काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।
उनले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
“सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रस्ट पार्दछु,” मन्त्री घिसिङले भनेका छन्, “मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।”