चितवन। प्रहरी सहायक निरीक्षक २-१७९औं समूहको आधारभूत तालिम सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच यही शिक्षालयमा सञ्चालित तालिम सकिएको हो।
कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे। त्यस अवसरमा प्रहरी महानिरीक्षक खापुङले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीद्वारा तयार पारिएको ‘स्मृतिकुञ्ज’ पुस्तक विमोचन गरेका थिए।
खापुङले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएकामा बधाई तथा शुभकामना दिएका थिए। प्रशिक्षणको अवधिमा मिहिनेत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताए। आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए।
प्रहरी महानिरीक्षक खापुङले जस्तोसुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गरे। उनले कठिन घडीमा पनि आमनागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिको विश्लेषण गर्दै विचलित नभई कानुनबमोजिम गर्नुपर्ने कारबाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
सुरक्षा एक अनुभूति भएको र आमनागरिकले प्रहरीप्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली-वचनसहित पूर्ण व्यावसायिक भई जनअपेक्षाअनुरूप कर्तव्य निर्वाह गर्नुपर्ने उनले निर्देशन दिए।

तालिम संयोजक (प्रहरी नायब उपरीक्षक) अर्जुन केसीले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि सञ्चालित तालिममा ५३ महिलासहित ३७७ प्रशिक्षार्थी दीक्षित भएको जानकारी दिए। कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिह्न सुशोभन गरेका थिए।
समारोहमा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, प्रहरी नायब महानिरीक्षकहरूलगायतको उपस्थिति थियो।
