काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

घरमा बाको जंगी शासन थियो। यदाकदाबाहेक घरभन्दा बाहिर राति घुम्न पटक्कै छुट थिएन। राति हुने नाटक,नौटंकी र नाचगान हेर्न पाउनु त आकाशको फल नै भयो।

१ कार्तिक २०८२
अ+
अ-

‘जहाँ पिपरा उहाँ बयाल, जहाँ बाजी उहाँ रयाल’ अर्थात् जहाँ पीपल त्यतै पवन, जता देशी उतै रमाइलो। यो थारू लोकोक्ति एक समय हाम्रो यता निकै सान्दर्भिक थियो। शैक्षिक केन्द्र टीकापुर भए पनि किताब कापी किन्न बर्दियाको राजापुर जान पर्थ्यो। कैलालीका कटासे, सत्ती, भजनी र मुनुवा व्यापारिक केन्द्र थिए। रैथाने त छँदै थिए, पहाडतिरबाट किनमेल गर्न आउनेहरूको मुख्य गन्तव्य लगभग यिनै थिए। अनि, बजार चम्काउने ‘बाजीहरू’ थिए, र थिए ऐय्यास जमिनदारहरूको तृष्णा मेटाउने राजापुरसँग जोडिएको अनन्तपुर र सत्तीनजिकको बिस्ना कान्तिपुरका ‘सरकारी सालीहरू’। भारतीयहरूलाई थारूहरूले बाजी भन्थे। यौनकर्मी महिलालाई सरकारी साली।

साथीभाइको मुखबाट मेलाको नाम त सुनेको थिएँ, तर कहिल्यै देखेको थिएनँ। मेला त राजापुरमा लाग्थ्यो। सत्तीमा पनि लाग्थ्यो। तर, चर्चाचुलीमा हुन्थ्यो, डहरबिरियाको ‘रौनक मेला’।

चुरा-टिकुली बेच्नेदेखि किसानका अन्नपात खरिद गर्ने महाजन तिनै बाजी हुन्थे। किसानको गर्जो टार्ने साहु पनि तिनै थिए। मौसमअनुसार फसल दिने सर्तमा ऋण दिन्थे, सरसामान दिन्थे। बाली तयार भएपछि रहरै लाग्ने गरी गल्ला बेच्नेका गाडाका लस्कर लाग्थे, सत्ती राजापुरतिर सजना-मैना गाउँदै।

***

लखिमपुर, बरेली, पलिया, तिकुनियाजस्ता भारतीय बजारमा रामलीला सकिएपछि नेपालका सीमावर्ती क्षेत्रमा मेला लाउन स्थानीय जमिनदारका आडभरोसामा निम्त्याउनेहरू पनि बाजी नै थिए। उत्सव-महोत्सवको जमाना थिएन। तिकुनिया गएर ल्याइएको रिल चलाएर देखाइने हिन्दी भिडियो मुख्य मनोरञ्जनको साधन थियो। साथीहरूले मेला-फिल्मका किस्सा हाल्थे। आफू ‘ज्ञानीबाबु’ बनेर सुनिन्थ्यो। तिनले छाँटेका गफले मन त फुटबल उफ्रेजसरी उफ्रन्थ्यो। मेला हेर्न आजै जाऊँ, भोलि नै जाऊँ लाग्थ्यो। तर गर्ने के?

घरमा बाको जंगी शासन थियो। यदाकदाबाहेक घरभन्दा बाहिर राति घुम्न पटक्कै छुट थिएन। राति हुने नाटक,नौटंकी र नाचगान हेर्न पाउनु त आकाशको फल नै भयो। गाउँका साथीहरू खटौली बोकेर राति राति नाच हेर्न जान्थे। त्यसताका सीतापुरको ‘तीनभटारी’ नाच खुब नामी थियो। टाढा टाढाका मानिस नाच हेर्न आउँथे। टुटेफुटेको हिन्दीमा संवाद गरिने तीनभटारी होस् कि चारभटारी? हेर्न पाइने होइन क्यारे! हामी तीनभाइ भने हजुरआमासँग परालको आलिसान ओछ्यानमा गुँडुल्किएका हुन्थ्यौँ।

साथीभाइको मुखबाट मेलाको नाम त सुनेको थिएँ, तर कहिल्यै देखेको थिएनँ। मेला त राजापुरमा लाग्थ्यो। सत्तीमा पनि लाग्थ्यो। तर, चर्चाचुलीमा हुन्थ्यो, डहरबिरियाको ‘रौनक मेला’। अर्थात् रावणवध मेला! पदना जिम्दारले पथरैया नदीको किनारमा मेला आयोजना गर्दा रहेछन्। मुन्नी कम्पनी/गप्पु कम्पनीका कलाकार आउँथे ‘नौटंकी’ देखाउन। बयलगाडामा पराल भरेर हाहाहुहु गर्दै ‘ठर्‍याँ-बठिन्याहरू’ (तरुना-तन्नेरीहरू) मेला हेर्न जान्थे। कोही पैदल जान्थे। धानवरी स्याहारेर फुर्सदिला भएका किसानहरू पन्ध्रदिने मेला हेर्न चुक्दैनथे। अरूहरू रामलीला हेर्न जान्थे होलान्, तर थारूहरू ‘रौनक’ मेला हेर्न जान्थे।

