क्रिकेट
एक समय थियो, नेपालसँग पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरजस्तो सन्तुलित मिडल–अर्डर थियो। उनीहरू टिमलाई दबाबबाट निकाल्दै खेल जिताउने सामर्थ्य राख्थे। त्यो चमक अहिले मिडल–अर्डरमा देखिँदैन।
पछिल्लो समय नेपाली क्रिकेट उत्कर्षमा छ। केही वर्षअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै रुमलिएको यो टोली पछिल्ला दुई वर्षयता विश्वकप र एसिया कपमा भारत, पाकिस्तान र दक्षिण अफ्रिकाजस्ता अब्बल टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।
सन्दीप लामिछानेको स्पिन जादु, कुशल भुर्तेल र आसिफ शेखको बिस्फोटक प्रारम्भिक जोडी र कप्तान रोहितकुमार पौडेलको स्थिर नेतृत्वले नेपाललाई विश्व क्रिकेटमा नयाँ परिचय दिलाएको छ। तर, एउटा समस्याले टिमलाई लगातार पछ्याइरहेको छ– मिडल अर्डर (मध्यक्रम) को अस्थिरता।
अहिले नेपाली टोलीको सुरुआत बलियो देखिने गरेको छ। तर, जब निर्णायक क्षण आउँछ, ब्याटिङ–लाइन कमजोर देखिन थाल्छ। यही कारण धेरै पटक जितको नजिक पुगेर पनि नेपालले दुःखदायी क्षण भोगेको छ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा टेस्ट टोली वेस्ट इन्डिजलाई ऐतिहासिक टी–२० शृंखलामा २–१ ले पराजित गर्यो। लगत्तै ओमानमा भएको आईसीसी टी-२० विश्वकप एसिया छनोट २०२५ मा पनि अपराजित रहँदै अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो।
तर, यी दुई प्रतियोगितामा गरेको प्रदर्शनको विश्लेषण गर्दा मिडल–अर्डरको कमजोरी स्पष्ट देखिन्छ। उपाधि जित्न ओमानविरूद्धको निर्णायक खेलमा दीपेन्द्रसिंह ऐरी दुई, कुशल मल्ल सात र मोहम्मद आदिल अन्सारी १६ रनमा आउट भए। सामोआबाहेक अन्य खेलमा यी ब्याट्सम्यानले आक्कलझुक्कल राम्रो प्रदर्शन गरे।
वेस्ट इन्डिजविरूद्ध घरेलु सिरिजमा पनि उस्तै अवस्था देखियो। दोस्रो खेलमा तेस्रो नम्बरका रोहितकुमार पौडेल र कुशल मल्ले ५८ रनको साझेदारी गरेपछि नेपालले एक सय ४९ रनको लक्ष्य दिन सफल भयो।
पूर्वक्रिकेटर दीपेन्द्र चौधरी भन्छन्, “नेपालको टप–अर्डर अहिले एसियाको स्थिरमध्ये एक हो, तर मिडल–अर्डरमा आत्मविश्वास र भूमिका स्पष्ट छैन।”
वाट्मोरले सुधारे टप–अर्डर
हालको टोलीमा मल्ल र सन्दीप जोराजस्ता युवा खेलाडीमाथि टिमले विश्वास देखाएको छ। यी दुई क्षमतावान् ब्याटर हुन्। तर, उनीहरूको प्रदर्शनमा स्थिरता देखिँदैन। मल्लले अवसर पाएका छन्, तर ठूलो इनिङ्स खेल्न सकेका छैनन्। उनले पछिल्ला आठ टी–२० खेलमा ३३ रन मात्र बनाउन सके।

नेपाली टोलीका पूर्व प्रशिक्षक डेभ वाट्मोर। तस्बिर : क्यान
जोराले वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा करिअरकै उत्कृष्ट ६३ रन बनाएयता अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन्।
