२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफूले प्रधानमन्त्री बनाउन सिफारिस नगरेको बताएका छन् ।

सम्पादकहरुसँग अन्तर्क्रियामा बोल्दै अहिलेको अन्तरिम सरकार असंवैधानिक भएको बताएका छन्। ओलीले आफूले संविधानअन्तर्गत मात्रै नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई पत्र लेखेर दिएको बताएका छन्।

“जटिल अवस्थामा र तरल अवस्था छ भन्ने भनेर मैले सिफारिस गरिदिनु हुन्छ भन्ने कुरा वाञ्छनीय हुन्छ भनेर मेरो सिफारिसको भाषा छ । वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा, परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण अवस्थामा फर्काउन पर्ने भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानको परिधिभित्र अहिलेको निकासका लागि उपयुक्त आवश्यक कदम चाल्न सिफारिस गर्दछु,” ओलीले भने, “यसमा सुशीला कार्की सुन्नुभयो?”

उनले केयर टेकर प्रधानमन्त्रीका रुपमा सिफारिसबिना हुने भनेपछि आफूले संविधानभित्रबाटै निकाय खोज्न सिफारिस गरेको बताए। “राष्ट्रपतिजीले मलाई भन्नुभएको केयर टेकर प्राइममिनिस्टरको सिफारिसबिना कुनै राष्ट्रपतिले कुनै पनि काम गर्न गाह्रो हुन्छ। त्यसकारण मलाई उपयुक्त निकास निकाल्नका लागि तपाईले सिफारिस गरिदिनुहोस्। हुन्छ भनें मैले। राष्ट्रपतिले आधिकारिक व्यक्तिको सिफारिसबिना केही गर्नु वाञ्छनीय हुँदैन। सेरेमेनियल राष्ट्रपति हो, सम्मानित राष्ट्रपति हो, कार्यकारी होइन। त्यसैले कार्यकारी अधिकार हातमा लिनु हुँदैन,” ओलीले भने।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा झुट बोलेको आरोप पनि लगाए। “यो अन्तरिम सरकार संविधानअन्तर्गत बनेको होइन। एउटा हल्ला छ। अस्तिको दिन पनि प्रचण्डजीले भयानक झुट बोल्नुभयो। मसँग प्रमाण छ भनेर भन्नुभयो- केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभयो भनेर भन्नुभयो,” ओलीले भने।

यो पनि…

सुशीला कार्कीको शपथग्रहण नहुन्जेल मेरो फोन सेनाले सिज गरेको थियो : ओली