दृष्टिकोण
आफूले रोजगारी दिन नसकेर कालापहाड पस्न बाध्य भएकाहरूबारे राज्यले कहिले देला चासो?
गत २० साउनमा सुदूरपश्चिमको सीमावर्ती भारतीय राज्य उत्तराखण्डको हिमाली सहर उत्तरकाशीमा ‘क्लाउड बर्स्ट’ भयो। जसका कारण त्यहाँको धराली गाउँमा लेदोसहितको बाढी आउँदा पाँच जनाको मृत्यु भयो। ६८ जनाको अवस्था अझै अज्ञात छ। हराएकामध्ये २१ जना नेपाली रहेको स्थानीय प्रशासनको तथ्यांक छ।
बेपत्तामध्ये कैलालीका रमेश बुढाको परिवार बेखर्ची भएर हालै घर फर्किएका छन्। अन्य बेपत्ताका परिवार पनि सीमा सहर महेन्द्रनगर आएपछि स्थानीयको सहयोगमा घर फर्कन सफल भए। उनीहरूको गुनासो छ– भारत सरकारले बेपत्ताका परिवारलाई जनही पाँच लाख दिँदै थियो, तर आफ्नै घर (नेपाल) आएपछि हात फैलाउनुपर्यो।
गंगोत्री धामनजिकै पर्यटकीय गन्तव्य हर्षिल जोडिएको धराली गाउँ बढारिने गरी आएको बाढीले त्यस ठाउँ उजाडेन मात्र, विकासका नाममा पहाडमा गर्न थालिएको मानवीय थिचोमिचोले ल्याउने विनाशविरुद्ध सजग रहन पनि भारत सरकारलाई झकझक्यायो।
विश्वको चौथो विशाल अर्थतन्त्र बन्ने दौडमा रहेको भारत पछिल्ला वर्षहरूमा उत्तर-पश्चिमी दुई राज्य हिमाचल र उत्तराखण्डमा लगातार विकाससिर्जित पर्यावरणीय चुनौतीको सामना गर्न बाध्य छ।
सुदूरको छिमेकी कालापहाड मानिने उत्तराखण्ड क्षेत्रमा केही हुँदा कर्णालीसम्म गरिबका झुपडीमा अगेनो निभ्ने गरेको छ। यस क्षेत्रमा भइरहेका विकास निर्माणबाट सिर्जित प्राकृतिक विपद्मा नेपाली नपरेको बिरलै छ। तर, आफूले रोजगारी दिन नसकेर कालापहाड पस्न बाध्य यी अनागरिकबारे राज्यले अहिलेसम्म चासो दिएको पाइँदैन। विमान दुर्घटनामा मारिनेलाई मात्र नागरिक मान्ने प्रवृत्तिले धरालीजस्ता पहाडमा अस्ताउनेहरूको कुनै हिसाब हुँदैन। जसले आजसम्म कसैलाई फरक पारेको छैन र पार्ने छाँट पनि देखिँदैन।
१२ वर्षअघि महाकालीमा आएको बाढीले दार्चुलाको आधा सदरमुकाम बगाउँदा छिमेकी भारतको उत्तराखण्डस्थित धार्मिक गन्तव्य केदारनाथमा भएको क्लाउड बर्स्टपछि आएको बाढीका कारण हजारौँ हराइरहेका छन्। जसमध्ये कति नेपाली थिए, आजसम्म यकिन छैन। भारतको अहिलेसम्मकै ठूलो ‘रेस्क्यु अपरेसन’ मानिएको केदारनाथ घटनामा पाँच हजार ७०० बेपत्ता छन्। महेन्द्रनगरको सीमावर्ती सहर बनबासास्थित इन्डो-नेपाल जोइन्ट एक्सन फोरमका भारतीय संयोजक तेजसिंह भण्डारीका अनुसार केदारनाथ घटनामा हराउने नेपालीको संख्या पक्कै ठूलो हुनुपर्छ, तर उनीसँग सात जना बेपत्ताका परिवार मात्र ठोक्किए। पाइला पाइलामा नेपाली भेटिने केदारनाथ यात्रा नेपालीबिना अधुरो छ।
अमरसिंह थापाकालीन गोर्खाली सेनाले राज गरेको कुमाउँ, गढवाल हुँदै काँगडासम्मको यस भूमिमा सुदूर र कर्णालीको जीवनशैली र परिवेश मेल खाने हुँदा त्यहाँ हाम्रो भेगका मानिसलाई आफू परदेशमा भएको महसुस हुँदैन। सायद यही कारण हुनुपर्छ, मुलुकबाट यस क्षेत्रमा अधिकांश परिवारका युवादेखि वृद्धसम्म हातमुख जोर्न भौँतारिएका हुन्छन्। उनीहरूका कैयौँ पुस्ताले यहाँका पहाडतिर पसिना बगाउँदै आएका छन्।