नेपालको टप–अर्डर अहिले स्थिर छ। सन् २०२१ मा घरेलु मैदानमा भएको नेदरल्यान्ड्ससँगको टी–२० शृंखलामा डेब्यू गरेका भुर्तेलले ६८ इनिङ्समा एक शतक र १३ अर्धशतकसहित १८ सय सात रन बनाएका छन्। उनी ऐरीपछि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। त्यस्तै सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी पनि उनै हुन्। उनीसँगै डेब्यू गरेका अर्का ओपनर आसिफको प्रदर्शन पनि कमजोर छैन। ६७ इनिङ्स खेलेका उनले १० अर्धशतकसहित १६ सय ३९ रन बनाएका छन्। यी दुईको वरिपरि टप–अर्डरमा रोहितबाहेक अन्य कुनै ब्याटर पुग्न सकेका छैनन्। दीपेन्द्र भन्छन्, “५–६ वर्षको निरन्तर विश्वासले भुर्तेल र शेखलाई आफ्नो खेल बुझ्न र जिम्मेवारी बहन गर्न सक्षम बनाएको छ। तर, मिडल– अर्डरमा त्यस्तो स्थिति छैन।”
पहिला मिडिल–अर्डरमा प्रयोग भएका गुलशन झाको अहिले जिम्मेवारी फेरिएको छ। उनी फिनिशरको भूमिकामा छन्। उनको स्थानमा मल्ल र ऐरी छन्। मुख्य प्रशिक्षक स्टुअर्ट लले यी दुईलाई नम्बर ४ र ५ मा निरन्तरता दिइरहेका छन्। टी–२० मा आदिल आलम र जोराजस्ता खेलाडीलाई पनि परीक्षण गरिरहेका छन्। लगातारको परिवर्तनका बीच खेलाडीले आफ्नो भूमिका र स्थानलाई न्याय दिन सकेका छैनन्।

दीपेन्द्रसिंह ऐरी। तस्बिर : क्यान
एक समय थियो, नेपालसँग पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरजस्तो सन्तुलित मिडल–अर्डर थियो। उनीहरू जुनसुकै बेला दबाबबाट टिमलाई बाहिर निकाल्दै खेल जिताउने सामर्थ्य राख्थे । तर, त्यो चमक अहिले मिडल–अर्डरमा देखिँदैन। युवा पुस्ताले त्यो खाली ठाउँ पूर्ति गर्न खोजिरहेका छन्, तर अनुभव, धैर्य र रणनीतिक समझको कमीका कारण स्थिरता ल्याउन सकेका छैनन्। कप्तान पौडेल स्विकार्छन्, “हामी अझै ब्याटिङ लाइन स्थिर बनाउने प्रयासमा छौं।”
क्रिकेटमा मिडल–अर्डरको महत्त्व प्रायः खेलको भविष्य र टिमको सफलता दुवैसँग जोडिएको हुन्छ। टप–अर्डरले उत्कृष्ट सुरुआत गरेमा मिडल–अर्डरको जिम्मेवारी रनको रफ्तार बढाएर स्कोरलाई ठूलो बनाउने हुन्छ। तर, टप–अर्डरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा र प्रारम्भिक विकेट गुमाउँदा मिडल–अर्डरले खेललाई स्थिर बनाउनुपर्ने हुन्छ। यो रन बनाउने मात्र होइन, बलिङको दबाब र परिस्थितिको अनुकूलताअनुसार ‘स्ट्राइक रोटेट’ गर्ने, खेलको गति नियन्त्रण गर्ने र टिमलाई संकटबाट निकाल्नुपर्ने हुन्छ। विशेषगरी टी–२० जस्तो छोटो फर्म्याट र एकदिवसीय खेलमा मिडल–अर्डरको फिनिसिङ क्षमता निर्णायक मानिन्छ। अन्तिम ओभरमा उनीहरूले ‘पावर हिटिङ’ गरेर टिमलाई उच्च स्कोरमा पुर्याउने र प्रतिद्वन्द्वीलाई चुनौती दिने क्षमता प्रदर्शन गर्नुपर्छ।
