उज्यालो महानगर

करिब १ अर्ब रुपैयाँमा उज्यालो काठमाडौँ कार्यक्रम कार्यान्वयन

२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा ‘हाइ मास्ट लाइट’ जडान कार्य सम्पन्न हुने चरणमा पुर्‍याएको छ। हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए।

९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा काम भएको महानगरले जनाएको छ। २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो।

यो काम सक्नुपर्ने अवधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहारको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकाले तिहारअघि नै काम सकिएको, महाशाखा प्रमुख नेपालीले जानकारी दिए। ‘६२ चोकमध्ये २१ वटामा १२.५ मिटरका पोल जडान गरिँदै छ। यस पोलमा ६ वटा बत्ती जडान हुँदै छ,’ महाशाखा प्रमुख नेपालीले भने, ‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन्। यी पोलमा ८ वटा बत्ती हुनेछन्।’

यी बत्ती एक हजार वाट क्षमताका हुन्। सफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ।

हाइमास्ट जडान गरिएका चोक
मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एक-एकवटा, अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारअगाडि र बहिर्गमनद्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरीघाट, चाबहिल चोक, चुच्चेपाटी चोकमा हाइमास्ट बत्ती जडान गरिएको हो।

यस्तै सुकेधारा चोक, शिक्षण अस्पताल महाराजगन्ज चोक, कान्ति अस्पताल, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर चोक, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डल क्षेत्रको नयाँ बानेश्वरतर्फ, सेनाको कम्पाउन्डतर्फ र सिंहदरबारतर्फ गरी ३ ठाउँमा, बालाजु बाइपास, बालाजु चोक, नयाँ बस पार्कमा दुईवटा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअगाडि, सोह्रखुट्टे चोक, लैनचौर ग्राउन्ड, लाजिम्पाट, दुग्ध विकास संस्थानअगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक युथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, कालीमाटी ट्राफिक आइल्यान्ड, कालीमाटी तरकारी बजार, थापाथली पुलनजिक बत्ती राखिएको छ।

त्रिपुरेश्वर चोक, थापाथली, भद्रकाली, सुन्धारा, न्युरोड गेट, वीर अस्पतालअगाडिको चोक, असन चोक, बसपार्कको मुख्य प्रवेशद्वार, कलंकी चोक, डल्लु पुलवारि एउटा र पारि एउटा, परोपकार, छाउनी वीरेन्द्र सैनिक अस्पतालअगाडि, स्वयम्भू भगवान पाउ, नारायण चौर, लगन, दरबारमार्गबाट रत्नपार्कतर्फको खण्ड, जमल, कान्तिपथ, वडा नम्बर ६ को शान्ति पार्कमा हाइ मास्ट जडान गरिएको छ।

सडक बत्तीका लागि काम थालिँदै
‘काठमाडौँमा रातको समयमा पनि निर्धक्क हिँड्न सक्ने वातावरणका लागि चाहिने प्रकाश व्यवस्था गर्न महानगरपालिकाले करिब ९० करोड रुपैयाँ लागतमा सडक बत्तीको व्यवस्था गर्दै छ,’ महाशाखा प्रमुख नेपालीले भने, ‘रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन महानगरपालिकाले आधुनिक बत्ती जडान गर्न लागेको हो।’

स्रोत साधन र प्रविधिको उच्चतम् उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रिकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बत्ती राखिँदै छन्।

यो काम अहिले सार्वजनिक खरिद प्रक्रियामा छ। यसका लागि २०८२ असोज १२ गते सार्वजनिक सूचना प्रकाशित भएको छ। काठमाडौँको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर काम गर्ने योजनाअनुरुप ४ वटै प्याकेजमा प्रक्रिया अगाडि बढेको नेपालीले बताए।

पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन्। बहुवर्षिय योजनाअन्तर्गत यी वडामा सडक बत्ती राख्न २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत ६० वाट क्षमताका १ हजार वटा, ९० वाट क्षमताका २ हजार १५० वटा र १२० वाट क्षमताका ६ सय सडक बत्ती राखिनेछन्।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्। यस क्षेत्रमा सडक बत्ती राख्न वहुवर्षिय योजना अन्तर्गत २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत ६० वाट क्षमताका ९ सय वटा, ९० वाट क्षमताका २ हजार ५ सय वटा र १२० वाट क्षमताका ६३० वटा बत्ती राखिनेछन्।

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन्। बहुवर्षे योजनाअन्तर्गत यस क्षेत्रमा सडक बत्ती राख्न १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत ६० वाट क्षमताका ८७० वटा, ९० वाट क्षमताका ८६० वटा र १२० वाट क्षमताका एक सयवटा बत्ती राखिनेछन्।

पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन्। यस क्षेत्रमा सडक बत्ती राख्न बहुवर्षे योजनाअन्तर्गत २४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत ६० वाट क्षमताका ८ सयवटा, ९० वाट क्षमताका २ हजार ४३० वटा र १२० वाट क्षमताका ४८० वटा बत्ती राखिनेछन्।

यसअघि गरिएका काम
महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता गरेर सहरका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिएका छन्।

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागतको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोरेर काम भएको हो। दुई साझेदार कार्यालयको सहभागितामा गरिएको कामका लागि सडक विभागसँग सहमति लिइएको थियो।

यो कामअन्तर्गत महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलदेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिएको हो।

यसै गरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डल, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गरिएको महानगरले जनाएको छ।

हेर्नुहोस् थप तस्बिर :