उसो त भारतभरि नेपाली भेट्नु ठूलो कुरो हैन, तर हिमाचल र उत्तराखण्डमा गोर्खाली मजदुरको पहिचान बनाएका नेपालीहरूको अवस्था फरक छ। उनीहरूको कष्टकर श्रमिक जीवन देख्दा नेपालमा पछिल्ला तीन दशकमा कस्तो राजनीतिक परिवर्तन भएछ त भनेर सोच्न करै लाग्छ।
केदारनाथ जाने तीर्थालुका डोकोको नाम्लोमुनि होस् या बद्रीनाथ र यमुनोत्री जाने तीर्थालुको डोलीमुनि, एक नेपालीले पसिना बगाइरहेको देख्दा मन कटक्क खान्छ। गंगोत्री अलि सहज मानिने हुँदा यहाँका ह्विलचियरमा बसेका तीर्थालुलाई धक्का दिँदै उनीहरूको गन्तव्य भागीरथी अर्थात् गंगाको काखमा पनि नेपालीले नै पुर्याइरहेका हुन्छन्।
पर्यावरणीय चुनौती
विश्वको चौथो विशाल अर्थतन्त्र बन्ने दौडमा रहेको भारत पछिल्ला वर्षहरूमा उत्तर-पश्चिमी दुई राज्य हिमाचल र उत्तराखण्डमा लगातार विकाससिर्जित पर्यावरणीय चुनौतीको सामना गर्न बाध्य छ। हिन्दुकुश हिमालय क्षेत्रमा एक हजार किलोमिटरमा लम्किएको नेपाल पनि यो पर्यावरणीय समस्याबाट अछुतो छैन।
गंगोत्री मुहानमा ढुंगा फुटाइरहेको नेपाली होस् या हिमाचलको राजधानी सिमला वरपर स्याउ टिप्ने नेपाली र लद्दाखका कठिन खोच छिचोल्दै भारतीय फौजका लागि सडक बनाइरहेका नेपाली, यहाँ नेपाल चिनाउने ‘ब्रान्ड एम्बास्डर’ हुन्।
नेपालमा पनि २४ असारमा भोटेकोसीमा आएको विनाशकारी बाढीले चीनसँगको नाका रसुवागढी, टिमुरे सुक्खा बन्दरगाहलगायत निर्माणाधीन जलविद्युत् आयोजना माथिल्लो त्रिशूली, त्रिशूली थ्री बी आदिमा क्षति गर्यो। हिमताल फुटेर आएको भनिएको उक्त बाढीले मुलुकका लागि आर्थिक क्षति मात्र गरेन, यो राम्रो पर्यावरणीय संकेत हैन।
समस्या त छ, तर चलचित्रमा फेरिने दृश्यजस्तै नेपालमा फेरिइरहने राजनीतिक परिदृश्यले कालापहाडका अनागरिकबारे सोच्ने फुर्सद कसैलाई छैन। द्रुत विकासको गतिमा रहेका यी भारतीय राज्यबाट उस्तै पारिस्थितिकीय प्रणाली रहेको नेपालले सिक्न आवश्यक छ।
भारतका आठ नदी प्रणालीमध्ये यही क्षेत्रमा पर्ने गंगा प्रमुख र सम्पूर्ण नदी हो। तर, बदलिँदो मानवीय जीवनशैली र ऊर्जा संकटका कारण गोमुख हिमनदीबाट उत्पत्ति हुने गंगालाई तीर्थनगरी मानिने हरिद्वार पुगुन्जेल अनेक अवरोध गरिएको छ, विकासका नाममा।

उत्तराखण्ड घटनामा मारिएका र बेपत्ताहरूको आत्माको शान्तिका लागि हरिद्वारका साधुसन्तले सोमबार गंगा किनारमा गरेको यज्ञ। तस्बिर : श्याम भट्ट।
गंगामा भारतकै उच्च मानिने टिहरी बाँध छ। भारतको कान्छो राज्य उत्तराखण्डको यस क्षेत्रमा त्यसैअनुरूप विकासका काम भइरहेका छन्। यसमा सडकमार्ग, सुरुङमार्ग, जलविद्युत् आयोजना अग्रस्थानमा छन्। काली किनार हुँदै नेपाली भूमि लिपुलेक प्रयोग गरेर चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जान भारतले बनाएको सडक पनि यसैको हिस्सा हो।
हिन्दु धार्मिक पर्यटनका रूपमा विकसित गर्न लागिएको यस क्षेत्रको पश्चिममा भारतको हिमाचल राज्य र उत्तरमा उनीहरूले परम्परागत शत्रु मान्ने तिब्बत-चीनको सीमाका कारण भारतीय फौजको बाक्लो उपस्थिति गराइएको छ। धराली घटनामा १० सुरक्षाकर्मी पनि बेपत्ता छन्।
