काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

जलेश्वर। तिहार पर्वको समापनसँगै आजदेखि तराई-मधेससहित देशकै प्रमुख चाडका रुपमा मनाइने छठ पर्वको तयारी सुरु भएको छ।

मिथिलाको प्रमुख पर्वका रुपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउमा तयारी सुरु भएको संस्कृतिविद् ध्रुव रायले जानकारी दिए। सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका ८ का वडाध्यक्ष विजयकुमार सिंहले बताए।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ। मिथिलावासी यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए।

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका ८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्न पानीमै तैरिने बाँसको बाटो बनाइँदै छ। पाँच सय मिटरसम्म गुफाबाला पन्डाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समिति संयोजक केशव झाले जानकारी दिए।

जलेश्वर नगरपालिका १ स्थित वरुण सरोवरमा पनि छठका लागि चारैतिर ठूला-ठूला पन्डाल, रंगीचंगी साजसज्जा भइरहेको वडाध्यक्ष अनिल झाले बताए।

यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले जानकारी दिए।