काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सिनेमा

निर्देशकले जस्तै फिल्म हेर्ने क्षमता विकासले फिल्मको विषयवस्तु र सन्देश राम्ररी बुझ्न सघाउँछ।

१ कार्तिक २०८२
आईएनआई सिनेमाज्‌मा चलचित्र हेर्दै दर्शक। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

तपाईं मजस्तै हुनुहुन्छ भने राम्रो फिल्मको आनन्द लिन पक्कै रुचाउनुहुन्छ। तर, निर्देशकले यस्ता उत्कृष्ट फिल्म कसरी बनाउँछन् भनेर के कहिल्यै सोच्नुभएको छ? यस लेखमा हामी फिल्म निर्देशनको संसारमा डुब्नेछौँ र निर्देशकले झैँ फिल्म हेर्न सिक्नेछौँ। यसका लागि कुनै महँगो डिग्री आवश्यक पर्दैन।

आउनुहोस् चर्चा गरौँ।

कसरी पत्ता लगाउने निर्देशकको दृष्टि?

दृष्टि भनेर मैले कुनै अलौकिक शक्ति वा पूर्वानुमानको कुरा गरेको होइन। म त्यो सोच र विचारको कुरा गर्दै छु, जुन निर्देशकले आफ्नो फिल्ममार्फत देखाउन चाहन्छन्। हामी साधारण मान्छेले यो दृष्टि कसरी बुझ्ने?

पहिलो कदम, अलिकता अनुसन्धान गर्नु हो। निर्देशकका अघिल्ला फिल्महरू हेरौँ र सामान्य विषयवस्तु वा ढाँचा पहिचान गरौँ। ती अँध्यारो र गम्भीर हुनसक्छन्, वा उज्यालो र रंगीन। त्यो जस्तोसुकै होस्, यसले निर्देशकको शैली र उनी फिल्म मार्फत के भन्न चाहन्छन् भन्ने संकेत दिन्छ।

अर्को, निर्देशक कस्ता फिल्मबाट प्रभावित छन् भनेर जान्ने प्रयास गरौँ। सायद उनी क्लासिक फ्रेन्च सिनेमा मन पराउँछन् वा स्प्यागेटी वेस्टर्न फिल्महरू हेरेर हुर्किएका हुन्। यी प्रभाव जान्नाले निर्देशक कुन पृष्ठभूमिबाट आएका हुन् र उनी कस्तो विचार वा शैली स्थापित गर्न चाहन्छन् भन्ने बुझ्न तपाईंलाई सहयोग गर्छ।

अब फिल्मका विषयवस्तु, पात्र र कथालाई कसरी मूल्यांकन गर्ने भन्नेबारे कुरा गरौँ।

निर्देशकले कुनै वस्तु वा पात्रलाई महत्त्व दिन वा दृश्यलाई सन्तुलित वा असन्तुलित बनाउन कम्पोजिसन प्रयोग गर्छन्। कम्पोजिसनले कथा बुझ्न कस्तो प्रभाव पार्छ सोच्नुहोस्।

फिल्मलाई हेर्ने यात्रा यो बिन्दुदेखि निकै रोचक हुन्छ। कथा ध्यान दिएर हेर्नुस् र निर्देशकले मुख्य के विषय उठाइरहेका छन्, पत्ता लगाउने कोसिस गर्नुस्। त्यो सत्तासंघर्ष हुन सक्छ वा मानव आत्माको विजय। जुनसुकै विषय होस्, यी ढाँचा बुझ्दा निर्देशकको सन्देश राम्रोसँग बुझ्न सहयोग पुग्छ।

अर्को पाटो, पात्रहरूको कुरा गरौँ। उनीहरू को हुन्? उनीहरूको प्रेरणा के हो? उनीहरूको लक्ष्य र चाहना के हुन्? पात्रहरू बुझ्दा कथा र निर्देशकले देखाउन खोजिरहेको विषयवस्तु बुझ्न मद्दत गर्छ।

