६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। प्रहरीले नागर्जुन नगरपालिका–२ सानो भर्याङस्थित एक घरमा छापा मारेर ठूलो परिमाणको नगद र सुनका गहना बरामद गरेको छ।

प्रहरीले चिनियाँ नागरिक र एक नेपाली युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बताए।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले बुधबार बेलुका साढे ७ बजेतिर सरिता महर्जनको घरमा भाडामा बस्दै आएका चिनियाँ नागरिक जिआओ याङ र धादिङ निलकण्ठ नगरपालिका–२ की २२ वर्ष रोजिना सुनार बस्दै आएको कोठामा छापा मारेको थियो।

कार्कीका अनुसार घरको दोस्रो तलामा रहेका दुई कोठाभित्र उनीहरू बसिरहेका थिए। सुटकेस र सोफामुनि लुकाइराखिएको अवस्थामा कानुन नगद ६९ लाख ८५ हजार रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट सुनका गहना समेत फेला परेको कार्कीले बताए।

सुनको नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान, नथ १ थान, शीरबन्दी १ थान गहना बरामद भएको कार्कीले बताए।

यसैगरी, एप्पलका ४ थान आइफोन, म्याकबुक १ थान, इन्फिनिक्स कम्पनीको मोबाइल १ थान, बा.प्र. ०१–०३१ प ५२६२ नम्बरको बिवाइडी गाडी बरामद भएको छ। प्रहरीले सुनारको नेपाली नागरिकता र चिनियाँ नागरिकको पासपोर्ट बरामद गरेको छ।

उक्त घरमा बस्ने अन्य चार जना महिलालाई पनि सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नेपाली रुपैयाँ र सुनको गैरकानुनी कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक मोहनमणि अधिकारीको नेतएत्वमा १० जनाको प्रहरी टोली खटिएको थियो।

प्रहरी वृत्त स्वयम्भूले पक्राउ परेकामाथि अवैध आर्थिक कारोबार र सम्पत्ति सञ्चय सम्बन्धी प्रकरणमा अनुसन्धान गरिरहेको छ।