काठमाडौं। भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ देशका विभिन्न सहरमा देउसी-भैलो कार्यक्रममार्फत प्रचारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्।
चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बू, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडालगायतको टोली आइतबार साँझ झापाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्यक्रम’मा सहभागी भएको छ। कलाकार र स्थानीय बासिन्दाले देउसी खेल्दै रमाइलो गरे । त्यस अवसरमा लिम्बू चलचित्रकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो। यही टिमले मोरङको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाउँदै चलचित्रको प्रचार गरेको छ।
यसबीच २ घण्टा २५ मिनेट ३३ सेकेन्डको ‘सोल्टिनी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको अर्थ, यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने परिवारमैत्री चलचित्र हो भन्ने हो।
चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ र देशभरका हलहरूले यसका लागि आकर्षक शो सङ्ख्या तोकेका छन्। अर्जुन सुवेदीले निर्देशन गरेको ‘सोल्टिनी’ एक अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र हो, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ।
चलचित्रमा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बू छन्। उनीहरूसँगै विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय छ। भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने ‘सोल्टिनी’ले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।