काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

परिकार

संगीतले जुराएको अनेक गन्तव्य, परिकारको स्वाद भव्य

६ कार्तिक २०८२
अ+
अ-

म त नेपाली
खाजा मीठो नेवारी
खाना मीठो थकाली
लाइदेऊ माया यो ज्यान छ खाली

करिब १५ वर्षअघि यो गीतमा मैले खानाको स्वादको कुरा गरेको थिएँ। गीतमार्फत नेवारी खाजा र थकाली खानाको स्वाद फैलाउने मेरो प्रयास थियो। पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका खानाको स्वाद चाख्दै हिँड्नु मेरो सोख हो। मलाई थारू, मगरलगायत फरक समुदायका खानाको परिकारको लत नै लागेको छ। यस्तै सोख र लतका कारण काठमाडौँदेखि पूर्व-पश्चिम राजमार्गका होटलका ठेगाना र विशेषताबारे थोरबहुत जानकार छु।

मेरो जन्मस्थल पाल्पाको रामपुरदेखि विदेशी खानासम्मका स्वादमा समेत मलाई उत्तिकै रुचि छ। रामपुरको बहुल समाजमा हुर्किएँ। दुई जना आमा भएकाले घर पनि दुइटा थियो। धेरै टाढा नभए पनि सांस्कृतिक हिसाबले ती दुई घरमा केही भिन्नता थिए। एउटा ब्राह्मण समुदाय मात्रै भएको गाउँ, अर्को सबै जातजाति मिसिएको समुदाय। जहाँ क्षेत्री, ठकुरी, विश्वकर्मा, परियार, मुस्लिम पनि थिए।

घरमा साथीभाइ आउँदा पकाएर खुवाउन मजा लाग्छ। प्रशंसा गर्दिन्छन्, मक्ख पर्छु । घरमा पाहुना आउँदा श्रीमतीले एउटा आइटम बनाइन् भने अर्को म आफैँ बनाउँछु।

मिश्रित समाजमा हुर्केको मैले विभिन्न जातजातिका फरक स्वादका खाना चाख्ने अवसर पाएँ। यसले विभिन्न जातीय परिकारसँग साक्षात्कार मात्र गराएन, म त्यस्तै खाना मन पराउने भएँ। नेपालमा रैथाने स्वादका परम्परागत र समुदायविशेष खानाहरू मलाई असाध्यै मन पर्छ।

खानामा भूगोल र प्रकृतिको ठूलो प्रभाव हुन्छ। म जहाँ हुर्कें, त्यहाँ जंगल र खोलाहरू नजिकै थिए। सानैदेखि साथीभाइसँग सिकार खेल्न जान्थेँ। गोहोरोको मासु खाएर छालाको खैँजडी बजाउने कुरा पनि मैले त्यहीबेला बुझ्न पाएँ। त्यही उमेरमा मैले गाउँमा बारुला, अरिंगाल, विभिन्न प्रजातिका माछा र गँगटासमेत खाएँ।

अरिंगालको खान्की पनि गजबको परिकार हो। खान त हामी पहिले पनि खान्थ्यौँ, तर अचेल पाल्पातिर अरिंगालको परिकार बनाउने चलन व्यावसायिक रूपमै आइसकेको छ।

थरीथरीका खानाको स्वादमा रमाउँदै गर्दा मैले पकाउने सीप र कला पनि सिकेँ। लोकल कुखुराको मासु भनेपछि हुरुक्कै हुने म काठमाडौँमा पनि नियमित पकाएर खान्छु। घरमा साथीभाइ आउँदा पकाएर खुवाउन मजा लाग्छ। प्रशंसा गर्दिन्छन्, मक्ख पर्छु । घरमा पाहुना आउँदा श्रीमतीले एउटा आइटम बनाइन् भने अर्को म आफैँ बनाउँछु।

बिहे गरेर आउँदा श्रीमतीलाई पकाउन आउँदैनथ्यो। मलाई मेरी आमाको हातको स्वाद थाहा थियो। दुवै आमाको हातको स्वाद खाइरहेको थिएँ। त्यो स्वाद मैले पनि अलिअलि जानेको थिएँ। त्यही तरिका श्रीमतीलाई सिकाएँ। उनी पर्फेक्ट भइन्। उनले पकाएको साह्रै मीठो हुन्छ।

हिरिक्कै पार्ने परिकार

२०५५ सालमा तानसेन कसौली एल्बमबाट मेरो व्यावसायिक गायन यात्रा सुरु भएको हो। ‘ससुरालीमा’, ‘मन थिएन जोगी बन्नलाई’ जस्ता गीतहरू लोकप्रिय भएपछि मैले देश-विदेश घुम्ने अवसर पाएँ। नयाँ परिकार र स्वादका खाना चाख्दै हिँड्ने सुविधा मलाई संगीतमा पाएको सफलताले नै दिलाएको हो।

सांगीतिक कार्यक्रममा हिँडिराख्ने क्रममा मैले देशका कुनाकाप्चामा खानाका अनेक परिकार चाखेको छु। कहाँको कुन होटलमा कस्तो स्वादको खाना पाइन्छ भन्ने थाहा छ। केही उदाहरण सुनाउँछु।

पाल्पा जाने बाटामै पर्ने भएकाले बुटवलको कासाङ थकाली भान्साघर म सबैभन्दा धेरै जाने होटल हो। नेपालगन्ज वा तानसेन जताबाट पनि त्यो बाटो हिँड्दै छु भने त्यहीँ गएर खान्छु।

पोखराको साइँली माइँली दिदीको होटलमा पनि धेरैपटक खाना खाएको छु। त्यहाँको खाना पनि मीठो थियो। तर, आजकाल स्वाद अलि फरक पाएँ।

पर्वत, डिंगुवाको लोकल माछा र लोकल चामल खान पनि म बारम्बार पुग्छु। त्यहाँको लोकल चामल असाध्यै मीठो! दाङ जाँदा राजमार्गमा सद्गोरिया भन्ने ठाउँको बोधिया सम्झँदा मात्र पनि मेरो मुख रसाउँछ। त्यहाँ सिर्जना चौधरी बहिनीको होटल छ। त्यहाँको बोधिया यति मीठो हुन्छ कि कुरै छोडौँ।

सुदूरपश्चिम पुग्दा मेरो पहिलो प्राथमिकतामा थारू परिकार पर्छ। ढिक्री, घोंगी खाने मैले पहिलोपटक मुसा पनि त्यहीँ चाखेको हुँ। ठाउनीमारा पनि उत्तिकै मन पर्छ। धनगढीको डाइमन्ड होटलको लोकल कुखुराको मासुले पनि मलाई हिरिक्कै बनाउँछ। माथि, डडेल्धुरा तालखर्कमा बाजेको खीर खान छुटाउँदिनँ। तर, हालै बैतडी जाने क्रममा खाँदा पहिलेभन्दा स्वाद खस्केको महसुस गरेँ।

मलाई मन पर्ने अर्को परिकार हो, थकाली खाना। अचेल वास्तविक थकाली खाना पाउन भने गाह्रो छ। कुनै बेला काठमाडौँको न्युरोड प्युखामा थकाली भान्साघरको खाना धेरै खाएँ।

अझै माथिल्लो भेगको स्वादमा पनि लोभिएको छु। डोल्पा, दुनैको विष्णु दाइको होटलको खानाको पनि प्रशंसक हुँ। डोल्पा जानुभयो भने त्यहाँको स्वादिलो दालले मन तृप्त पार्छ। त्यही स्वादले लोभिएर दाल काठमाडौँ ल्याएर पकाएर खाएँ, तर त्यहीँ खाएको जस्तो स्वाद आएन।

पूर्वतिर जाँदा तरहराको लामाको सेकुवाको स्वादले तान्छ। पुर्बेली पक्कु पनि मीठो लाग्छ। धनकुटा डाँडाबजार हिले जाने बाटोमा बजार सकिएपछि ठ्याक्कै दायाँतर्फ खाना खाने एउटा होटल छ। त्यहाँको साग एकदमै मीठो हुन्छ।

जातिविशेष परिकार

कहाँको कुन होटलको कुन परिकार भनेजसरी नै जातिविशेषको कुन परिकार मीठो भन्ने पनि मूल्यांकन गर्छु।

अहिले आएर नेपालमा सबैभन्दा मीठो खाना खाने समुदाय थारू नै रहेछ भन्ने लाग्छ। थारू खानाको सन्तुलन मिलेको हुन्छ, जसमा सी-फुड टाइपको गँगटा, घोंगी, हाँसको मासु, कुखुराको मासु, माछा, मुसाको अचार, ढिक्री, चिचडलगायत धेरै परिकार हुन्छन्। थारूका परिकारलाई खानाको एक नम्बरमा राख्छु।

बफ खानेहरूका लागि नेवारी परिकारलाई दुई नम्बरमा राख्छु। मैले चाहिँ अचेल बफ खान छोडेको छु। यसपछिको सूचीमा मगर समुदायको खानालाई राख्छु। मगर खानाको स्वाद नै छुट्टै! मगरले पकाएको सुँगुरको मासु, त्यसमा पनि कालो सुँगुर अलि फरक हुन्छ। त्यो मासु दाउरामा पकाउँदा र ग्यासमा पकाउँदा फरक स्वाद आउने मेरो अनभुव छ। त्यस्तै, सिलौटोमा पिसेको र मेसिनमा पिसेको मसलाको स्वाद पनि फरक लाग्छ। अझ, कचौरामा खाँदा र सालको दुना-टपरीमा खाँदाको स्वाद फरक हुने मेरो परख छ।

मलाई मन पर्ने अर्को परिकार हो, थकाली खाना। अचेल वास्तविक थकाली खाना पाउन भने गाह्रो छ। कुनै बेला काठमाडौँको न्युरोड प्युखामा थकाली भान्साघरको खाना धेरै खाएँ।

बेलाबेला बनाइराख्छु चुकाउनी

मेरो खानामोह सानै उमेरमा जागेको हो। गुलियो कुरा सानैदेखि मन परेन। आमाहरू मेलापात जाँदा घरको भातभान्साको काम मेरो भागमा पनि पर्थ्यो। गहुँको सुक्खा रोटी पातलो, गोलो बनाएर बेल्दा ठूलीआमाले खुब प्रशंसा गर्नुहुन्थ्यो। उहाँले नै धेरै कुरा पकाउन सिकाउनुभयो।

विदेश जाँदा नेपाली खाना मिस भए पनि जुन देश गएँ, त्यहीँको परिकार चाख्न मन पर्छ।

घरभित्रको परिवेशजस्तै सामाजिक-सांस्कृतिक परिवेशले पनि मलाई खानाको स्वाद र विशेषतासँग थप परिचित गराइदियो।

पाल्पा भन्नेबित्तिकै चुकाउनी, बटुक, हाँसको छोइलाजस्ता परिकार दिमागमा आउँछन्। तीमध्ये बटुक सम्झँदा माघेसंक्रान्ति मेलामा सालको टपरीमा बेच्न राखिएको स्मृतिमा हराउँछु। अचेल काठमाडौँका होटलहरूमा समेत पाइन थालेको छ चुकाउनी। यो परिकार काठमाडौँको घरमा पनि बेलाबेला बनाइराख्छु। पूर्वतिरका दाजुभाइ दिदीबहिनी घरमा आउँदा नयाँ स्वाद चखाउन चुकाउनी नै बनाउँछु।

हाम्रो गाउँतिर चिफर्नी, बदिया अनि फुलौरा पनि निकै मन पराएर खाइन्छ। जेठमा विशेष खालको परिकार गुरुङ खाइन्छ। कोया पसिसकेको काँचो आँपलाई पकाएर चिनी, दहीलगायत राखेर बनाइने यो परिकार एकदमै स्वादिलो हुन्छ।

पाल्पा रामपुरमा बफको सुकुटी एकदमै ‘प्योर’ पाउँछ। काठमाडौँका साथीहरूलाई त्यहाँको बफ खुवाउन छुटाउँदिनँ। रामपुरको लोकल कुखुराको मासुलाई पहिलो रोजाइमा राख्छु। त्यही आसपासका ज्याके खोला, लुक्ती खोला र खुरुन्दे खोलामा पाइने लोकल माछाका परिकार दोस्रो रोजाइमा पर्छ। यस्तै परिकार चाख्न बेलाबेला रामपुर पुग्ने बहाना खोजिरहेको हुन्छु। पोखरा, बुटवलसम्म जाने काम छ भने रामपुर पुगिहाल्छु। दुई दिनका लागि गएँ भने १० दिन बस्दिन्छु।

मेरो खुट्टा सहरमा हुँदा पनि मन भने गाउँमै हुन्छ। त्यही भएर त गाउँकै भाका गाउँदै संसार डुल्छु। संसार डुल्दा पनि मन भुलाउन गाउँमै फर्कनुपर्छ। कहीँ गएर म खुसी हुन्छु, सारा दुःख-पीडा बिर्सन्छु भने त्यो ठाउँ रामपुर नै हो।

विदेश जाँदा नेपाली खाना मिस भए पनि जुन देश गएँ, त्यहीँको परिकार चाख्न मन पर्छ। विदेशी खानामा कोरियन, चाइनिज, जापानिज, थाई र भियतनामी खाना स्वाद मानेर खान्छु। नेपालीपछि मन पर्ने कोरियाली परिकार हो। भारतीय खाना भने खासै मन परेन।