***

ममा मेलाको भूत सवार थियो। २०४०/०४१ सालतिर ६/७ मा पढ्दा एकदिन हजुरआमालाई कन्याईकन्याई फकाएँ। मेला हेर्न पैसा मागेँ। पैसा थिएन होला। उहाँले भन्नुभयो, ‘चुप्पसे धान लैजा, ट्वार बाबा पटापाई ट मारडारी!’ मैले बोरामा धान भरेँ। एकदमै मन मिल्ने ‘उन्डुकाका’ को सहयोगमा धानको बोरा मुनुवामन्डी पुग्यो। बजियाको फडमा पच्चीस रुपैयाँमा बेचियो। अब के थियो र! पैतालाले भुइँ छोएको पत्तै पाएन। गोजा ‘गरम’ थियो। सरासर पुगियो मेलास्थल डहरबिरिया।

अदा गर्नेहरूको अदागिरी चल्दै थियो, लुटाउने लुटाउँदै थिए। जाडो मानेकाहरू परालको आगोमा हात सेक्दै थिए। पच्चीसपैसे पान मुखमा हुलेर घरतिर लाग्यौँ। मुखमा पान, गलामा रेस्समी रुमाल! सान नै बेग्लै।

मट्टीतेलको उज्यालोमा रमेको ज्यानले पहिलोपल्ट ‘मैनटोल’ देख्यो। ट्र्याक्टरको पुच्छरमा जोडिएको इन्जिनको झिलिमिलीमा बिछट्टै नयाँ दुनियाँमा प्रवेश पायो। परालले बनेको भीमकाय रौना माने रावण देख्यो। देख्यो- दाह्रीजुँगा पालेका र फालेर नारी बनेका नर्तक-नर्तकीहरू! मञ्च बेस्सरी तताएको रहेछ लाउडस्पिकरले :

झुम्का गिरा रे झुम्का गिरा रे
बरेली के बजार मे झुम्का गिरा रे…

उता झुम्का गिर्दै थियो, यता ठुम्का पनि चल्दै थियो। फर्माइसेहरू पैसा लुटाउँदै थिए। अनि उनीहरूको सम्मानमा फेरि अर्को ठुम्का चल्यो-

बडे बाबू ने दिया रुपैयाँ
सुक्रिया अदा करती हुँ
मारा ठुम्का मारा ठुम्का के
चाल बदल गई मितवा…

***

खचाखच भरिएको मेलामा ककसले के के कारोबार गरे? लेखोट राख्ने फुर्सद थिएन हामीलाई। ‘बरेलीको बजारमा खसेको झुम्का’ खोज्नेहरू उतै बसिरहे। हामी काका-भतिज बजारतिर लाग्यौँ, चकाचौँध बजारतिर। बगियातिर रहरबारीमा सरकारी सालीहरूको म्यादी मेला पनि लाग्दो रहेछ।

बजारको उज्यालोमा मेरा आँखा त तिरिमिरी झ्याइँ थिए। मैले दुइटा ‘रेस्समी रुमाल’ किनेँ उन्डुकाकाको सहमतिबेगर। काका रिसाए। फेरि फर्कियौँ रौना हेर्न। अदा गर्नेहरूको अदागिरी चल्दै थियो, लुटाउने लुटाउँदै थिए। जाडो मानेकाहरू परालको आगोमा हात सेक्दै थिए। पच्चीसपैसे पान मुखमा हुलेर घरतिर लाग्यौँ। मुखमा पान, गलामा रेस्समी रुमाल! सान नै बेग्लै।

घर पुग्दा अझै उज्यालो भइसकेको थिएन। बाले थाहा पाउनुहोला भन्ने डरले घरभित्र नसुतेर परालको कुन्युमा ओडार बनाएर काका-भतिजा सुतियो। रातभर मेला हेरेको अबेरसम्म सुतिएछ। उठ्दा टाउकाभरि परालका त्यान्द्रा झुन्डिएका। उता हजुरआमाको गुन तिर्न हतारो। हजुरआमालाई देखाएको रेस्समी रुमाल त पुरानो सारीको ‘कटपिस’ रहेछ!

त्यो राजापुरे झब्बुको पान,डरबिरियाको ‘रेस्समी रुमाल’ अनि ‘रौनक मेला’ को रौनकको ऐँठन अझ छँदै छ!