५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राहादानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवारी कार्य अनुचित भएको बताएको छ।

मंगलबार साँझ सरकारसँग भएको संवादमा आफूहरूले उक्त निर्णय फिर्ता लिन सरकारसँग अनुरोध गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पोखरेलले पर्‍याप्त प्रमाण विन चालिएको कदम फिर्ता लिन अनुरोध गरिएको बताए।

‘२३ गतेको घटनामा भएको बल प्रयोग र मानवीय क्षति गम्भीर चिन्ताको विषय हो। नेपाल प्रहरीले भिड व्यवस्थापनको अभ्यासभन्दा बाहिर ठुलो मात्रामा मानवीय क्षति भएको देखिन्छ।

के कति कारणले त्यस्तो हुनुपुग्यो भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक छ।तत्कालीन सरकारले यस विषयमा गम्भीर चासो देखाउँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो‚’ उनले लेखेका छन्‚ ‘तर, पर्याप्त प्रमाण विना नै वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।’

साथै २३ र २४ गतेको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन भएकोमा पनि एमालेले आपत्ति जनाउँदै त्यसलाई खारेज गर्नुपर्ने विषय उठाएको पोखरेलले जानकारी दिए। एमालेले कार्की नेतृत्वको आयोग खारेज गरेर विश्वासयोग्य व्यक्तिको नेतृत्वमा नयाँ आयोग गठन गर्नुपर्ने माग गरेको पनि उनले बताए।

‘वर्तमान सरकारले गठन गरेको “कार्की आयोग” स्वतन्त्र र निष्पक्ष छानबिन गर्नसक्ने अवस्थामा छैन। आयोगका प्रमुख नै आन्दोलनलाई उक्साउने कार्यमा संलग्न रहेको प्रमाण सार्वजनिक भइसकेको छ। त्यसैले, वर्तमान आयोग खारेज गरी निष्पक्षता र विश्वासयोग्यता कायम गर्न सक्ने व्यक्तिहरूको सहभागितामा नयाँ आयोग गठन गर्न आवश्यक छ‚’ सञ्जालमा उनले लेखेका छन्।