काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ।अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन डटकम इन्कले आगामी वर्षहरूमा संयुक्त राज्य अमेरिकाभित्रका पाँच लाखभन्दा बढी रोजगारीलाई रोबोटले प्रतिस्थापन गर्ने योजना बनाएको छ। अमेरिकी अखबार न्यूयोर्क टाइम्सले अमेजनका आन्तरिक रणनीति कागजात र कार्यकारीहरूसँगको अन्तर्वार्तालाई उद्धृत गर्दै समाचार प्रकाशित गर्दै कम्पनीको योजना सार्वजनिक गरेको हो।

अमेजनको लक्ष्य सन् २०२७ सम्ममा झन्डै ६ लाख रोजगारी प्रतिस्थापन वा घटाउने योजना छ। कम्पनीले यसलाई “प्रविधि–केन्द्रित कार्यक्षमता सुधार”को रूपमा व्याख्या गरे पनि, आलोचकहरूले यसलाई “रोजगारी विनाशको सुरुवात” भन्दै चेतावनी दिएका छन्।

अमेरिकाको दोस्रो सबैभन्दा ठूला रोजगारदातामध्ये रहेको अमेजन अहिले आफ्नो कार्यस्थल प्रणालीको अर्को ठूलो रूपान्तरणको मोडमा पुगेको बताइएको छ।

अमेजनको अमेरिकी जनशक्ति सन् २०१८ यता तीन गुणा बढेर १२ लाख पुगेको छ। तर कम्पनीको अटोमेशन टिमका अनुसार, अमेजनले २०२७ सम्ममा कम्तीमा १ लाख ६० हजार नयाँ कर्मचारी भर्ना गर्नुपर्ने अवस्थाबाट जोगिनेछ, जसले कम्पनीलाई प्रत्येक सामानको प्याकिङ, पिकिङ र डेलिभरीमा ३० सेन्ट अमेरिकी डलरसम्मको लागत बचत गर्न सहयोग गर्नेछ। कम्पनीले

गत वर्ष कम्पनीका कार्यकारीहरूले अमेजनको बोर्डलाई जानकारी दिँदै रोबोटिक अटोमेशनका कारण कम्पनीले अमेरिकी कार्यबल नबढाई पनि २०३३ सम्ममा दोब्बर सामान बेच्न सक्ने लक्ष्य राखेको अमेजनको लक्ष्य रहेको बताएका थिए।

अमेजन अहिले मानव श्रम न्यून हुने गोदामहरू बनाउने प्रयासमा छ। न्यूयोर्क टाइम्सले प्रकाशन गरेका आन्तरिक कागजातहरूले कम्पनीको रोबोटिक्स टिमको अन्तिम लक्ष्य ७५ प्रतिशत सञ्चालन पूर्ण रूपमा अटोमेट गर्ने उद्देश्य देखाएको छ। तर ती आन्तरिक कागजातहरूमा “अटोमेशन” वा “आर्टिफिसियल इन्टेलिजेन्स” जस्ता शब्द प्रयोग गरिएको छैन- त्यसको सट्टा “एडभान्स टेक्नोलोजी” वा “कोबोट” (मानवसँग सहकार्य गर्ने रोबोट) भन्ने शब्दहरू प्रयोग गरिएका छन्।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अर्थशास्त्री र नोबेल पुरस्कार विजेता ड्यारोन असेमोग्लू का अनुसार, “अमेजनसँग जति अटोमेशनको आवश्यकता र प्रोत्साहन अरू कुनै कम्पनीसँग छैन। यदि यो योजना सफल भयो भने अमेजन अमेरिकाको सबैभन्दा ठूला रोजगारदातामध्ये एक रोजगारी सृजक होइन, रोजगारी विनाशक बन्नेछ।”

अमेजनले भने न्यूयोर्क टाइम्स ले उद्धृत गरेका कागजातहरू ‘अपूर्ण’ भएको दाबी गर्दै, ती कम्पनीको समग्र कर्मचारी भर्ना रणनीतिलाई प्रतिनिधित्व नगर्ने जनाएको छ।

कम्पनीकी प्रवक्ता केली नान्टेलका अनुसार, अमेजनले आउँदो चाडपर्व सिजनका लागि २ लाख ५० हजार नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको छ।

गोदामहरूमा मानव श्रम घटाउने योजनासँगै, अमेजनले पछिल्ला महिनाहरूमा कार्यालयका विभिन्न विभागमा पनि कर्मचारी कटौती गरेको छ।

अमेजनका सीईओ एन्डी ज्यासी ले सार्वजनिक रूपमा भनेका छन्, “अमेजनले थप एआई एजेन्ट र अटोमेशन प्रयोग गरेसँगै, अहिलेका केही कामहरूमा कम मानिसको आवश्यकता पर्छ। यसले हाम्रो कर्पोरेट कार्यबल घटाउनेछ, तर दक्षता बढाउनेछ।”

सन् २०२५ का लागि कम्पनीले आधिकारिक रूपमा कुल कर्मचारी कटौती संख्या घोषणा नगरे पनि २०२२ यता करिब २७ हजार कर्मचारी घटाइसकेको बताइएको छ।