२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। वर्तमान केन्द्रीय समितिको म्याद थप्न नहुने भन्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले खवरदारी गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरू गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै आपत्ति जनाएका हुन् ।

२३ र २४ भदौमा भएको जेनजी विद्रोह पश्चात् कांग्रेसभित्र महाधिवेशनको बहस जारी छ। नियिमित महाधिवेशन र विशेष महाधिवेशनमा पार्टीभित्र दुई धार विभाजित भएको छ। विशेष महाधिवेशन पक्षधरले करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउँदै महाधिवेशन गर्नुपर्ने दबाव बढाउँदै आएको छ।

सोही परिवेशमा रहेर पत्रकार सम्मेलन मार्फत विशेष महाधिवेशन पक्षधरले ६ बुँदे ध्यानाकर्षण पनि नेतृत्वलाई गराएको छ। जसको पहिलो बुँदामा पार्टी बिधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेको भन्दै कुनै पनि कारण देखाएर अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई नभएको उल्लेख गरिएको छ ।

दोस्रो बुँदामा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानक स्वरुप नेपाली राजनीतिमा धेरै घटनारदुर्घटनाहरु भएको पृष्ठभूमि रहेको भन्दै वर्तमान कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको उल्लेख गरिएको छ ।

‘आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरि आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरि विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन। तसर्थ यस माग प्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छौँ‚’ तेस्रो बुँदामा लेखिएको छ ।

यसबाहेक विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको जारी केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केन्द्रीय सदस्यहरूले धारणा राखेको भन्दै आपत्ती जनाएको छ । ‘केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौं । अतस् विशेष महाधिवेशनको मागलाई बैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रुपमा ग्रहण गरि कार्यान्वयन तर्फ अघि बढ्न आग्रह गर्दछौँ‚’ ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको छ।