४ कार्तिक २०८२
अ+
अ-

म्याग्दी। बेनी नगरपालिका ७, मंगलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब दुई लाख रुपैयाँको झिनिया बेचे।

मंगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ। हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ। “तिहारका लागि झिनियाको माग बढेकाले भ्याइनभ्याइ भएको हो,” हरिकुमारले भने, “तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ।”

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ। तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताइन्।

“पोखराबाट दुई लाख रुपैयाँको झिनियाको माग आएको थियो,” उनले भनिन्, “राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्‍याउन सकिएन। बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्‍याएकी छु।” दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए। चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ।

झिनिया घिउ, तेलमा तारेर खानयोग्य हुन्छ। प्रति १२ वटा झिनियालाई १५० रुपैयाँका दरले बिक्री हुने गरेको छ। चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ। झिनियालाई खाजाको परिकारका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

घरमा बनाउन झन्झट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए। बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले दुई लाख रुपैयाँदेखि तीन लाखको झिनिया बिक्री गर्छन्।

सदरमुकाम बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ। झिनिया बनाउन तीनजना जनशक्ति आवश्यक पर्छ। एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनिया बनाउन सक्छन्।

घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।