झापा। यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए। उनले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताए।
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए । झापाको इतिहासमा पहिलोपटक अन्तरराष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीलाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ। सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु १५ हजार प्रदान गरिने जनाइएको छ।