एसीबी अध्यक्षले पाकिस्तान आक्रमणमा मारिएका अफगानी क्रिकेट खेलाडीका परिवारलाई भेटे
काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अध्यक्ष मिरवाइज असरफसँगै क्रिकेट खेलाडीहरूले अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानी हवाई आक्रमणमा मारिएकाहरूका परिवारहरूसँग भेट गरेका छन्।
एसीबीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्ति जारी गर्दै भेटबारे जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘एसीबीका अध्यक्ष मिरवाइज असरफ, राष्ट्रिय खेलाडी रहमत साह, जहिर खान, फरिद मलिक र सब्बिर नूरीलगायत धेरै अधिकारीले हालै पाकिस्तानी हवाई आक्रमणमा मारिएकाहरूका परिवारसँग भेट्न पक्तिका प्रान्तको भ्रमण गरेका थिए।’
भेटका लागि पुगेका टोलीले मृतक खेलाडीका परिवारमा समवेदना प्रकट गरे। विज्ञप्तिमा थप भनिएको छ, ‘भ्रमणका क्रममा, मिरवाइज असरफ र उनको साथमा आएको प्रतिनिधिमण्डलले परिवारहरूसँग गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन्।”
एसीबीले जारी गरेको विज्ञप्ति अनुसार मिरवाइज असरफले खेलाडीहरुको सपना टुटेको प्रतिक्रिया दिए। उनले भने, ‘हाम्रा युवा खेलाडीहरूको सपना चकनाचुर भएको छ। उनीहरूले समृद्ध अफगानिस्तानको लागि महान् सपना र आशा बोकेका थिए, तर मानवता र शान्तिका शत्रुहरूले ती आशाहरूलाई क्रूरतापूर्वक चकनाचुर पारेका छन्।’
उनले समवेदना पनि प्रकट गर्दै घटनाबाट दु:खी भएको जनाएका छन्। ‘एसीबीका तर्फबाट, म सबै प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। हामी यो कठिन समयमा उनीहरूको साथमा उभिन्छौं र यो त्रासदीबाट गहिरो दुःखी छौं।’
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गत शनिबार पक्तिका प्रान्तमा भएको पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु भएको जनाएको थियो। एसीबीले विज्ञप्तिमार्फत आक्रमणको निन्दा पनि गरेको छ ।