मिडल–अर्डरले प्रायः मानसिक दबाब सहनुपर्छ। किनभने खेलको महत्त्वपूर्ण समय यही चरणमा आउँछ। टप–अर्डरले विकेट गुमाएपछि वा विपक्षी बलिङ टोलीले आक्रमण बढाएपछि मिडल–अर्डर ब्याटरले धैर्य, रणनीति र परिस्थितिको ज्ञान प्रदर्शन गर्नुपर्छ। उनीहरूले रनको गति बढाउने, विकेट सुरक्षित राख्ने र आवश्यक पर्दा बलको प्रयोगलाई समायोजन गर्ने काम गर्नुपर्छ। यसले खेलको लय बदल्न सक्ने र टिमको मनोबल उच्च राख्न सक्ने शक्ति दिन्छ।
नेपाल क्रिकेट टिमको सन्दर्भमा मिडल–अर्डरको भूमिका अझ संवेदनशील देखिन्छ। टप– अर्डरले राम्रो सुरुआत गरे पनि मिडल–अर्डरमा निरन्तरता र अनुभवको कमीले अपेक्षित गति पाएको देखिँदैन। प्रायः निर्णायक क्षणमा कमजोरी प्रकट हुन्छ, जसले टिमलाई खेल जित्नबाट रोकिरहेको छ। मिडल–अर्डरमा अनुभवी र रणनीतिक दृष्टि भएको ब्याटरको कमीले दबाबको समयमा गलत निर्णय गराउन सक्छ, रन बनाउने गति घटाउन सक्छ र अन्तिम ओभरमा टिमलाई दबाबमा राख्छ। त्यसैले नेपाल क्रिकेटले मिडल–अर्डरलाई बलियो बनाउन स्थायित्व ल्याउनुपर्ने रोहित बताउँछन्। भन्छन्, “कहिले कहिले परिस्थितिअनुसार ब्याटिङक्रम बदल्नुपर्छ तर हामी स्थायित्व ल्याउने प्रयासमा छौं।”
बेन्च बलियो
ओडीआई ढाँचामा भने स्थिति अलि राम्रो छ। ५० ओभरमा आरिफ शेख, भीम सार्की र गुलशनजस्ता खेलाडीले मिडल–अर्डरलाई केही हदसम्म स्थिर बनाएका छन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ का १० इनिङ्समा आरिफले सर्वाधिक तीन शतकसहित ३८४ रन बनाएका छन्। उत्तिकै खेल खेलेका भीमले एक अर्धशतकसहित २६२ रन बनाउँदा एक खेल बढी खेलेर गुलशनले आफ्नो नाममा दुई सय ३० रन राखेका छन्।

कुशल भुर्तेल र गुल्सन झा। तस्बिर : क्यान
यी दुवै फर्म्याटमा खेल्ने प्रायः उही खेलाडी हुन्। तर, टी–२० जस्तो छोटो र निर्णय केही बलमा हुने खेलमा मिडल अर्डरले अझ तीव्र रणनीति बनाउन सक्नुपर्छ। फिनिसिङ शक्ति र आत्मविश्वास देखाउनुपर्छ। टिमले रणनीतिगत रूपमा सोच्नुपर्ने कुरा भनेको अहिलेको खेलाडीलाई विश्वासका साथ निरन्तरता दिने र ‘ब्याकअप’ तयार राख्ने हो। अहिले पनि नेपालसँग राम्रो ‘बेन्च स्ट्रेन्थ’ छ। लेफ्ट–आर्म सीमर कुशलसँगै विवेक यादव, ओपनर रूपेश सिंह, अनिल शाह, लोकेश बमजस्ता खेलाडीहरू टिममा आफ्नो स्थान बनाइराख्न तयार छन्। तर, यी खेलाडीको सदुपयोग र योजनाबद्ध अवसर सुनिश्चित हुन सकेको छैन।
नेपालले पछिल्ला दुई वर्षमा मिडल–अर्डरमा आठभन्दा बढी खेलाडी प्रयोग गरेको छ। गुलशन, दीपेन्द्र, आरिफ, कुशल, सोमपाल कामी, भीम सार्की र कहिलेकाहीँ कप्तान पौडेल स्वयं पनि। तर, कुनै पनि संयोजन लामो समय टिक्न सकेको छैन। यसले भूमिकामा अनिश्चितता ल्याएको छ। को फिनिशर हो? को एङ्कर हो? को फ्लोटर हो? यी प्रश्न अझै अस्पष्ट छन्।
