कीर्तिपुर नगरपालिका-१ मा रहेको बाघभैरव मन्दिरले धार्मिक अर्थ मात्र बोकेको छैन, यसको ऐतिहासिक महत्त्व पनि बोकेको छ।
लिच्छविकालीन मन्दिरमध्ये हालसम्म यथावत् बचेको एकमात्र मन्दिर हो यो। लिच्छवि राजा शिवदेव तृतीयले करिब एक हजार वर्षअघि बाघभैरव मन्दिर स्थापना गरेका थिए। मन्दिरको शिरमा गोरखा राज्यकालीन हतियारहरू सजाएर राखिएका छन्, जसबारे कतिपयलाई जानकारी नहुन सक्छ।
पृथ्वीनारायण शाहको पालामा गोर्खालीहरूले काठमाडौंमा पटक पटक हमला गरेका थिए। पाटनअन्तर्गतको राज्य कीर्तिपुरमा मात्रै दुई ठूला हमला गरियो। तेस्रो प्रयासमा ३ चैत १८२२ मा कीर्तिपुर पराजित भएको थियो।
बाघ भैरव मन्दिर गुठी व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा संरक्षक सुधरत्न महर्जनका अनुसार, दुईवटा युद्धमा गोर्खालीहरू कीर्तिपुरसँग पराजित भएपछि गोर्खालीका हातहतियार बाघभैरव मन्दिरमा सजाएर राखिएको हो। मन्दिरमा पहिले २० वटा ढाल थिए, अहिले चारवटा मात्र बाँकी छन्। विसं. २०२३ तिर राजा महेन्द्रको पालामा मन्दिरको जीर्णोद्वार गर्दा कतिपय हातहतियार झिकिएका थिए। अहिले मन्दिरमा २२ वटा खुँडा र अन्य हतियार छन्।
कीर्तिपुरमा गोर्खालीले विसं. १८१४ मा गरेको पहिलो युद्धमा पृथ्वीनारायणका काजी अर्थात् प्रधानमन्त्री कालु पाँडे मारिएका थिए। मन्दिरमा पाँडेको ढाल र हेलमेट पनि राखिएका छन्।