्र होइन, विभिन्न परिस्थितिमा कसरी नेतृत्व गर्ने भन्ने कुरा पनि सिक्न चाहन्छन्।”
पछिल्लो समय रोहितको शैलीमा परिवर्तन देखिन्छ। मैदानमा उनी पहिलेभन्दा बढी धैर्यवान्, सजग र रणनीतिक रूपमा निपुण देखिन थालेका छन्। खेलाडीहरूले पनि उनलाई कप्तान मात्र नभई, प्रेरणाको स्रोतका रूपमा हेर्न थालेका छन्। उनको धैर्य कतारविरुद्धको खेलमा देखिएको थियो। टिममा खटपट रहेको चर्चा चुलिएको बेला जित्नैपर्ने खेलमा ५८ रन बनाए। त्यो उनको एक वर्षपछिको अर्धशतकीय इनिङ्स थियो। यो खेलमा सन्दीपले पाँच विकेट लिए।
सन्दीपको उत्कृष्ट बलिङका कारण नेपालले पाँच रनको रोमाञ्चक जित निकाल्यो। सन्दीपको प्रदर्शनले रोहितको मन थाम्न सकेन। उनले मैदानभित्र प्रवेश गरेर सन्दीपलाई अंकमाल मात्र गरेनन्, चुम्बन नै गरे।

क्रिकेट टोलीका सदस्यसँग रोहित। तस्बिर : क्यान
सन् २०१९ मा बाङ्लादेशमा भएको एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध उनले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। अहिले २३ वर्षमा प्रवेश गरेका छन्। तर, अनुभवले उनलाई पूर्वभारतीय कप्तान रोहित शर्माजतिकै परिपक्व बनाएको छ। आलोचना, निराशा, नेतृत्व र पुनरुत्थान यी सबै उनको यात्राका अध्याय हुन्।
नेपाली समर्थकले एकपल्ट फेरि रोहितको कप्तानीमा नेपाली क्रिकेटको भविष्य देख्न थालेका छन्। अब हेर्न बाँकी छ– सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकपमा उनको कप्तानीले कस्तो जादु छर्नेछ? सम्पूर्ण नेपाली क्रिकेटप्रेमीका लागि प्रतीक्षाको विषय बनेको छ।