पूर्वखेलाडी शरद भेषवाकर भन्छन्, “मिडिल र डेथ ओभरमा खासै ब्याटिङ चलेको छैन। मोन्टी देसाईंले कति ओभर बाँकी छ र को बलर छ हेरर ब्याटरलाई पठाउनुहुन्थ्यो। अहिले चाहिँ फिक्स पोजिसनमा खेलाइरहनु भएको छ। धेरै परिवर्तन छैन।” अहिले भुर्तेल आउट भए पनि, आसिफ आउट भए पनि तेस्रो नम्बरमा कप्तान पौडेल नै आउने गर्छन्। भुर्तेलले ‘एग्रेसिभ’ ब्याटिङ गर्छन्। तर, पौडेल सुस्त ब्याटिङ गर्छन्। यस्तो अवस्थामा भुर्तेल आउट हुँदा आसिफजस्तै खेल्ने पौडेल पठाउँदा ‘अप्रोच’ पनि कम हुने र रनरेट पनि कम हुने उनको भनाइ छ।
घरेलु लिग प्रणालीले पनि मिडल–अर्डरलाई बलियो बनाउन कुनै चासो दिएको देखिँदैन। नेपालको एक मात्रै फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) वा प्रदेश लिगजस्ता प्रतियोगितामा क्लबले आफ्ना स्टार ब्याटरलाई टप अर्डरमै पठाउँछन्, जसले गर्दा मिडल अर्डरमा खेल्ने अवसर युवाले पाउँदैनन्।
नेपाली राष्ट्रिय टोलीका पूर्वस्पिनर संजम रेग्मी टी–२० क्रिकेटलाई ‘ब्रुटल गेम’ मान्छन्। यो खेलमा कुनै पनि क्षण खेलको दिशा बदल्न सक्छ। कौशल मात्र होइन, तत्कालै निर्णय लिने क्षमता र सोच अन्य खेलाडीमा पनि हुनुपर्ने उनको भनाइ छ। टी–२० ढाँचाको सौन्दर्य नै यसको तीव्रता र निडरपना हो । “२०१८ मा ओडीआई मान्यता पाएदेखि नेपालले टी–२० ढाँचामा खेलाडी परिवर्तनमा अत्यन्तै न्यून सक्रियता देखाएको छ। लगभग सात वर्ष बित्दा पनि उही नाम टिममा दोहोरिरहेका छन्, आदिल र गुलशनबाहेक टिममा नयाँ खेलाडीहरू स्थायी रूपमा प्रवेश गर्न नसक्दा यो समस्या आएको हो,” उनी भन्छन्। नेपालसँगै विश्वकप छनोट खेलेको ओमान र यूएईको टोलीमा ठूलो परिवर्तन देखिएको थियो। तर, नेपाल भने पछिल्लो समय खेलिरहेको टोली लिएर नै ओमान पुगेको थियो।
नेपालका वर्तमान खेलाडीमा अर्को ठूलो समस्या– मानसिक रूपमा कमजोर देखिनु रहेको उनी बताउँछन्। धेरै खेलाडीहरू आफ्नो स्थान जोगाउने मानसिकतामा खेलिरहँदा स्वतन्त्र र जोखिमपूर्ण ब्याटिङ गर्न सकेका छैनन्। खेलको समयमा आफूलाई टिममा सेट राख्न टुकुटुकु खेलिरहेको आभास पाइन्छ । यस्तो मानसिकता टी–२० जस्तो खेलमा प्राणघातक हुन्छ, जहाँ प्रत्येक बलले खेल पल्टाउने गर्छ। रक्षात्मक सोचले टिमलाई सानो स्कोरमा सीमित गरेको र आक्रमण गर्ने अवसर गुमाउँदा सामोआबाहेक अन्य टोलीसँग ठूलो स्कोर बन्न नसकेको उनको निष्कर्ष छ।
नेपालको मिडल–अर्डरमा अहिले देखिएको कमजोरी ‘हार्ड हिटर’को पनि हो। टी–२० टिममा कम्तीमा तीनजना पावर–हिटर चाहिन्छ, यी हिटरले विपक्षी बलरलाई दबाबमा पार्ने गर्छन्। तर, नेपालको टिममा गुलशनबाहेक यस्तो हिटर देखिएका छैनन्। आदिलले पहिले भारतमा ‘ए’ टोलीसँग केही खेलमा राम्रो प्रदर्शन गरे पनि विश्वकप छनोटमा उनी खेल्न सकेनन्। यस्तो अवस्थामा मिडल–अर्डरको ब्याटिङले बल खेल्ने तर रन बटुल्न नसक्ने प्रवृत्ति देखाएको हो।