मौसमविद्हरूका अनुसार २० देखि ३० वर्ग किलोमिटर क्षेत्रमा एक घण्टा वा कम समयमा १०० मिलिमिटरभन्दा बढी पानी पर्नु ‘क्लाउड बर्स्ट’ हो। गणितीय हिसाबले यो एक वर्ग किलोमिटर क्षेत्रमा १० करोड लिटर पानी पर्नु बराबर हो।
गंगोत्री मुहानमा ढुंगा फुटाइरहेको नेपाली होस् या हिमाचलको राजधानी सिमला वरपर स्याउ टिप्ने नेपाली र लद्दाखका कठिन खोच छिचोल्दै भारतीय फौजका लागि सडक बनाइरहेका नेपाली, यहाँ नेपाल चिनाउने ‘ब्रान्ड एम्बास्डर’ हुन्।
हरिद्वारबाट डेढ सय किलोमिटर उत्तरमा रहेको उत्तरकाशी हिन्दुका चारधाम मानिने यमुनोत्री, गंगोत्री, बद्रीनाथ र केदारनाथको ‘गेट वे’ पहाडी सहर हो। वार्षिक करोडौँ तीर्थालुको भार सहने यस क्षेत्रको जनसांख्यिकी बढ्दो पर्यटनले ल्याएको आर्थिक परिवर्तनसँगै बदलिँदै गएको महसूस हुन्छ।
सन् १९७८ मा सुरु भएर २००६ मा निर्माण सम्पन्न भएको २६०.५ मिटर उचाइ रहेको विश्वकै १३औँ अग्लो बाँध टिहरीले भारतका लागि एक हजार मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्छ। गढवालको राजधानी मानिने पुरानो टिहरी सहरसहित ‘ल्यान्डमार्क’ मानिने घण्टाघर र किंग्स कोर्टलगायत २४ गाउँ पूर्णरूपमा डुबाएर बनाइएको महत्त्वाकांक्षी यस बाँधले हजारौँ नागरिक विस्थापन गरेको थियो। ५२ वर्ग किलोमिटर क्षेत्र डुबानमा रहेको यस बाँधका कारण ८८ गाउँ आंशिक डुबानमा छन्। गंगामा ११ वटा चालु आयोजनाले भारतका लागि एक हजार ६४४ मेगावाट बिजुली उत्पादन गरेको छ।
उत्तराखण्ड सरकारको पछिल्लो तथ्यांक अनुसार गंगा र यसका सहायक नदीमा २३३ कम्पनीले ऊर्जा उत्पादनका लागि इजाजत पाएका छन्। भारतको ऊर्जा संकटमोचन गर्ने राज्य मानिएको उत्तराखण्ड र हिमाचलमा विकासका नाममा पर्यावरण छियाछिया भएको छ र आउँदा दिन कम चुनौतीपूर्ण छैनन्।
मौसमविद्हरूका अनुसार २० देखि ३० वर्ग किलोमिटर क्षेत्रमा एक घण्टा वा कम समयमा १०० मिलिमिटरभन्दा बढी पानी पर्नु ‘क्लाउड बर्स्ट’ हो। गणितीय हिसाबले यो एक वर्ग किलोमिटर क्षेत्रमा १० करोड लिटर पानी पर्नु बराबर हो।
भारतमा मौसमी प्रकोपको तथ्यांक राख्ने र विश्लेषण गर्ने ‘इन्डियाज् एटलस अन वेदर डिजास्टर्स’ ले हिन्दुकुश हिमालय क्षेत्रमा गरेको एक अध्ययनमार्फत डरलाग्दो तथ्यांक ल्याएको छ। यस क्षेत्रले वर्षका धेरै दिन ‘एक्स्ट्रिम वेदर इभेन्ट’ अर्थात् हिट वेभ, बाढी, खडेरीजस्ता मौसम प्रणालीको सामना गर्दै छ। २०२२ देखि मार्च २०२५ सम्म जम्मु कश्मीरदेखि सिक्किमसम्मका १३ हिमाली राज्यले हरेक १० मध्ये सात दिन ‘एक्स्ट्रिम वेदर इभेन्ट’ सामना गरिरहेका छन्। जसका कारण यही अवधिमा दुई हजार ८६३ जनाको ज्यान गएको छ। यी राज्यले यो मौसम प्रणाली सन् २०२४ मा ७० प्रतिशत र २०२५ का सुरुआती तीन महिनामै ९६ प्रतिशत झेलिसकेका छन्।
वैज्ञानिकहरू बदलिँदो मौसम प्रणालीका कारण भइरहेका प्राकृतिक विपद्को प्रमुख तीन कारण जलवायु परिवर्तन, हिमनदी विस्फोटन र क्लाउड बर्स्टलाई मान्छन्। कालापहाडतिर काठमाडौँको ध्यान जान त समय लाग्ला, तर परिवर्तित मौसमी चक्र र देशभित्रको पर्यावरणीय चुनौतीको सामना गर्न नयाँ खाका कोर्न ढिलो भइसकेको छ।