काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

भारतीय सत्तामा कंग्रेसलाई फर्काउन राहुलले देखेको एकमात्र आधार जेन-जी

६ कार्तिक २०८२
राहुल गान्धी (बायाँ) र जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा विद्यार्थीहरू। तस्बिर : निशा श्रेष्ठ
अ+
अ-

देशका युवा, देशका विद्यार्थी, देशका जेन–जीहरूले संविधान जोगाउनेछन्, लोकतन्त्रको रक्षा गर्नेछन् र भोटचोरी रोक्नेछन्। म सधैँ उनीहरको साथमा छु।

गत १८ सेप्टेम्बरमा भारतीय संसदको प्रमुख प्रतिपक्ष दल कंग्रेसका युवा नेता राहुल गान्धीले नेपालको जेन–जी आन्दोलनलाई जोडेर सोसल मिडिया एक्समा लेखे। यसपछि उनी विवादमा तानिएका छन्।

१३ वर्षयता सत्तामा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डादेखि मन्त्रीहरू रविशंकर प्रसाद, गिरिराज सिंहले राहुल विरूद्ध तिखा प्रतिक्रिया दिँदै आएका छन्।

कंग्रेसले चुनावमा पराजित हुनुको कारण ईभीबाट हुने गरेको भोट चोरीलाई मान्दै आएको छ। यसैले दिल्ली विश्वविद्यालयमा छात्र संघको चुनाव भइरहँदा राहुलले आफ्नो प्रेस वार्तामा पनि भोट चोरीको मुद्दा उठाउन जेन–जीहरूलाई अपील गरेका थिए।

राहुलले एक्समा लेखेको ६ दिन नबित्दै भारत प्रशासित लद्दाखमा जेन–जीहरूको आन्दोलन भयो। प्रदर्शनका क्रममा एकै दिन चारजनाले ज्यान गुमाए। आन्दोलनको कारक लद्दाखका चर्चित वातावरणीय अभियन्ता सोनाम वाङचुकलाई मानियो र गिरफ्तार गरियो। हाल उनी जेलमै छन्। उनी आबद्ध संघसंस्था र कम्पनीले आर्थिक हिनामिना गरेको आरोप लगाइएको छ।

राहुलको एउटै आह्वानमा लद्दाखमा यति ठूलो आन्दोलन हुनुलाई संयोग मात्र मान्ने पक्षमा छैनन्, आलोचकहरू।

लद्दाखमा चर्केको प्रदर्शनलाई नेपालमा भएको जेन–जी आन्दोलनसँग जोडेर हेरिएको छ। कुनै समय थियो, दिल्ली दरबारले काठमाडौंमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्थ्यो। अहिले पनि त्यो क्रम जारी छ। तर, नेपालमा हालै भएको नवयुवा आन्दोलनको ताप भारतमा जसरी सरिरहेको छ, यसले सत्तारुढ भाजपा सरकारको टाउको दुख्न थालेको छ।

गत २३ र २४ भदौमा काठमाडौंमा भएको जेन–जी आन्दोलन र भारतको रणनीतिक महत्त्वको र संवेदनशील मानिने लद्दाखमा भएको घटनाले भारतीय राजनीतिलाई तरंगित बताएको छ। लद्दाखसँगै मुस्लिम समुदायले सोसल मिडियामा चलाइरहेको ‘आई लभ मोहम्मद’ ट्रेन्डले भारतीय राजनीतिलाई असर नपार्ने होइन।

जेन–जी विद्रोहको लहरले इन्डोनेसिया, फिलिपिन्स, जापान, श्रीलंका, बाङ्लादेश, नेपाल हुँदै फ्रान्ससमेत हल्लाएका बेला ५५ वर्षीय राहुल त्यत्तिकै हौसिएका होइनन्। उनी अब सत्तामा फर्किने एउटा मात्र आधार जेन–जीलाई देख्छन्।

एक्समा राहुलका दुई करोड ८० लाखभन्दा बढी फ्लोअर छन्। उनको पोष्टको प्रतिक्रियामा हिमाचलबाट निर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतले लेखेकी छन्, ‘उनलाई विश्वमा के भइरहेको छ, त्यसको कारण नै थाहा हुँदैन।’

कंगनाले राहुलमाथि जति नै व्यङ्ग्य गरे पनि उनकै राज्य हिमाचलको छिमेकमा रहेको लद्दाखमा छुट्टै राज्यको मागसहित जेन–जी सडकमा ओर्लिसकेका छन्।

सन् १९८० को दशकदेखि २००० को पहिलो दशकसम्म नेपाली राजनीतिमा भारतीय कंग्रेसको दबदबा थियो। ८० र ९० को दशकमा भारतमा गान्धी परिवारले एकछत्र राज्य गर्दै आए पनि राहुलले सत्ताको स्वाद चाख्न पाएका छैनन्। त्यसैले उनी अहिले छटपटिनु कुनै अनौठो होइन।

कुनै समय थियो, सन् १९८४ मा भारतभर चार सय १५ सिटमा कंग्रेसको राज चल्थ्यो। यतिबेला मोदीको पार्टी तत्कालीन जनसंघ (पछि भाजपा) को दुई सिट मात्र थियो। २०१९ मा भाजपाले तीन सय तीन सिट पाउँदा ५२ सिटमा चित्त बुझाएको कंग्रेसले यतिबेला थुप्रै राज्यमा शासन गुमाइसकेको छ।

यस्तो अवस्थामा नेपालको जेन–जी विद्रोहबाट उत्साही राहुलले के यसैको आडमा कंग्रेसलाई भारतीय सत्तामा फर्काउलान्?