६ कार्तिक २०८२
अ+
अ-

म्याग्दी। म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ।

रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरबम दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेपछि ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ। दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको छ।

त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला-राहुघाट-मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला शुँदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो।

म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन्।

यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ।