काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ।
कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।
स्वर्गीय गौतम विसं २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बाराको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित र कांग्रेस संसदीय दलका पूर्वसचिव थिए।
नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरू र सङ्घर्षका क्रममा उनले पटक–पटक जेलजीवन व्यतित गरेका थिए।
स्व गौतमप्रति सम्मान प्रकट गर्दै कांग्रेसले कात्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कात्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ।