काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फिल्म समीक्षा

शिखरको यात्रामा हिँडेको फिल्म आधार शिविरमै अलमल

५ कार्तिक २०८२
जेरी अन टपको दृश्य। तस्बिरहरू : चलचित्रको ट्रेलरबाट
अ+
अ-

निर्देशक : सुयोग गुरुङ
कथा : हेमराज बिसी
पटकथा : विश्वास तिम्सिना
छायाङ्कन : दुलिप रेग्मी
सम्पादन : निमेष श्रेष्ठ
कलाकार : अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्नेबुढा), उषा खड्गी, सुरक्षा पन्त र संगीता थापा मगर।

कथा/पटकथा (अंक : २.५)

अर्बपति व्यवसायी विजयप्रताप राणा (भुवन) का छोरा जेरी (अनमोल) बुवासँग कार रेस, स्नुकर, भिडियो गेमलगायत हरेक खेलमा हार्छन्। हारबाट आजित जेरीले एकदिन थाहा पाउँछ, बुवा सगरमाथा आरोहण गर्न नसकी आधार शिविरबाटै फर्केका थिए। त्यही क्षण उसले सगरमाथा आरोहण गरेर बुवाभन्दा आफूलाई अब्बल साबित गर्ने निर्णय लिन्छन्। तर शारीरिक तथा मानसिक रूपमा योग्य नहुँदै सनककै भरमा सगरमाथा चढ्ने निर्णयमा बुवाजस्तै ऊ पनि चुक्छ। तर आफ्नो असफलता लुकाउन फोटोसपमार्फत आरोहण गरेको भ्रम छर्ने प्रयास गर्छ।

उसको झुट लामो समय टिक्दैन। यसले उसको र उसको परिवारकै बदनाम हुन्छ। परिवारमा नसोचेको ठूलो संकट आउँछ। बदनामी र संकटबाट पार पाउन जेरीसँग एक मात्र विकल्प बाँकी हुन्छ– जुनसुकै मूल्यमा सगरमाथा आरोहण गर्ने।

जेरीले सगरमाथा चढ्नैपर्ने कारण के हो? ऊ चुचुरोमा पुग्न सक्ला त? जेरी अन टपको मूल कथा यही हो। यही कथामा जेरी, श्रेया (आँचल) र पेमा (जसिता) बीचको त्रिकोणात्मक प्रेम पनि बुनिएको छ।

बाल्यकालदेखिका साथी जेरी र श्रेया बिहे गर्ने निर्णयमा पुगिसकेका जोडी हुन्। तर सगरमाथा आरोहणका क्रममा गाइड पेमालाई भेटेपछि जेरी बहकिन थाल्छ। पेमा पनि जेरीप्रति आकर्षित हुन्छिन्। प्रेम र आरोहणको यात्रा सँगसँगै अघि बढ्दै जाँदा फिल्मका मुख्य पात्र र सहायक पात्रहरूको जीवनमा चाहिँ अनेक अवरोह आउँछ। यो आरोहण र अवरोहको बिसौनी थाहा पाउन फिल्म नै हेर्नुपर्छ।

आरोहणको कथाबाहेक बुवा छोराबीचको द्वन्द्व र प्रेमकथाको प्रस्तुति, पुरानै सूत्र हुन्। केही ट्विस्ट एन्ड टर्नका बावजुद कथाको अन्त्य सहजै अनुमान लगाउन सक्ने खालको हुनु फिल्मको कमजोरी हो।

फिल्मको राम्रो पक्ष भनेको यसमा प्रयोग भएको बोलिचालीको भाषा हो। जेरी र श्रेयाले एकअर्कालाई तँ सम्बोधन गर्नु र पेमा र जेरीबीचको संवादमा ‘तिमी’ आउनु दुवै स्वाभाविक सुनिन्छन्। तर केही दृश्यमा प्रयोग भएको लामालामा पट्यारलाग्दा संवादले भने बेला बेला हैरान पार्छ। जस्तो, हिमपहिरोमा परेपछि जेरी र पेमाबीचको संवादले दर्शकलाई अनुभूत गराउनु साटो झिँझो लगाउँछ।

यस्तै बुवा छोराबीचको द्वन्द्वात्मक सम्बन्ध र जेरीले सगरमाथा चढ्नैपर्ने कारण बलियो रूपमा स्थापित भएको भए कथा अझ रोचक हुन सक्थ्यो। तर यी दुवै पक्ष कमजोर छन्।