अन्त्यमा, कथाको यात्राको कुरा गरौँ। मुख्य पात्रहरू फिल्ममा कसरी परिवर्तन हुन्छन्? उनीहरू सुरुमा लजालु र नाम मात्रका मानिस हुन सक्छन् र अन्त्यमा नायक बन्छन्, वा सुरुमा आत्मविश्वासी देखिएका व्यक्ति अन्त्यमा टुक्रिन सक्छन्।

कथाको यो यात्रा बुझ्नाले फिल्म र निर्देशकको विषय बुझ्न सजिलो हुन्छ।

सिनेमाटोग्राफीको विश्लेषण

माथि निर्देशकको उद्देश्य बुझ्नेबारे चर्चा गर्‍यौँ, सिनेमाटोग्राफी कसरी ध्यान दिएर हेर्ने भन्ने कुरा गरौँ। हामीमध्ये कोही पनि अमेरिकाका सिद्धहस्त फिल्ममेकर स्टेभेन स्पिलबर्ग त होइनौँ, तर क्यामेरा कोण, प्रकाश र फ्रेम निर्माणजस्ता पक्षहरूमा ध्यान दिँदा अनुभव परिपक्व हुन्छ।

क्यामेरा कोणबाट चर्चा सुरु गरौँ। निर्देशकले विभिन्न भावना देखाउन विभिन्न कोण प्रयोग गर्छन्। ‘लो एंगल’ ले पात्रलाई शक्तिशाली र ‘हाई एंगल’ ले कमजोर वा असहाय देखाउन सक्छन्। क्यामेरा कोणले कस्तो भावना प्रवाह गर्न खोजिएको छ भन्ने बुझ्न ध्यान दिनुहोस्।

छायांकन भइरहेको एक दृश्य। तस्बिर : जेकब ओवेन्स/अनस्प्लास

प्रकाशको कुरा गरौँ। प्रकाशले फिल्मको मुड र टोनमा ठूलो प्रभाव पार्छ। उज्यालो र खुलेको प्रकाशले दृश्यलाई खुसी र उत्साहित बनाउँछ भने अँध्यारो र गम्भीर प्रकाशले तनाव र रहस्यपूर्ण महसुस गराउँछ। प्रकाशले कसरी भावनामा असर गरिरहेको छ भनेर विचार गर्नुहोस्।

अन्त्यमा, ‘कम्पोजिसन’ अर्थात् क्यामेरा फ्रेमभित्रका वस्तुहरूको स्थानलाई ध्यान दिनुहोस्। निर्देशकले कुनै वस्तु वा पात्रलाई महत्त्व दिन वा दृश्यलाई सन्तुलित वा असन्तुलित बनाउन कम्पोजिसन प्रयोग गर्छन्। कम्पोजिसनले कथा बुझ्न कस्तो प्रभाव पार्छ, सोच्नुहोस्।

यी सबै (क्यामेरा एंगल, प्रकाश, कम्पोजिसन) मिलेर फिल्मको दृश्य शैली र भावनालाई बलियो बनाउँछन्। त्यसैले अर्कोपटक फिल्म हेर्दा यी कुरामा ध्यान दिनुहोस्।

साउन्ड डिजाइनको विश्लेषण

आकर्षक फिल्म-अनुभवका लागि मानिस र ध्वनि पनि दृश्यजस्तै जरुरी हुन्छन्। साउन्ड डिजाइनलाई कसरी मूल्यांकन गर्नुपर्छ भन्नेबारे चर्चा गरौँ।

पहिला संवादको कुरा गरौँ। संवादले पात्र र कथालाई बुझ्न मद्दत गर्छ। तर, पात्रले के भनिरहेको छ भन्ने कुरा मात्र होइन, कसरी भनिएको छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ। उनीहरू सानो वा मधुरो आवाजमा बोलिरहेका छन्, या जोडले चिच्याइरहेका छन्? छिटोछिटो बोलिरहेका छन् वा ढिलो गतिमा? यी सबैले दृश्यको टोन निर्धारण गर्छन्।

