कुकुर तिहार
मानिस र कुकुरको डीएनए ९४ प्रतिशत मिल्दोजुल्दो हुन्छ। त्यसैले पनि मानिसहरूको सबैभन्दा नजिकको साथी कुकुर भएको होला।
२० वर्षअघि पाटनमा एक जापानी कृषि विज्ञ बस्थे। एकचोटि रामेछाप गएका बेला उनले एउटा भोटे कुकुरको छाउरो किनेर ल्याएछन् र ‘टासी सर’ नाम दिए।
टासी सर दुई वर्षमै भालुजत्रै भयो। तर, उसको जापानी मालिक आफ्नै देश फर्कनुपर्ने भएछ। टासी सरलाई काठमाडौँको गर्मीले खासै राम्रो गरेको थिएन त्यसैले उनले आफ्नो पिकअप भ्यानमा हालेर कुकुरलाई रामेछापकै गाउँ पुर्याइदिएछन्। र, नेपाल छोडेर जापान लागेछन्।
दुई महिनापछि एक दिन ती जापानी बस्ने पाटनको घरका छिमेकीले एउटा झ्यापुल्ले, मैलो, दुब्लो कुकर ढोका बाहिर देखेछन्। यसो हेर्दा उही टासी सर पो रहेछ।
टासी सर त रामेछापदेखि दोलखा, दोलालघाट, धुलिखेल हुँदै आफ्नो मालिकलाई खोज्दै १५० किमी यात्रा गरेर घरै आइपुगेछ।
जापानको प्रख्यात ‘हाचिको ’ नामको कुकुरले उसको दिवंगत मालिकलाई नौ वर्षसम्म रेलको स्टेसनमा कुरेको वास्तविक कथाको झझल्को दिने टासी सर र हाचिकोका जस्ता धेरै कथा छन्, जसले कुकुर र मानिसबीचको आत्मीयता दर्साउँछन्।

तस्बिर : कुन्द दीक्षित
मानव जाति र कुकुरबीचको आपसी मित्रता दशौँ हजार वर्ष पुरानो हो। वैज्ञानिकहरूको अनुमानमा कुकुरहरू ब्वाँसो र स्यालबाट उद्विकास हुँदै मानव बस्तीमा पसेर घरपालुवा भएको पहिलो जनावर प्रजाति हो।
त्यसमा पनि १५ हजार वर्षअगाडि हिम युगको अन्त्यताका एक प्रकारको ब्वाँसो तिब्बती पठारका मानव बस्तीसँग नजिकिन थाल्यो र त्यही ब्वाँसो अहिले ‘भोटे कुकुर’ भनेर चिनिन्छ। त्यसैबेला युरोपमा बस्ने ब्वाँसाहरू पनि जर्मन सेफर्डमा उद्विकास भए। त्यसपछि कुकुरहरूको जात मिसिँदै गयो– हस्की, ल्याबरडोर, कोलीहरू उत्पन्न भए।
नेपालमा पिस कोरमा काम गरेका डन मेस्सरस्मिटले त भोटे कुकुरबारे बिग डग्स अफ टिबेट एन्ड द हिमालयाज किताबै लेखेका छन्। किताबमा उनी भन्छन्, ‘भोटे कुकुरले आफ्नो प्राथमिक दायित्व मालिकको रक्षा, याक र भेडा बाख्राको रक्षाको जिम्मेवारी बुद्धिमानीका साथ बफादारी, कर्तव्यनिष्ठ र संयमित भएर गर्छ। यसो गरेबापत कुकुरहरूले खानका लागि आफैँ सिकार खेल्न पर्दैन, मालिकले नै खान दिन्छ।
यही भएरै होला, नेपालमा कुकुरहरूले गरेको अचम्मका क्रियाकलाप सुन्न पाइन्छ। एउटा कुकुरले मनास्लु हिमाल आरोहण गर्न हिँडेको टोलीलाई बूढीगण्डकीको किनारै किनार हप्तौँसम्म पछ्यायो। र, मनास्लुको पहिलो शिविरसम्म पुग्यो।
अर्को कुकुर सगरमाथा आरोहीहरूसँग खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्म पुगेको पनि छ। अझ अर्को कुकुर त ग्रेट हिमालयन ट्रेलमा हिँडेका कञ्चनजंघादेखि अपी सैपालसम्मको यात्राका क्रममा ओलाङचुङगोलादेखि सँगै हिँड्दै, टेसी लाप्ट्सा पास (५,३०० मिटर) पार गर्दै लाङटाङ र लार्के पास हुँदै मनाङसम्म ८०० किलोमिटर हिँडेको पनि छ।

