काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

परिकार

हाम्रा मिठाई पश्चिमी दुनियाँको थ्री कोर्स मिलको अन्तिममा आउने डिजर्टजस्ता होइनन्। ती मिठाई परम्परासँग जोडिएका हुन्छन्, कुनै चाड वा पर्वका अभिन्न अङ्ग हुन्छन्, कुनै चाहिँ पहिचानसँग जोडिन्छन्।

१ कार्तिक २०८२
पाटन मंगलबजारको एक मिठाई पसलमा बेच्न राखिएको जलेबी। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

“लङलती हो। बडा मीठो हुन्छ, खुवाले बनेको,” सिरहाका समाजसेवी अशोक यादव जोड दिँदै हुनुहुन्थ्यो। सिरहा बजारमा भरपेट भोजन गरेको धेरै बेर भएको थिएन। आधा घण्टा-पैँतालीस मिनेटको एउटा बैठक सकेर बिदा हुन लाग्दा अशोकजीको मन मानेन।

“गर्मी छ, बाटो लामो छ। दही खाएर जानु न,” मधेसको अतिथि सत्कारको मन नमानेकै बुझियो। उहाँले गाडीलाई सिरहाको गुलरियासम्म पुर्‍याउनुभयो। कुनै बेला एक्लै हिँड्नसमेत डरलाग्दो यो ठाउँ गुलजार बन्दै छ, र त्यहीँ फक्रिएको छ- दही लस्सी र मिठाईको एउटा दोकान। उत्तरबाट सिरहातिर आउँदै गर्दा वा चोहरबाबाट सिरहातिर लाग्दा थकाइ मार्ने चौतारीझैँ, सबै एकपटक रोकिन्छन्, दही-लस्सी खान्छन् र हिँड्छन्। दही अलि अमिलो लागेपछि अशोकजीले लङलती मगाउनुभयो, खाइयो पहिलोपटक। पत्रिकाको टुक्रामा आएको एउटा सामान्यजस्तो देखिने मिठाईको स्वाद भने अद्भुत थियो।

जलेश्वरको हाटमा बेच्न राखिएको झिल्ली, आलुचप, मुरहीलगायत

लङलती वा लङलत्ता मधेसकै बजारतिरका मिठाई दोकानमा पनि देखिँदैन। काठमाडौँको त कुरै छोड्म। बाहिरियाहरू मधेसमा आएपछि नास्तामा खाने भनेको पुरी, सब्जी र जलेबी वा जेरी हो। ती दोकानमा मिठाई, जेरी वा जलेबी, लड्डु-पेडाजस्ता सामान्य मिठाई नै पाइने हो। सीमापारिबाट अलि पछि आएको मिठाई मानिए पनि लङलतीले जलेबीजस्तो रंग फेर्न सक्दैन नि। जलेबीको रंग पनि रमाइलो नै हुन्छ, सहरका दोकानहरूमा घिउमा तारेर र केशर मात्र मिसिएको चास्नीमा डुबाएर बनाइएको शुद्ध हो भनेर देखाउनका लागि जलेबीलाई हल्का सुनौलो बनाइएको हुन्छ। भित्री देहाततिर जान थालेपछि जलेबीले रंग फेर्न थाल्छ, हल्का रातो हुन्छ। अनि गाउँका दोकानमा रातो बन्दै हाटमा पुगेपछि चहकिलो रातो बन्छ जलेबी।

हाम्रा मिठाई पश्चिमी दुनियाँको थ्री कोर्स मिलको अन्तिममा आउने डिजर्टजस्ता होइनन्। ती मिठाई परम्परासँग जोडिएका हुन्छन्, कुनै चाड वा पर्वका अभिन्न अङ्ग हुन्छन्, कुनै चाहिँ पहिचानसँग जोडिन्छन्। रौतहटको राजपुरमा जानुभयो भने हरेक घर वा दोकानले तपाईंलाई बालुसाही खुवाएर स्वागत गर्छ। बालुसाहीलाई गहुँको पीठोबाट बनाइन्छ र घिउमा तारेर चास्नीमा डुबाइन्छ। राजपुरमा चाहिँ सानो रिकापीमा दूध र त्यसपछि बालुसाही हालिन्छ अनि माथि दूधको तर वा मलाई हालेर दिइन्छ। त्यसैले त बालुसाही र राजपुरको पहिचान गजबले जोडिएको छ।

बलुसाही मिठाइ

हाम्रो परम्परा धान्ने मिठाई चाहिँ खाजा हो। नामै मिठाई खाजा। पीठो, चिनीको चास्नी र घिउ अनि सुगन्धका लागि थोरै सुकुमेलको धुलो मिश्रणबाट बनाइने पत्रैपत्र भएको मिठाई खाजा। छठ वा चौरचन पर्वका पवित्र कार्यमा जलेबी, लड्डु, पेडाजस्ता मिठाई छिर्न पाएका छैन, तिनमा त मिठाई खाजाकै बोलवाला छ। मिठाई खाजाको हरेक पत्रमा एउटै स्वाद हुन्छ। तपाईं बाहिरी पत्र खानुस् वा दोस्रो वा सातौँ, सबैको स्वाद समान हुनैपर्छ। धेरै दिनसम्म भण्डार गर्दा पनि नबिग्रिने यसको अर्को विशेषता हो। मिहिनेत बढी पर्ने भएकाले सायद यसको व्यापारिक महत्त्व छैन वा सायद यो खाजा मिठाई बनाउने ‘मिस्त्री’ को अभाव छ। त्यसैले सायद यो मिठाई पसलमा देखिँदैन। तर, छेका होस् वा बिहे खाजा मिठाई बिनासम्भव छैन।

अर्को परम्परा धान्ने चाहिँ गाजा वा गजा मिठाई पनि हो। दीपावलीका लागि एउटा अभिन्न अंगझैँ हो गाजा। बनाउन पनि सहज नै छ- पीठो, घिउ र बेकिङ पाउडर मिसाउने। पानी हालेर अलि साह्रो पीठो मुछ्ने। ३० मिनेटजति पछि एउटा ठूलो गोलो बेल्नुहोस्। त्यसलाई काटेर तीनचार तह बनाउने र बर्फी आकारमा तातो तेलमा सुनौलो नभएसम्म तार्ने अनि चास्नीमा २० देखि २५ मिनेट डुबाएर निकाल्ने। गाजा तयार। हुन त हुनेखानेले छेनाको गाजा पनि बनाउँछन्।

मधेसको एक मिठाइ पसलमा रहेको गाजालगायत।

यी मिठाईमध्ये अलि फरक आकारको गोजिया हो। अर्धचन्द्राकार। पहाडको साफालेजस्तै। भित्रचाहिँ हुनेखानेले खुवा हालेर बनाउँछन् र अरूले सुजी हालेर। घिउमा सुजी भुट्ने, सेलाउने, चिनी मिसाउने, पीठो मुछ्ने, सानो पुरी आकारमा बेल्ने, सुजी हाल्ने, अर्धचन्द्राकार बनाएर पोको पार्ने र तेल वा घिउमा तार्ने। बनाउन जटिल नभएर अनि सामान स्थानीय रूपमा सजिलै पाइने भएर नै होला, गोजिया र हाम्रो सम्बन्ध लामो समयदेखि जोडिएको छ।

ठेकुवा खजुरीजस्ता अनेकन् मिठाई छन् जसलाई हामी परम्परा र चाडपर्वसँग जोडेर जोगाउँदै आएका छौँ। यी मिठाई हाम्रो संस्कृतिको अभिन्न अंग मात्र होइन, हाम्रो पहिचान पनि हुन्। तर, हाम्रो स्वादसँग जोडिएका केही गुलिया परिकारलाई चाहिँ हामीले अलि हेपेर राखेका छौँ। तिलको लड्डुलाई सायद नै कसैले मिठाई मान्छ, मुराई वा चिउराको लड्डु पनि नाम मात्रका लड्डु हुन्। ती मिठाईको श्रेणी कसरी परून्? यी आम मान्छेका मुख मिठाउने परिकार हुन्। आमाले सधैँ बनाउने भएर महत्त्व नपाएका हुन् कि? वा, घरकी मुर्गी दाल बराबर भएको? यसपालिको पर्वमा ती हेपिएका लड्डुको पनि स्वाद लिने हो कि?