सरकार-सात दल संवाद
प्रधानमन्त्री सुशीला कार्कीका अनुसार सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनाव गराउन तयार रहेको बताएकी छन्। उनले चुनाव गराउन सरकार कटिबद्ध रहेको पनि जनाइन्।
सात राजनीतिक दल र सरकारबीच बालुवाटारमा मंगलबार भएको संवादका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्। ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएकाले पनि ढिलाइ भएको जनाइन्। उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।’
प्रधानमन्त्री कार्कीका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा रुचाइएको थिएन। राष्ट्रपतिको पहलबाटै संवादको ढोका खुलेको उनले जनाइन्। ‘सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन। राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय
उनले जसरी हुन्छ स्थिति सामान्य बनाउँदै चुनावमा जान दलहरुसँग आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ। यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’
कार्कीले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको पनि जनाएकी छन्। सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको र सबै दल आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुट्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद भएको छ।
दलबीच घनीभूत छलफल भयो : प्रधानमन्त्रीका मुख्य सल्लाहकार खनाल
बैठकपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले आ-आफ्ना तर्फबाट सबैले खुलेर कुरा राखेको जनाए। सबैका चासो व्यक्त भएको र मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको खनालको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ।’
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज (मंगलबार) विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात दलका नेताहरुसँग छलफल गरेकी हुन्। बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी थिए।
संवादमा को-को भए सहभागी?
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।
त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए।
यो पनि…
प्रधानमन्त्री कार्की भन्छिन्- हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