काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

‘अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो’

५ कार्तिक २०८२
अ+
अ-

महोत्तरी। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताएका छन्। उनले राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको धारणा राखे।

महोत्तरीको रामगोपालपुरमा तिहारका अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु,” उनले भने, “तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”

उनले पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पारे। देशमा परिवर्तित समयमा मधेसमा जेनजी युवासहितको सहभागितमा आयोजित कार्यक्रम भव्य भएको र पार्टी प्रवेशले उत्साहित गराएको बताए।

“अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेनजीका माग पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ,” उनको दाबी छ।

संयोजक दाहालले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए। “यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।”

सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेसी जनताको विकासका विषयमा ठोस काम गरेको उनले दाबी गरे। “भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्,” उनले भने।

उनले आत्मालोचना गर्दै भने,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।”

संयोजक दाहालले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गरे। उनले भने, “चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।” उनले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गरे। “मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ- संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेनजी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली,” उनले भने।

संयोजक दाहालले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी पनि गराए। उनले भने,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।”

उनले २०७४ सालको दुईतिहाइको जनमत वामपन्थी एकताको उदाहरण पनि दिए। “त्यतिबेला नेतृत्व केपी ओलीजस्ता प्रवृत्तिको हातमा परेकाले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ,” उनले दाबी गरे।