काठमाडौं। नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले विपिन जोशीको टाउकोमै गोली प्रहार भएको देखिएको बताएका छन्।
गाजामा हमासको नियन्त्रणमा मृत्यु भएका नेपाली विद्यार्थी विपिनको ‘टाउकोमा गोली प्रहार भएको सङ्केत विधिविज्ञान परीक्षणले गरेको’ उनले दाबी गरे। हमासले विपिनको हत्या नै गरेको इजरायली पक्षको दाबी छ।
विपिनको भुजेलाघाटमा अन्तिम संस्कारपछि मंगलबार उनको परिवारलाई भेट्न राजदूत बास मालिकार्जुनस्थित निवास पुगेका थिए। ‘केही साताअघिसम्म विपिन जिउँदै छन् भन्ने लागेको थियो। तर पछि आएर हमासले नियन्त्रणमा रहेकै बेला उनको हत्या गरेको हुन सक्ने देखियो। विधिविज्ञान परीक्षणको प्रतिवेदनबाट पनि विपिनको टाउकोमा गोली प्रहार भएको थाहा पाएका छौँ,’ राजदूत बासको भनाइ छ।
विपिनको हत्या भएको वा गाजामा युद्ध चर्किँदा अन्य कारणले मृत्यु भएको हो भन्ने कुराको स्वतन्त्रतापूर्वक पुष्टि हुन बाँकी छ। डीएनए तथा विधिविज्ञान परीक्षण गरेपछि इजरायलले विपिनको शव सोमबार नेपाल ल्याएर बुझाएको थियो।
दाहसंस्कारमा सहभागी व्यक्तिहरूका अनुसार शवपेटिकामा विपिन जोशीको सग्लो शरीर नभई अस्थिपञ्जर मात्र आएको थियो।