दोस्रो ठूलो समस्या ‘स्ट्राइक रोटेसन’ को पनि हो। नेपालका ब्याटर सिंगल र डबल निकाल्नमा सुस्त छन्, जसले खेलको गति मन्द पारेको रेग्मी बताउँछन्। ‘जब बाउन्ड्री आउँदैन, तब रन निकाल्ने दक्षता झनै महत्त्वपूर्ण हुन्छ, तर नेपालले त्यही क्षेत्रमा कमजोरी देखाएको छ,” उनीभन्छन्।
तेस्रो ब्याटरहरूले स्लो बल पिक गर्न नसक्ने समस्या पनि बारम्बार देखिएको छ। नेपाली खेलाडीलाई पेस चाहिन्छ, बलको गति घट्दा खेलाडी भ्रमित हुन्छन्। यसले विपक्षी बलरहरूलाई रणनीतिक रूपमा खेल नियन्त्रण गर्ने अवसर दिन्छ।
मिडल–अर्डरमा अलराउन्डरहरूको बढी निर्भरता अर्को चुनौति हो। अहिलेको टिममा रोहित, दीपेन्द्र, गुलशन, मल्ल, भुर्तेल र आदिल सबै अलराउन्डर हुन्। यस्ता खेलाडीले सन्तुलन दिन सक्छन् तर अलराउन्डरमा भर पर्ने हुँदा शुद्ध ब्याटर र विशेषज्ञ बलरको कमी स्पष्ट देखिएको छ। यसले मिडल–अर्डरको प्राविधिक बलियोपना घटाएको छ। अलराउन्डरबाट विशुद्ध ब्याटरको जस्तो धैर्य र योजनाबद्धता उनीहरूबाट सधैँ अपेक्षा गर्न सकिँदैन।
त्यो दीपेन्द्रको पछिल्लो समयको प्रदर्शनले नै पुष्टि गर्छ।

आदिल अन्सारी। तस्बिर : क्यान
यद्यपि, नेपालले हालै टी–२० विश्वकपका लागि छनोट गरेर ठूलो सफलता पाएको छ। तर, त्यो सफलता ब्याटिङको कारण होइन, बलिङ र फिल्डिङको कारण हो। नेपालको बलिङ अहिले विश्वस्तरीय छ। सोमपाल, करण, सन्दीप र गुलशनको संयोजनले कुनै पनि टिमलाई सस्तोमा समेट्न सक्छ। कतारसँग पाँच र यूएईसँग एक रनको जस्तो रोमाञ्चक जित निकाल्न सक्छन्। साथै, नेपालको फिल्डिङ पनि हालका वर्षहरूमा उल्लेखनीय रूपमा सुधारिएको छ। त्यसैले नेपालले विश्वकपका लागि सजिलै छनोट गर्न सकेको अर्का पूर्वखेलाडी तथा पूर्वटिम छनोटकर्ता उत्तम कर्माचार्य बताउँछन्। तर, यदि यो टिमले विश्वस्तरीय स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छ भने ब्याटिङमा सुधार अत्यावश्यक रहेको उनको भनाइ छ। भन्छन्, “अब भविष्यबारे सोच्ने हो भने नेपालले टी–२० ढाँचामा साहसी निर्णय लिनुपर्ने बेला आएको छ। टिमका केही पुराना खेलाडीलाई विश्राम दिँदै केही नयाँ खेलाडीलाई मौका दिन आवश्यक छ। त्यसका लागि हामीसँग खेलाडी पनि छन्।”
कप्तान पौडेलको इच्छा अब दुईपल्टको विजेता भारत, इङ्ल्यान्डसँग एकपल्टको विजेता अस्ट्रेलियासँग खेल्नेछ। तर, यी बलिया देशलाई चुनौती दिँदै जित आत्मसात् गर्ने मिडल– अर्डरले निडर भएर जोखिम लिन सिक्नुपर्छ। बाउन्ड्री हान्ने, रन रोटेट गर्ने र परिस्थितिअनुसार खेलको दिशा मोड्न सक्नुपर्छ। विश्वकपको ढोका खुलिसकेकाले अबको ध्यान मिडल–अर्डरको सुधारतर्फ केन्द्रित हुनुपर्नेमा दुईमत नरहेको कर्माचार्यको भनाइ छ।