यसपालि तिहारमा फूल अचाक्ली महँगिएको छ। तिहार सुरु भइसक्दा बजारमा एक थुँगा सयपत्रीकै मूल्य रु. ४० देखि ४५ सम्म पर्न थालेको छ। न्युरोडको सडकपेटीमा फूल-माला बेच्दै गरेकी दोलखाकी ५० वर्षीया माया खत्रीले यस वर्ष बारीमै सयपत्री फूल किलोको ८०० रुपैयाँको दरले किन्नुपर्यो। उनले गत वर्ष किलोको ५०० को दरले किनेको सयपत्रीको भाउ यो वर्ष झन्डै दोब्बर बढेको छ।
उनका अनुसार किसानलाई बारीमै किलोको ८०० रुपैयाँ तिर्नुपरेकाले तिहारमा सयपत्रीको प्रतिमाला एक हजार रुपैयाँमा बेच्नुपरेको हो। मालाको मूल्य बढी भएपछि ३ कार्तिकको दिनभर उनले नौ वटा मात्र माला बेच्न सकिन्। गत वर्ष दिनमै २० वटा माला बिक्री भएको सम्झिँदै मायाले भनिन्, “प्रतिमाला रु. एक हजार पर्छ। एउटा माला बेचेको दुई घण्टापछि मात्र अर्को माला बिक्री भयो, फूल महँगो भएकाले अहिले मानिसहरू किन्नै मान्दैनन्।’
मायाले काठमाडौँ, न्युरोडको सडकपेटीमा माला बेच्न थालेको २२ वर्ष भएको छ। मायाको अनुभवमा यो वर्ष सयपत्रीलगायत फूलको मूल्य अघिल्ला वर्षभन्दा अकासिएको छ। यसपालि दाजुभाइलाई तिहारमा लगाइदिने मखमली फूलको माला पनि उनेर बेच्ने गरिएको छ। उनले भनिन्, “पहिले पहिले १०० रुपैयाँमा एक पाथी फूल किनबेच गर्न सकिन्थ्यो, माला पनि १५० मा बेचिन्थ्यो, दिनमा तीन हजारसम्म कमाइन्थ्यो, यसापालि कमाइ नै भएन।”
फर्पिङबाट प्रतिकिलो ८०० रुपैयाँमा सयपत्री ल्याएर कालीमाटी, न्युरोडलगायत राजधानीका विभिन्न स्थानमा प्रतिकिलो एक हजारमा बेच्ने कैयौँ फूल व्यापारी बजारमा भेटिन्छन्। “एउटा सयपत्री मालामा कम्तीमा २०० त नाफा खानैपर्यो,” मायाले भनिन्।

अनामनगर भाटभटेनीको पेटीमा फूल र माला बेच्दै नुवाकोटका सरोज बुढा क्षेत्री (दायाँ) र न्युरोडको सडकपेटीमा फूल-माला बेच्दै गरेकी दोलखाकी माया खत्री। तस्बिर : नेपालन्युज
यसपालि तिहार अलि अघि नै सुरु भएकाले सयपत्री राम्रोसँग फुल्न नसक्दा महँगो भएको हो। सयपत्री माला किन्दाकिन्दै न्युरोडमा भेटिएकी वसन्तपुरकी सीता पाण्डेले पनि विगतभन्दा यस वर्ष सयपत्री फूल दोब्बर महँगो भएको अनुभव सुनाइन्।
त्यसो त अनामनगरस्थित भाटभटेनीनजिकै लक्ष्मीपूजाकै दिन सडकपेटीमा फूल र माला बेच्न बसेका नुवाकोटका सरोज बुढा क्षेत्रीले किसानसँग महँगोमा फूल किनेकाले बढी मूल्यमा बेच्नुपरेको बताए। उनले लक्ष्मीपूजाका दिन प्रतिकिलो एक हजार रुपैयाँका दरले सयपत्री माला बेचे।
भक्तपुरको राधेराधेनजिकैको सडकपेटीमा गाढामा सयपत्री फूल र माला बिक्री गरेकी व्यापारी प्रमिला लामाले आइतबारदेखि मात्र किसानले फूलको मूल्यवृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन्। उनका अनुसार काभ्रेपलान्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट आएको सयपत्री फूल एक साताअघिसम्म प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भएकामा आइतबारदेखि ६०० र मंगलबार त एक हजार रुपैयाँसम्म किनबेच भएको अनुभव सुनाइन्।
एक साताअघिसम्म पनि फूलको मूल्य खासै बढेको थिएन। एक साताअघि किसानले २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारदेखि किसानले नै ४० देखि ४५ रुपैयाँमा व्यापारीलाई बिक्री गर्न थाले। त्यसपछि भने व्यापारीले मखमलीको एउटा मालाकै १०० रुपैयाँसम्म लिन थाले। यसरी पछिल्ला दुई दिनमै फूल र मालाको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि त्यसको सबैभन्दा ठूलोमा मारमा दाजुभाइका लागि फूलमाला लगाइदिने दायित्व बोकेका दिदीबहिनीहरू परेका छन्।