काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

विपिनको बिदाइ

हमासले प्रहार गरेको ग्रिनेड फ्यालेर विपिनले जोगाएका थिए नेपाली विद्यार्थीको ज्यान

३ कार्तिक २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जलीका लागि राखिएको विपिन जोशीको शव। तस्बिर सौजन्य : सुजन गुरुङ
अ+
अ-

प्यालेस्टिनी सशस्त्र समूह हमासको कब्जामा मृत्युवरण गरेका विपिन जोशीको शव सोमबार काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर निकै शोकाकुल बन्यो।

विमानस्थलमा आयोजित श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री सुशीला कार्कीले उनको शवमा राष्ट्रिय झन्डा ओढाइन्। प्रधानमन्त्रीले माल्यार्पण गरिरहँदा विपिनका आफन्त प्रकाश जोशी र नारद जोशीका आँखा रसाइरहेका थिए। शोकले भरिएको क्षणमा प्रकाश र नारदले पत्रकारलाई छोटकरीमा भने, “भइहाल्यो, अहिले केही नबोलौँ।”

विपिन मारिएको औपचारिक जानकारी हमासले गत २७ असोजमा दिएको थियो। नियन्त्रणमा लिएको ७३८ दिनपछि। यी दिनहरू विपिनका परिवारजन मात्र होइन, सिंगो देशवासीका लागि निकै तनावपूर्ण रहे।

२३ असोज २०८० हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। त्यसपछि किबुज आलुमिमबाट अपहृत भई गाजामा लगिएका विपिनबारे दुई वर्ष नेपाल सरकार अनभिज्ञ रह्यो। परिवार आशैआशमा बसिरह्यो। र, दुई वर्षपछि सिंगो मुलुकले कामनाविपरीत उनी कफिनमा फर्किए।

इजरायल र हमासबीच युद्धविरामसँगै भएको बन्धक रिहा र शव फिर्ताको सहमतिपछि बल्ल हमासले विपिनको शव इजरायली अधिकारीलाई हस्तान्तरण गरेको थियो। त्यसपछि विभिन्न कागजी प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो। विपिनको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित घरमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।

“विपिन तीन करोड नेपालीको मन-मस्तिष्कमा रहिरहनेछन्,” श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, “उनी बहादुर युवा हुन्, चाहेको भए बाँच्न सक्थे, तर अरूलाई बचाउन खोज्दा आफू रहेनन्।”

विपिन जोशीको श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री सुशीला कार्की। तस्बिर सौजन्य : सुजन गुरुङ

प्रधानमन्त्री कार्कीले भनेजस्तै विपिन साँच्चै बहादुर हुन् जसले हमासले प्रहार गरेको ग्रिनेड फालेर अरूको ज्यान जोगाएका थिए।

२३ असोज २०८० को आक्रमणमा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। विपिन भने गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको आक्रमणमा परेर मृत्यु भएको थियो भने अन्य चारजना घाइते भएका थिए। त्यतिबेला विपिन सम्पर्कविहीन बन्दा अन्य दुई जना सकुशल थिए।

पछि विपिनलाई हमासले अपहरण गर्दै बन्धक बनाएर लगेको खुलेको थियो। सोही वर्षको मंसिरसम्म विपिन जीवित रहेको भिडियो हमासका तर्फबाट सार्वजनिक भएको थियो। विपिनसँग एउटै फर्ममा काम गरेका र आक्रमणपछि उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

विपिन जोशीको शव श्रद्धाञ्जलीसभातर्फ लैजाँदै नेपाली सेना। तस्बिर सौजन्य : सुजन गुरुङ

“हामीलाई दु:ख छ, विपिनलाई भव्य स्वागत गरेर घर पठाउन पाइन्छ भन्ने थियो,” कार्कीले भनिन्, “दुर्भाग्य शव मात्रै फर्केको छ। भविष्य बनाउन परदेश गएका थिए। अपहरणमा पर्दा उनले कति दु:ख-कष्ट खेपे होलान्, यो विपिन भन्ने तीनवटा शब्द तीन करोड नेपाली कसैले बिर्सन सक्दैन।”

श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई, इजरायली राजदूत स्मुलिक अरिई बासलगायत नेपाली सेना, प्रहरीका प्रतिनिधि पुगेका थिए।

शव बोकेको फ्लाई दुबईको विमान सोमबार दिउँसो २:१९ मा त्रिभुवन विमानस्थल अवतरण गरेको थियो। शव नेपाली सेनाको स्काई ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित उनको घर लगिनेछ। कञ्चनपुरमै उनको दाहसंस्कार गरिनेछ।