काठमाडौं। प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका-४ भचेक घर भई हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्दै आएका सोमबहादुर गुरुङ रहेका छन्।
२१ वर्षीय गुरुङलाई सोमबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दानबहादुर कार्कीले बताए।
जेन-जी आन्दोलनका क्रममा २४ भदौमा वृत्तका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापाको हत्या भएको थियो। कार्कीका अनुसार पक्राउ परेका गुरुङलाई वृत्त महाराजगञ्जमै राखेर अनुसन्धान थालिए छ।
यसअघि प्रहरी हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका ९, राजबासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७, बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरूद्ध मुलुकी फौजदारी संहिता, दफा १७७ अनुसार ज्यान मार्ने कसुरमा जन्मकैदको सजाय मागदाबी गरी जिल्ला अदालतमा ३० असोजमा मुद्दा दायर गरिएको छ।