अभिनय (अंकः २.५)
निर्माता/निर्देशकहरूले मेगास्टारको ट्याग लगाइदिए पनि अनमोलको अभिनय क्षमतामाथि प्रश्न उठ्न कहिल्यै छोडेन। यस फिल्ममा भने उनले सुधारको छनक दिएका छन्। तर यो फिल्ममा पनि उनलाई कलाकारभन्दा ‘हिरो’कै रूपमा प्रस्तुत गरिएको छ। जसिताको चरित्र स्थापना र अभिनय दुवै प्रशंसनीय छ। गाइड र प्रेमिका दुवै पाटोबाट उनले मन जितेकी छिन्। भावनात्मक रूपमा दर्शक अनमोलसँगभन्दा बढी जसितासँग नै कनेक्ट हुन्छन्। आँचलको काम पनि उनका अन्य फिल्मको तुलनामा सुधारिएको छ। तीन मुख्य पात्रकै भूमिकाबीच सन्तुलन हुनु फिल्मको सकारात्मक पक्ष हो।

तर अनमोलका मामा बनेका केदारको चरित्रमा भने एक थोपा नयाँपन छैन। जबर्जस्ती दर्शक हसाउन खोज्ने ‘सस्तो कमेडी’ नभएको भए यो फिल्म अझ राम्रो हुने थियो। अनमोलका बुवा बनेका भुवनको चरित्र र अभिनय दुवै औसत मात्र छ। अनमोलकी आमा बनेकी उषा र जेरीकी आमाको भूमिकामा देखिएकी संगीता आफ्नो भूमिकामा सुहाएका छन्। छोटै भए पनि पर्दामा सुरक्षाको उपस्थिति दर्शकका लागि सर्प्राइज हुन सक्छ।

प्राविधिक पक्ष (अंकः २.५)
जेरी अन टपमा आउने सुन्दर दृश्यहरू आकर्षक र प्रभावकारी लाग्छन्। हिमाली भेगको चित्रणबाहेक कलाकारहरूको भावनात्मक मुड र सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाउन पनि छायाकार सचेत देखिन्छन्। तथापि, हिमाल आरोहणको रोमाञ्चकताको उत्कर्ष आएको छैन। न त जेरी र उनको समूहको मानसिक संघर्षको उतारचढाव नै प्रभावकारी रूपमा आएको छ।

फिल्मको साउन्ड डिजाइन र पृष्ठभूमि संगीतमा पनि कथा र पात्रको भावनात्मक मुडलाई ध्यान दिन खोजिएको छ, तर त्यो ठिकठाक मात्र छ। भीएफएक्समार्फत देखाइने हिमपहिरोले बेलाबखत आँखा बिझाउँछ।

फिल्म झन्डै तीन घण्टा लामो छ। कथाले मागेर होइन, सम्पादन नपुगेर। फिल्ममा भएका कस्तुरी, औँठी चिनो, कुराउनी बोलका गीत सुन्दा ठिकै लाग्ला, कथामा भने यी गीतले कुनै योगदान दिँदैन। न त फिल्ममा राखिएको एक्सन नै आवश्यक थियो।

निर्देशन (अंकः २.५)
सगरमाथा आरोहणको विषयमा बलिउडदेखि हलिउडसम्मले चलचित्र/वृत्तचित्र बनाएका छन्। तर नेपालकै व्यावसायिक सिनेमामा यो विषय नयाँ हो। जेरी अन टपले यस अर्थमा नयाँ कथा भनेको छ। यसको श्रेय निर्देशक सुयोगलाई दिनैपर्छ। यसअघिको फर्की फर्कीमा पनि उनले नयाँ शैलीमा कथा भन्ने प्रयास गरेका थिए।

हिमाली जनजीवन र पर्वतारोहीका दुःख सुखलाई आंशिक रूपमा भए पनि देखाउनु अर्को सकारात्मक पाटो हो। तर फिल्ममा सगरमाथा आरोहणको कथामा चाहिने साहसिक– रोमाञ्चक कथानक र ‘थ्रिल’ गराउने दृश्य चित्रण अपुग महसुस हुन्छ।

त्यसैले जेरी अन टप एड्भेन्चर विधाको फिल्म नभई पात्रहरूको आत्मीय सम्बन्धको ‘ड्रामा’ बढी लाग्छ। सगरमाथाको टुप्पोमा पुग्न हिँडेका पात्रहरू आधार शिविरआसपास अल्झिएझैँ कथा पनि त्यहीँनेर अलमलिएको छ। स्पष्ट कथा र चुस्त पटकथाको अभावका कारण हुने यो अलमलको भागीदार पनि निर्देशक नै हुन्।