काठमाडौँ। माथागढी गाउँपालिका-४ पाल्पाका वृद्ध दम्पतीलाई सोमबार राति आक्रमण भएको छ। राति १२ बजे भएको आक्रमणमा ७६ वर्षीया फूलमाया जिसीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार उनका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी गम्भीर घाइते छन्। उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।
पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार घटनामा संलग्न माथागढी गाउँपालिका-४ पाल्पाका ३७ वर्षीय मीनबहादुर विश्वकर्मालाई मंगलबार बिहान राति ३ बजे प्रहरीले घरैबाट पक्राउ गरिसकेको छ। प्रारम्भिक अनुसन्धानअनुसार विश्वकर्मा सोमबार राति तास खेल्न एउटा घरमा पुगेका थिए। प्रहरी तथा स्थानीय जनप्रतिनिधिका अनुसार तास खेल्न उनीसँग पैसा थिएन। खेल्न बसेकै एक जनासँग नौ हजार रुपैयाँ सापटी मागे।
“तीन पत्तीवाला तास खेल्दा उनले सापटी लिएको नौ हजार सबै हारे,” चौधरी भन्छन्, “हारेपछि उनले दुई बोतल बियर पिए।”
मदिरा सेवन गरेपछि उनले ती वृद्ध दम्पतीलाई सम्झे। उनी कहिलेकाहीँ ती दम्पतीसँग सर-सापटी पैसा लिन्थे, खेतीपातीको काम गरेर चुक्ता गर्थे। वडाध्यक्ष शंकर दर्लामी थापाका अनुसार ती दम्पतीले चार दिनअघि मात्रै वृद्धभत्ता थापेका थिए।
विश्वकर्मा वृद्धवृद्धासँग पैसा मागेर तास खेल्ने योजनामा उनीहरूको घर दौडिए। घर पुगेर प्रेमबहादुरसँग पैसा मागे। “प्रेमबहादुरले पैसा छैन, बैंकमा राखेको छ भनेछन्,” थापा भन्छन्, “राति भयो, घर नजाऊ यतै सुत भनेर प्रेमबहादुरले ओछ्यानसमेत बाहिर निकालिदिएका थिए।”
प्रेमबहादुरले ओछ्यान ठिक पार्दा नशामा रहेका विश्वकर्माले कुटपिट सुरु गरे। प्रेमबहादुरलाई लछारपछार पारेर आँगनमा कुटपिट गरे।
थापाका अनुसार श्रीमती फूलमाया श्रीमान्लाई जोगाउन आँगनमा निस्किइन्। विश्वकर्माले फूलमायालाई समेत कुटपिट गर्न थाले। “श्रीमान्माथि कुटपिट जारी राखेपछि फूलमाया गुहार माग्दै छिमेकतर्फ दौडिइन्,” वडाध्यक्ष थापा भन्छन्, “विश्वकर्माले श्रीमतीलाई पछ्याए।”
घरमा रहेको हँसिया बोकेर विश्वकर्माले फूलमायालाई पछ्याएका थिए। “भेटेपछि उनले टाउकोमा हँसिया प्रहार गरे,” थापा भन्छन्, “बारीको कान्लाबाट तल झारेर कुटपिट गरी हत्या गरेछन्,” थापा भन्छन्।
फूलमायाको प्राण गएपछि विश्वकर्मा आफ्नो घर लागे। यता गाउँलेले घटनाबारे वडाध्यक्ष थापालाई फोन गरेर जानकारी दिए। “राति नै मैले प्रहरीलाई फोन गरेको थिएँ, प्रहरी पुग्दा प्रेमबहादुर आँगनमा छटपटाइरहेका रहेछन्, कान्लामा श्रीमतीको शव भेटेछन्।”
थापाका अनुसार फूलमायाको शव भेटिएको ठाउँमा विश्वकर्माले टोपी र चप्पल छोडेको भेटिएको छ। घटनास्थलबाट विश्वकर्माको घर पैदल हिँड्दा आधी घण्टा टाढा पर्छ। थापाका अनुसार वृद्धवृद्धाका एक छोरी छन्। छोरी बिहे भएर आफ्नो घरमा छिन्।
डीएसपी चौधरीका अनुसार खाली खुट्टा घर पुगेका उनी झोलामा कपडा प्याक गरी भाग्ने सुरसारमा थिए। “तुरुन्तै पक्राउ गरेर ल्यायौँ, उनले आफूले गराएको घटनाबारे सबै कुरा बताएका छन्,” चौधरी भन्छन्।
विश्वकर्मालाई हिरासतमा राखेर कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।