काठमाडौं। मापदण्डविपरीत औषधी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले फार्मेसीबाट औषधी बरामद गरेको छ।
प्रहरीले काठमाडौं महानगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीबाट औषधी बरामद गरेको हो। उक्त फार्मेसी संखुवासभा खाँदबारी नगरपालिका-८ का प्रकाश गौतमले सञ्चालन गर्दै आएका थिए।
बुधबार दिउँसो प्रहरी टोली उक्त फार्मेसीमा पुगेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त फार्मेसीमा चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधीहरू अनियमित रूपमा वितरण भइरहेको पत्ता लागेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
औषधी व्यवस्था विभागसँगको समन्वयमा गरिएको निरीक्षणका क्रममा चिकित्सकको अनुमतिबिना बिक्री गरिएका विभिन्न ब्रान्डका औषधीहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद औषधीहरूमा स्पास्पेन ३८५ ट्याबलेट, एन्टीकोफ ७५० ट्याबलेट प्रेगाबलिन १०० ट्याबलेट, प्रेगाबलिन क्याप्सुल आइपी २०० क्याप्सुल र प्रेगामर-७५ १०० क्याप्सुल छन्।
प्रहरीले ती सबै औषधी बरामद गरी आवश्यक कानुनी कारबाहीका औषधी व्यवस्था विभागलाई पठाएको छ।