अर्को पाटो हो, संगीत। संगीतले भावना बनाउन या जगाउन ठूलो भूमिका खेल्छ। ठूलो अर्केस्ट्रा होस् या रमाइलो पप गीत, संगीतले मानिसमा त्यही किसिमको भाव भरिदिन्छ। संगीतले तपाईंको भावनामा कसरी असर गरिरहेको छ भन्ने बुझ्न ध्यान दिनुहोस्।

केही पपकर्न लिनुहोस्, बत्ती मधुरो पार्नुहोस् र अर्को पटक निर्देशकले झैँ फिल्म हेर्न तयार हुनुहोस्। यसैगरी हेर्दै जाँदा तपाईं पनि कुनै दिन आफ्नै फिल्म बनाउन प्रेरित हुन सक्नुहुनेछ, के थाहा!

अन्त्यमा, साउन्ड इफेक्ट्सको कुरा गरौँ। यो पाटो संगीत र संवादजस्तो तीखो वा टड्कारो त हुँदैन, तर यसको महत्त्व कम हुँदैन। साउन्ड इफेक्ट्सले भावमा डुबाउने र यथार्थ अनुभव गराउने काम गर्छ। जस्तै- कारको इन्जिनको आवाज वा हावामा पातको सरसराहट। यस्तो ध्वनिले फिल्म हेर्दाको अनुभवमा कस्तो भूमिका खेलेको छ, ध्यान दिनुहोस्।

संवाद, संगीत, साउन्ड इफेक्ट्सलगायत सबै तत्त्व मिलेर मोहक र आकर्षक साउन्ड डिजाइन सिर्जना गर्छन्। अब फिल्म हेर्दा ध्वनिमा ध्यान दिनुहोस्, र साउन्ड डिजाइनका यी फरक फरक तत्त्वले फिल्म हेर्दाको समग्रमा अनुभवमा कसरी योगदान गर्छन् भन्ने हेक्का राख्नुहोस्।

फिल्म सम्पादनको विश्लेषण कसरी गर्ने?

सम्पादनले कथाको प्रभाव र गतिलाई धेरै प्रभावित गर्छ। पहिला गति (पेसिङ)को कुरा गरौँ। फिल्म कति छिटो अगाडि बढ्छ? छिटो र क्रियात्मक हो कि बिस्तारै र गम्भीर? गतिले कसरी तपाईंको भावनामा असर गरिरहेको छ? विचार गर्नुहोस्।

अर्को, ट्रान्जिसनको कुरा गरौँ। एउटा दृश्य अर्कोमा कसरी जोडिन्छ? दृश्यहरू एकदम झट्कादार रूपमा परिवर्तन हुन्छन् कि कोमल र नरम तरिकाले? ट्रान्जिसनले कथाको प्रवाहमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न ध्यान दिनुहोस्।

भिडियो सम्पादन गरिरहेको एक दृश्य। तस्बिर : वर्क इन इन्टरटेनमेन्ट

अन्त्यमा, निरन्तरता (कन्टिन्युटी)को कुरा गरौँ। दृश्य र कथाका भागहरू कति सुसंगत छन्? के कुनै त्रुटि छ कि? जस्तै- एउटा वस्तु अचानक सरेको छ वा पात्रको कपाल बदलिएको छ? निरन्तरताले कथामा पूरै ध्यान दिएर त्यसमा डुब्ने तपाईंको क्षमतालाई कसरी प्रभाव पार्छ, विचार गर्नुहोस्।

यी सबै (गति, ट्रान्जिसन, निरन्तरता) मिलेर कथा बनाउन सहयोग गर्छन्। अर्कोपटक फिल्म हेर्दा सम्पादनतर्फ ध्यान दिनुहोस्। सम्पादनले कति फरक पार्छ भनेर तपाईंलाई अचम्म लाग्न सक्छ।

प्रतीकवाद कसरी बुझ्ने?

निर्देशकले जस्तै फिल्म हेर्ने क्रममा प्रतीकात्मकताको व्याख्या महत्त्वपूर्ण पाटो हो। अमूर्त विचार वा विषयलाई दर्साउन वस्तु, रङ र अन्य दृश्य तत्त्वहरूको उपयोग गर्नु प्रतीकवाद हो। प्रतीकको पहिचान र विश्लेषणले फिल्मको विषयवस्तु र सन्देश राम्ररी बुझ्न सहयोग गर्छ।

पहिला चर्चा गरौँ, प्रतीक र मूलभाव कसरी चिन्ने? प्रतीक विभिन्न रूपमा आउँछन्– वस्तु, रङ, जनावर या बारम्बार आउने ढाँचाहरू। फिल्ममा जुन कुरा बारम्बार आउँछ वा विशेष महत्त्व दिइन्छ, त्यो प्रतीक हुनसक्छ। फिल्मभरि दोहोरिएका वा विशेष जोड दिइएकाजस्ता देखिने तत्त्वहरू खोज्नुहोस्। सम्भावित प्रतीक र मूलभाव यिनै हुन सक्छन्।

फिल्म प्यारासाइटको एक दृश्य

प्रतीकहरूको पहिचान गरेपछि तिनलाई बुझ्नुपर्छ। यो कार्य चुनौतीपूर्ण हुनसक्छ, किनभने प्रतीकले विभिन्न सन्दर्भमा फरक अर्थ दिन सक्छ। प्रतीक कथाको विषयवस्तु र सन्देशसँग कसरी जोडिएको छ भन्ने बुझ्ने प्रयास गर्नुहोस्। उदाहरणका लागि, बारम्बार आउने चराको दृश्यले स्वतन्त्रता वा पलायनको अर्थ बुझाउन सक्छ भने रातो रङले प्रेम वा खतरा जनाउन सक्छ।

प्रतीक बुझ्दा फिल्मको गहिरो अर्थ थाहा पाउन सकिन्छ। यसले जटिल भाव र विचारलाई सजिलो तरिकाले देखाउँछ र सन्देश बलियो बनाउँछ।

अर्कोपटक फिल्म हेर्दा प्रतीक र मूलभावमा ध्यान दिनुहोस्। यी कुराका अर्थ के हुन सक्छन् भन्ने सोच्नुहोस्। आश्चर्य लाग्ने गरी धेरै नयाँ अर्थ पाइनेछ।

यहाँसम्म चर्चा गरेपछि निर्देशकले झैँ फिल्म हेर्न अलि मिहिनेत लाग्छ भनेर तपाईंले थाहा पाउनुभयो होला। तर, माथिका कुरा बुझ्नुभयो भने फिल्मको मूल्यांकन गर्ने क्षमता धेरै बढ्छ। निर्देशकको दृष्टि बुझ्ने, सिनेमाटोग्राफी र साउन्ड डिजाइनमा ध्यान दिने, सम्पादन विश्लेषण गर्ने र प्रतीकवाद बुझ्ने हो भने फिल्मको विषय र सन्देश गहिरो रूपमा बुझ्न सकिन्छ।

तर याद राख्नुहोस्, फिल्म हेर्नु भनेको आनन्द लिनु हो। फिल्म हेरिरहँदा हरेक ससाना कुरा विश्लेषण गरेर थकित नहुनुहोस्। बस्नुहोस्, आरामले हेर्नुहोस् र मजा लिनुहोस्। हुनसक्छ, तपाईंले कुनै नयाँ स्वादिलो फिल्म पाउनुहुनेछ वा कुनै पुरानै क्लासिकलाई नयाँ नजरले हेरेर थप प्रशंसा गर्नुहुनेछ।

तसर्थ, केही पपकर्न लिनुहोस्, बत्ती मधुरो पार्नुहोस् र अर्को पटक निर्देशकले झैँ फिल्म हेर्न तयार हुनुहोस्। यसैगरी हेर्दै जाँदा तपाईं पनि कुनै दिन आफ्नै फिल्म बनाउन प्रेरित हुन सक्नुहुनेछ, के थाहा!

मिडियम डटकममा प्रकाशित मिलरको लेखको प्रभाकर गौतमले गरेको भावानुवाद।