ग्रेट हिमालयन ट्रेलको यात्रा गरेको कुकुर सेतुक। तस्बिर सौजन्य : नेपाली टाइम्स
कुकुरहरूमा यो आँट, धैर्य, बाध्यता कहाँ बाट आयो होला? काठमाडौँमै थुप्रै मानिस छन् जसले सकीनसकी महिनाको हजारौँ रुपैयाँ खर्च गरेर दर्जनौँ टुहुरा कुकुर पालेका हुन्छन्। कसैले उनीहरूलाई कुकुरको माया गर्नुपर्छ भनेर सिकाएको होइन, सिकाउन पनि पर्दैन।
मानिसमा कुकुरप्रतिको यो माया र करुणा कहाँबाट आयो? यसका लागि हामीले मानिस र कुकुरको सह–उद्विकासको जीवविज्ञानमा खोज्नुपर्छ।
प्रमाणित तथ्य के हो भने मानिस र कुकुरको डीएनए ९५ प्रतिशत मिल्दोजुल्दो हुन्छ। अझ मानिस र चिम्पान्जी बाँदरको त ९८ प्रतिशत नै मिल्छ। त्यसैले पनि मानिस र कुकुरले आपसमा हेरचाह गर्ने व्यवहार डीएनएमा कोरिएको छ। यहाँनेर गोपाल योञ्जनको शब्दमा नारायण गोपालले गाएको गीतको भाव ठ्याक्कै मिल्छ– तिम्रोजस्तो मुटु मेरो पनि!
नत्र अहिलेको आधुनिक युगमा सहरियाहरू कुकुर किन पाल्छन्? न उनीहरूको याक छ, न भेडाबाख्राको बथान, जसलाई कुकुरले रक्षा गर्न परोस्। यसो पनि भनिन्छ– कुकुरलाई माया गर्ने मानिसले संसार, प्रकृति र अरू मानिसलाई पनि माया गर्छ।
घरमा कुकुर पाल्नु भनेको गमलामा फूल उमार्नु, माछा पाल्नुजस्तै हो। यसो गरेर हामीले कृत्रिम दुनियाँसँग संघर्ष गरेरै पनि प्रकृतिसँगको गहिरो सम्बन्धलाई सम्बोधित गरेका हौँ।
मानिस बिरामी परेको बेला, मानसिक तनाव भोगेको बेला कुकुरले दिने निःस्वार्थ मित्रताले औषधि र थेरापीको काम गर्छ। त्यसैले आजकल अमेरिका, युरोपमा त हवाईजहाजमा पनि यात्रुले पालुवा कुकुर लैजान पाउँछन्।
त्यति मात्र होइन, नेपालबाट प्रेरित भएर मेक्सिकोमा पनि केही वर्षयता कुकुर दिवस मनाइन्छ, सयपत्रीको माला लगाइदिँदै र मीठो खानेकुरा दिँदै।

मेक्सिकोमा सन् २०१८ मा मनाइएको कुकुर तिहार। तस्बिर सौजन्य : नेपाली टाइम्स
२०७२ सालको भुइँचालोपछि पाटनको अल्का अस्पतालमा एकजना बिरामी भर्ना भए। बिरामीसँगै एउटा सानो काली छाउरी पनि आई र बिरामी राखिएको सी–१८ नम्बरको कोठाबाहिर कुरेर बसी। केही दिनपछि शल्यक्रियाका क्रममा बिरामीको ज्यान गयो।

२०७२ सालमै मृत्यु भएका आफ्ना मालिक कुरेर अस्पतालमा बसेकी काली। तस्बिर सौजन्य : गोपेन राई/हिमालखबर
अहिले कुकुर ठूलो भइसक्यो। नर्सहरूले कुकुरको नाम ‘काली’ राखेका छन्। दिउँसोभरि काली अल्काको तल चोकमा बस्छे। र, हरेक रात मालिकलाई पर्खेर सी– १८ को ढोका बाहिरै सुत्छे।
आज कुकुर तिहारको दिन टासी सर, हाचिको, काली र मेरो आफ्नै कुकुर कुइरेलाई धेरै धेरै सम्मान र सम्झना!