५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। च्याटजीपीटी निर्माता ओपनएआईले मंगलबार आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’ सार्वजनिक गरेको छ।

विश्लेषकहरूले एटलसलाई गुगल क्रोमको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रूपमा हेरेका छन्। कम्पनीका सीईओ सेम अल्टम्यानका अनुसार, एटलसले परम्परागत ब्राउजरको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ।

यस ब्राउजरमा एड्रेस बारको सट्टा च्याटजीपीटी इन्टरफेस प्रयोग गरिएको छ, जसमार्फत प्रयोगकर्ताले सिधै संवादात्मक शैलीमा वेब सर्च, वेबपेज खोल्ने र सामग्री संक्षेप गर्ने सुविधा पाउनेछन्।

हालको संस्करण एप्पलको म्याक–ओएसका लागि मात्र उपलब्ध छ, र प्रयोगकर्ताले आफ्नो च्याटजीपीटी खातामार्फत लगइन गर्न सक्नेछन्।

ओपनएआईका अनुसार एटलसमा ‘एजेन्ट मोड’ नामक पेड फिचर पनि हुनेछ, जसले प्रयोगकर्ताको निर्देशनअनुसार स्वतः इन्टरनेट खोजी गरी सम्बन्धित जानकारी संकलन गर्ने र त्यसको सारांश प्रस्तुत गर्नेछ।