६ कार्तिक २०८२
भाइटीकाका दिन आज पश्चिम नेपाल मधेशी समुदायका महिला एकै घरमा जम्मा भई यम द्वितीय अर्थात भैया दुईजमा भुर्की पूजा गर्दै। तस्बिर:राकेश कुमार /रासस
अ+
अ-

बाँके। पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउँदै छन्।

आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताए।

घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाई पूजा गरिन्छ। गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पूजन गर्दछन्। पूजाको क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी सुनाउने गरिएको छ।

भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुखशान्ति, उन्नति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए।

आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ।