काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साइबर ठगी

फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जरमा अपरिचत लिंक पठाएर ठगी

७ कार्तिक २०८२
अ+
अ-

घटना हो, २३ मंसिर २०८१ सालको। ह्वाट्सएपमा अफ्रिकी मुलुक नाइजेरियाको नम्बरबाट मेसेज आयो– ‘के छ खबर साथी! तिम्रा लागि मसँग केही सुखद समाचार छ।’

काठमाडौँस्थित आईटी कम्पनीको व्यवस्थापन विभागमा कार्यरत (सांकेतिक नाम) गैरीधारा–९ ले मेसेज आएको सात मिनेटपछि जवाफ फर्काए, ‘म तपाईंलाई के सहयोग गर्न सक्छु?’

उताबाट जवाफ आयो, ‘म धान्भी बोल्दै छु।’ इन्स्टाग्रामको कस्टमर सर्भिस प्रतिनिधि हुँ। हामीलाई केही भिडियोमा लाइक बढाउनु छ। तपाईंले फुर्सदको समयमा लाइक गरिदिनुभयो भने कमिसन दिन्छौँ। तपाईंको दैनिक काममा यसले कुनै असर पर्दैन।’

मेसेजमा थप भनिएको थियो, ‘मिसन सामान्य हो। लाइक गरेर स्क्रिनसट पठाइदिनुहोला। यसपछि तपाईंले कमिसन पाउन थाल्नुहुन्छ। त्यो कमिसन दिनको १० देखि २० हजारसम्म हुन्छ। तपाईं यसमा इच्छुक हुनुहुन्छ?’

अपरिचित व्यक्ति, त्यसमाथि विदेशी नम्बरबाट यस्तो लोभलाग्दो प्रस्ताव आउँदा गैरीधारा–९ ले अस्वीकार गर्न सकेनन्। जवाफ दिए, ‘हुन्छ, पक्का।’

फेरि मेसेज आयो, ‘पहिलो चरणमा हामी तीनवटा परीक्षण काम दिन्छौँ। त्यो पूरा गर्नेबित्तिकै तपाईंले २०० रुपैयाँ पाउनुहुन्छ। यसपछि दैनिक आम्दानी हुने एउटा ग्रुपमा जोड्छौँ र अन्य कामहरू पठाउँछौँ। तपाईंले हामीले पठाएको लिंकमा प्रवेश गरेर लाइक गर्दै स्क्रिनसट पठाउनुपर्छ।’

लगत्तै घडीको फोटो रहेको इन्स्टाग्रामको लिंक आयो। गैरीधारा–९ ले उक्त लिंक लाइक गरेर स्क्रिनसट पठाए। यसरी नै बर्थडे केक बोकेकी युवती (दोस्रो) र क्रिसमसको जनाउ दिने फोटो (तेस्रो) भएको लिंक आयो। यसलाई पनि लाइक गरेर स्क्रिनसट पठाइदिए।

तपाईंले पहिलो चरणको टास्क पूरा गर्नुभयो। तपाईंले कमिसन पाउनुहुन्छ। अरू टास्कका लागि एउटा ग्रुप जोइन गर्न सक्नुहुन्छ,’ धान्भीले भनिन्।

उनी अलिक खुला भइन् र प्रश्न गर्न थालिन्, ‘कति वर्ष पुग्नुभयो?’

गैरीधारा–९ ले जवाफ फर्काए, ‘३८।’

‘तपाईंसँग टेलिग्राम एकाउन्ट छ?’ उनले सोधिन्।

‘छैन,’ गैरीधारा–९ ले उत्तर दिए।

‘पर्खिनुहोस्’ भन्दै उताबाट टेलिग्रामको लिंक आयो। त्यससँगै क्याप्सन लेखिएको थियो, ‘टेलिग्राम डाउनलोड गर्नुहोस्। तपाईंले पहिलो टास्क पूरा गरेबापतको भुक्तानी अहिले नै हुन्छ।’

गैरीधारा–९ ले त्यो २०० रुपैयाँ कमिसन प्राप्त गर्न टेलिग्राम एकाउन्ट खोल्न अबेर गरेनन्। फेरि उताबाट एउटा लिंक आयो। जसमा भनिएको थियो, ‘उनी मेरिना हुन्। उनले तपाईंलाई पेमेन्ट गर्छिन्। उनलाई तपाईंको टास्क कोड पठाउनुहोस्। तपाईंको टास्क कोड रहेको छ, एचपीडीटीवाईएस।’

धान्भीसँग ह्वाट्सएपमा भइरहेको कुराकानी यत्तिमै टुंगियो।

गैरीधारा–९ टेलिग्रामभित्र प्रवेश गरे। टेलिग्राममा छिर्दा मेरिना नभएर सारा लागुना नामको अकाउन्ट खुल्यो। उनले त्यहाँ लेखे– ‘हेलो।’

उताबाट मेसेज आयो– ‘हेलो, म तपाईंको टास्क रिसेप्सनिस्ट हुँ। यस काममा स्वागत छ। तपाईंको टास्क कोड पठाउनुहोस्। उमेर पनि भन्नुहोस्।’

गैरीधारा–९ ले ह्वाट्सएपमा दिइएको टास्क कोड र उमेर उल्लेख गरी मेसेज पठाए। उताबाट भनियो, ‘तपाईं आफ्नो इसेवा वालेट अथवा बैंकको क्यूआर कोड पठाउनुहोस्।’

गैरीधारा–९ ले बैंक खाताको क्यूआर कोड पठाइदिए। २०० रुपैयाँ आयो। त्यसपछि साराले अर्को लिंक पठाइन्। जहाँ भनियो, ‘अब यो लिंकमा क्लिक गरेर जोइन हुनुहोस्। पैसा कमाउँदै जानुहुनेछ।’

छिनको छिन २०० रुपैयाँ प्राप्त गरेपछि गैरीधारा–९ मक्ख परे। उनी अब कल्पनामा डुब्न थाले। पैसा यसरी नै भटाभट आइहाल्छ भन्ने भएपछि अन्य लिंक खोले। साराले भनेबमोजिम लिंक खोल्दा टेलिग्रामको अर्को ग्रुपमा प्रवेश गरे। मेसेज आयो, ‘दैनिक २४ वटा टास्क हुन्छन्। ती टास्क पूरा गर्नुहोस्। तीनवटा टास्कको एउटा प्याकेज हुन्छ। ग्रुपमा पठाइने टास्कलाई फलो गर्दै जानुहोस्।’

गैरीधारा–९ को काम थियो– ‘टास्क’ भनिएका ती फोटामा लाइक गर्ने अनि त्यसको स्क्रिनसट ‘भयो’ भनी ग्रुपमा पठाउने।

यो पनि पढ्नुहोस् :

ओटीपी दिँदा पैसा चट्

कमिसन भुक्तानीका लागि भने साराले व्यक्तिगत टेलिग्राम एकाउन्टबाट ‘डिल’ गर्थिन्।

सुरुमा आएको प्याकेजमा लेखिएको थियो, ‘१३–१४–१५ ।’ त्यो प्याकेज इन्स्टाग्राममा पोस्ट भएका फोटो नेल पोलिस, केक र कारका थिए। तिनलाई लाइक गरी टास्क पूरा गर्न भनिएको थियो। उनले लाइक ठोके। स्क्रिनसट पठाए। यसपछि गैरीधारा–९ अलमलिए। अरू पोस्ट देखेनन्।

उनले सारालाई मेसेज पठाए, ‘प्लिज, मलाई गाइड गर्नुहोस्। मैले अरू टास्क भेटिनँ।’

साराले जवाफ दिइन्, ‘१३–१४–१५ टास्कको पेमेन्ट हुँदै छ। १० देखि ६० मिनेट कुर्नुहोस्। यदि पेमेन्ट भएन भने स्टाफले ६० मिनेटभित्र कल गर्नेछ। अरू टास्क आउँदै जान्छन्।’

गैरीधारा–९ ले जवाफ पठाए, ‘हुन्छ।’

तब ‘६, १२ र १८’ को नयाँ टास्क आयो। भाँडाकुँडा, चियादानी र चन्द्रमाको फोटोसहित। उनले ती सबैलाई लाइक गरे।

त्यसपछि उनलाई प्रस्ताव आयो, ‘अब तपाईं केही रकम लगानी गर्नुहोस्।’

‘कति?’

गैरीधारा–९ लाई सुरुमा दुई हजार ८० रुपैयाँ जम्मा गर्न सकिने भनियो। उनले तत्परता देखाए। साराले क्यूआर पठाइदिइन्। गैरीधारा–९ ले पैसा जम्मा गरे। त्यति पैसा जम्मा गरेबापत र ‘टास्क’ पूरा गरेपछि तीन हजार २०० रुपैयाँ फिर्ता गरिदिने भनिन्।

गैरीधारा–९ ले फोटो लाइक गर्दै त्यो ‘टास्क’ पूरा गरिदिए। यसबापतको पैसा मागे। साराले तुरुन्त तीन हजार २०० रुपैयाँ पठाइदिइन्।

‘लगानी गरेपछि नाफासहित पैसा पनि फिर्ता हुँदो रहेछ भन्ने पर्‍यो,’ गैरीधारा–९ भन्छन्।

तिनै टेलिग्राम प्रयोगकर्ता साराले पाँच हजार ८० रुपैयाँ जम्मा गर्न लगाइन्। त्यसबापत ४० प्रतिशत रकम वृद्धि भएर कमिसन फिर्ता आउने लोभ देखाइन्। गैरीधारा–९ ले फेरि पठाए। पहिले जसरी नै फोटोमा लाइक गर्दै त्यसको स्क्रिनसट पठाए। तर, त्यतिबेला ‘टास्क’ पूरा गर्दा पनि लगानी गरेको रकम फिर्ता आएन।

उताबाट जवाफ आयो, ‘पख्नुहोस्, तपाईंको पेमेन्टको तरिका हामी बताउँदै जान्छौँ। बाँकी टास्क पूरा गर्दै जानुहोस्।’

उनले रकम मागिरहे। साराले अन्य ‘टास्क’ पूरा गर्नुपर्छ भन्दै फोटोको लिंक पठाइरहिन्।

कमिसनसहितको पाँच हजार रुपैयाँ फिर्ता नहुँदै साराले एकैपटक २५ हजार ८८० रुपैयाँ जम्मा गर्न लगाइन्। गैरीधारा–९ ले ठगको जालझेलमा पर्दै छु भन्ने अनुमानसम्म गरेनन्। छिटो पैसा कमाउने लोभमा अन्धो भएका गैरीधारा–९ उताबाट भनेको रकम फटाफट जम्मा गर्दै गए।

‘पैसा फिर्ता मागेँ। तपाईंका टास्कहरू पूरा भएका छैनन्। पूरा गर्दै जानुहोस्। कमिसनसहितको रकम त पाइहाल्नुहुन्छ नि भनियो,’ गैरीधारा–९ ले गुनासो सुनाए।

तपाईंले यस्तो कुरामा कसरी सजिलै विश्वास गरी पैसा लगानी गरिरहनुभयो भन्ने प्रश्नमा पीडित भन्छन्, ‘लगानी गरेपछि मुनाफासहितको रकम आउँछ भन्ने कुरा गरे। टेलिग्राम ग्रुपका अन्य व्यक्तिलाई सोध्दा पैसा पाइरहेको बताएपछि म पछि लागेँ।’

टेलिग्राम प्रयोगकर्ता साराले जसो अह्राइन्, उनी कुनै सवाल–जवाफ नगरी मानिरहे। उनी एउटा कुरा भने गरिरहन्थे, ‘मेरो पैसा फिर्ता पाऊँ है।’

सारा ‘आउँछ, सिस्टमले काम गर्दै छ’ भन्दै पन्छिँदै गइन्। उनले थप ३० हजार ५५०, ८० हजार ५५० हुँदै तीन लाख ७५ हजार रुपैयाँ क्यूआर गर्न भनिन्। त्यसको ‘रिफन्ड’ उही ४० प्रतिशत कमिसनसहित आउने दोहो‍र्‍याइन्।

गैरीधारा–९ ले यति धेरै पैसा पठाइसक्दा पनि शंकाको ध्यानदृष्टि लगाएनन्। उनले त्यतिबेलासम्म आईटी कम्पनीमा काम गर्दा बैंकमा बचत गरेको रकम हालिसकेका रहेछन्।

‘अब पैसा फिर्ता चाहियो। मैले तीन लाख ७५ हजार रुपैयाँ फिर्ताको माग राख्न थालें,’ गैरीधारा–९ भन्छन्, ‘त्यसपछि टेलिग्राम प्रयोगकर्ताले पैसा फिर्ताको प्रक्रियामा बहाना बनाउँदै गइन्। थप पैसा जम्मा गर्न लगाइन्। मैले जोखिमको पूर्वानुमान नै गर्न सकिनँ।’

साराले रकम जम्मा गर्न लगाउन छाडिनन्। भनिन्, ‘एकाउन्ट मर्मत गर्नुपर्ने भएको छ। अर्को एकाउन्टमा फेरि रकम जम्मा गर्नुपर्छ।’

गैरीधारा–९ ले ४० प्रतिशत कमिसनसहित पैसा फिर्ता पाउने लोभमा पाँच–पाँच लाख गर्दै रकम हाले। यसरी रकम पठाउँदा २४ लाख ८५ हजार ९९२ रुपैयाँ पुगिसकेको थियो। त्यो फिर्ता माग्दा साराले अर्कै टेलिग्राम प्रयोगकर्ता देखाइन्– एस्टेली। उनले एस्टेली फाइनान्स मेनेजर रहेको बताइन्। उनीसँग संवाद गर्न अह्राइन्।

गैरीधारा–९ ले एस्टेलीलाई पैसा फिर्ताको प्रक्रिया के भयो भनी सोधे। एस्टेलीले मेसेज पठाए, ‘तपाईंले पैसा झिक्न सकिहाल्नुहुन्छ नि! त्यसका लागि एउटा भीआईपी ‘टास्क’ छ। ती १० वटा हुन्। प्रति ‘टास्क’ एक लाख रुपैयाँको हो।’

गैरीधारा–९ ले १६ पुसमा थप १० लाख रुपैयाँ क्यूआर गरिदिए। उनी भन्छन्, ‘१० लाख हालेपछि अहिलेसम्मको लगानी र त्यसको ४० प्रतिशत तुरुन्तै रिफन्ड हुन्छ भनेपछि पैसा हालेँ। न त्यो १० लाख फिर्ता भयो, न त पहिलेको।’

यति धेरै रकम लगानी गरिसकेपछि फिर्ता लिन उनले अन्य विकल्प देखेनन्। सुरुमा लगानी गरेको तीन लाख ७५ हजारबाहेक बाँकी पैसा साथीभाइसँग सापटी मागेका थिए। त्यसले नपुगेपछि आफ्नो र श्रीमतीको गरगहना धितोमा राखेर पैसा निकाले। त्यसरी रकम हाल्दाहाल्दै ३४ लाख नाघ्यो। गैरीधारा–९ ले फिर्ता माग्दै गए। एस्टेलीले थप्न लगाउँदै गए।

गैरीधारा–९ ले सोधे, ‘खै त रिफन्ड?’

एस्टेलीले अर्को मेसेज पठाए, ‘एकाउन्ट मेन्टिनेन्स चलिरहेको छ। त्यो मेन्टिनेन्सका लागि थप रकम आवश्यक प‍र्‍यो।’

गैरीधारा–९ ले सोधे, ‘कति चाहियो?’

एस्टेलीले भने, ‘पाँच लाख ५० हजार। यो हालेपछि तपाईंले एक करोड रुपैयाँ सामान्य तरिकाले निकाल्न सक्नुहुन्छ।’

आफ्नो लगानीभन्दा दोब्बर बढी आउने भएपछि गैरीधारा–९ थप उत्साही भए। उनले त्यो रकम पनि क्यूआर गरिदिए। यतिका रकम हालिसकेपछि एस्टेलीले अर्को सर्त पो राखे। ‘अब तपाईंले अन्तिममा भीआईपी–१० टास्क पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि थप २० लाख रुपैयाँ चाहिन्छ।’

‘अझै २० लाख?’

‘यो पूरा गरेपछि तपाईंले भीआईपी–१० टास्कसमेत गरेर साढे चार करोड रुपैयाँ निकाल्न सक्नुहुन्छ,’ एस्टेलीले भने।

अब भने गैरीधारा–९ को मथिंगल हल्लिन सुरु भयो। सर्तमाथि सर्त राखिएपछि उनी सशंकित भए। तैपनि पुनः रकम सापटी खोजेर हाल्ने कि भनी अन्योलग्रस्त भए।

टेलिग्राम ग्रुपमा कुराकानीका क्रममा नेपालका अर्का एक व्यक्तिसँग उनको सम्पर्क स्थापित भयो। उनलाई पनि टेलिग्राम प्रयोगकर्ताले रकम जम्मा गर्न लगाएका रहेछन्। गैरीधारा–९ ले ती व्यक्तिलाई सम्झिए। ती व्यक्तिले कुराकानीका क्रममा भने, ‘लौ! त्यो ठगी हो। म उल्टै फसेको छु। तपाईं पनि फस्नुभएछ।’

यसपछि गैरीधारा–९ ले आफू शतप्रतिशत ठगिएको पत्तो पाए।

‘जम्मा गरेको पैसा फिर्ता दिन नसके पुलिसमा उजुरी गर्छु भनेँ,’ उनी भन्छन्, ‘तर, टेलिग्राम प्रयोगकर्ता दुवैले एकाउन्ट डिलिट गरिदिए।’

यो पनि पढ्नुहोस् :

सञ्‍जालमा अनलाइन ठगीको जाल : सात हजारले गुमाए एक अर्ब ७९ लाख

अब के गर्ने? कसो गर्ने? कहाँबाट यत्रो ऋण तिर्ने? कसलाई सुनाउने? गैरीधारा–९ को टाउकामा प्रश्नैप्रश्नको घन बज्रिन थाल्यो। उनले आफू ठगिएको उजुरबाजुर गर्न जाने सोच बनाइरहेका बेला साइबर ब्युरोबाट १७ पुसमा एउटा सूचना प्रकाशित भयो। जसमा उल्लेख थियो–

‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जरलगायतको आवरणमा विज्ञापनमार्फत लिंक आउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने घटनाहरू बढेका छन्। इसेवा, खल्तीजस्ता वालेट तथा बैंक-वित्तीय संस्थाबाट बोलेको भनी ओटीपी (वान टाइम पासवर्ड) मागेर पैसा ट्रान्सफर गर्न लगाउने, गिफ्ट प्याकेज, अपुताली पर्ने, अनलाइन मार्केट प्लेस, अनलाइन सपिङ, कोठा भाडामा खोजिदिने भन्दै ठगी भइरहेकाले त्यस्तामा विश्वास नपरी आआफ्नो बैंक खाताको सही सदुपयोग गर्नुहोस्।’

यो सूचना देखेपछि गैरीधारा–९ ब्युरो जाने निधोमा पुगे र २३ पुसमा उजुरी दिए। गैरीधारा–९ लाई अहिले फसेको ४१ लाखको ब्याज कसरी तिर्ने भनेर धौ-धौ परेको छ।

‘के गर्नु? दुःख–सुख ब्याज तिरेर बसिरहेको छु,’ उनी भन्छन्, ‘घरमै बसी–बसी पैसा कमाउने लोभ पलाउँदा त्यो ठगीको दुनियाँ हो भन्ने थाहै पाइनँ।’

उस्तै शैलीमा आएका मेसेज हेर्दै टेलिग्राम छिर्दा अन्य चारजनाले पनि मोटो रकम गुमाएका छन्। गैरीधारा–९ को निवेदन दर्ता भएको चार दिनभित्र भक्तपुरका युवा गठ्ठाघर–१९ (सांकेतिक नाम) ब्युरो पुगेका थिए। ती पीडितले पनि गैरीधारा–९ जसरी ठगिएको र उस्तै प्रकृतिको विवरण उल्लेख गरी निवेदन दिएका छन्। उनको निवेदनमा ३४ लाख ७३ हजार ३०० रुपैयाँ ठगिएको जनाइएको छ।

आफ्नै र सापटी खोजेर टेलिग्राम प्रयोगकर्तालाई जम्मा गरेको रकम ठगी भएको उनको भनाइ छ। आफू यसबारे कुनै प्रतिक्रिया दिने अवस्थामा नरहेको उनी बताउँछन्। ‘साइबर ब्युरोमा निवेदन दिएको छु। अनुसन्धान हुँदै छ भन्ने कुरा आएको छ,’ ती पीडित भन्छन्, ‘कानुनी निकाय गुहारिसकेको छु। म केही भन्ने अवस्थामा छैन। यत्ति हो, म ठगिएको छु।’

साइबर ब्युरो

प्रहरी उपरीक्षक दीपक अवस्थीका अनुसार त्यसको १५ दिनपछि एक महिलाले पनि ब्युरोमा निवेदन दिइन्। ती पीडितले टेलिग्रामबाट आफ्नो ३७ लाख ९८ हजार १०० रुपैयाँ ठगी भएको निवेदनमा उल्लेख गरेकी छन्। उनी हत्तपत्त सम्पर्कमा आउँदिनन्।

यस्तै, ललितपुरकी पुल्चोक–१५ (सांकेतिक नाम) २७ साउनमा निवेदन लिएर ब्युरोमा गइन्। ती महिलाले पनि टेलिग्राम छिर्दा ३६ लाख ठगिएको उजुरी गरेकी थिइन्। उनले आफू ठगिएको घटनाबारे बताउन संकोच मानिन्।

मधेस प्रदेश–११ (सांकेतिक नाम) युवा २५ कात्तिकमा निवेदन लिएर ब्युरोमा पुगे। उनले भने ह्वाट्सएपबाट ठगिएको बताएका छन्। उनको निवेदनमा ३४ लाख रुपैयाँ ठगी भएको उल्लेख छ। उनी विद्यार्थी हुन्। ‘घरमा बसी–बसी’ पैसा कमाइ हुने मेसेज आउँदा सहज ढंगले कुराकानी गरिदिएको र त्यसले आफू नराम्रोसँग ठगीमा परेको ती पीडितको भनाइ छ।

उनी पनि आफू ठगिएको घटना खुलेर सुनाउन चाहँदैनन्। ‘म यो कुरा कतै भन्ने अवस्थामा छैन। यो मेरो गोपनीयताको कुरा हो,’ उनी भन्छन्।

यी पाँच जनालगायत ‘अनलाइन जब’ का नाममा सामाजिक सञ्जालमा राखिएका पोस्टभित्र छिर्दा विगत सात महिनामा एक हजार ७७७ जना ठगिएको उजुरी साइबर ब्युरोमा परेका छन्। ती उजुरीमा जम्मा ४८ करोड सात लाख ३३ हजार ५१२ रुपैयाँ ठगिएको उल्लेख छ।

प्रहरी उपरीक्षक अवस्थीका अनुसार निवेदन दिनेहरूले ‘अनलाइन जब’ को विज्ञापनभित्र छिर्दा टेलिग्राममा पुगेको र त्यहीँ ठगिएको बताएका छन्। ह्वाट्सएपमा ठगिएको भन्नेहरू अलि कम छन्।

पीडितको याचना पैसा फिर्ताको छ, तर यो एकदमै जटिल रहेको ब्युरोका अनुसन्धान अधिकृत बताउँछन्। यी पाँच ठूला घटनाको अनुसन्धान सिलसिलामा कोही पनि पक्राउ परेका छैनन्। केही बैंक खाता रोक्का राखेर अनुसन्धान थालिएको छ।

एक अनुसन्धान अधिकृतका अनुसार यस किसिमको अनलाइन ठगीमा अफ्रिकी, युरोपेली र भारतीय मोबाइल नम्बर प्रयोग भएको पाइएको छ। त्यो समूह कहाँ छ र त्यसले कसरी नेपालीसँग पहुँच पुर्‍याएको छ भन्नेसम्म प्रहरी पुग्न सकेको छैन।

यो समूहले व्यक्ति व्यक्तिको नम्बर तथा सामाजिक सञ्जालसम्म फैलिने गरी विज्ञापन दिने गरेको पाइएको छ। सो विज्ञापनमा घर बसी–बसी अनलाइन जब पाइनेलगायत आकर्षक विवरण आउने गरेका छन्।

ह्वाट्सएप र टेलिग्राममा आफूसँग जोडिन लगाएर कुराकानी सुरु गर्ने र पैसा लगानी गर्न उक्साउने तह एउटा छ। अर्को तह त्यसरी कुराकानीका क्रममा लगानी गर्ने व्यक्तिको रकम व्यवस्थापन गर्ने छ। दोस्रो तहलाई पहिलो तहले रकम व्यवस्थापनमा खटाएको घटनाक्रमले देखाएका छन्। दोस्रो तहका व्यक्तिको खाता नम्बर प्रयोग भएर पहिलो तहको गिरोहसम्म रकम पुग्ने गरेको छ।

‘तपाईंको खातामा यति पैसा आउँछ। त्यो पैसा हामीलाई पठाउनुहोस्। हामी सात–आठ प्रतिशत रकम कमिसन दिन्छौँ भनी खटाइएका व्यक्ति छन्,’ ती अनुसन्धान अधिकृत भन्छन्।

ठगी भएको अधिकांश रकम भने सीमापारि पुगिसकेको उनी बताउँछन्। त्यसरी खटाइएका अधिकांश व्यक्ति भारतसँग सीमा जोडिएका तराईका जिल्लामा देखिएका छन्। त्यो समूहले दुई–तीन तरिकाले पैसा सीमापारि पु‍र्‍याउने गरेको देखिएको छ। हातहातै पैसा बोकेर सीमापारि पु‍र्‍याउने समूह पनि छ। त्यसपछि एकै व्यक्तिका धेरै बैंक खाता खोल्ने, धेरैवटा एटीएम लिने र त्यसबाट पैसा झिकेर हुन्डी गर्ने समूह छ।

यस्तै, नेपालका बैंकका एटीएम भारतमा चल्ने गरेकाले उतै गएर पैसा झिक्ने गरेको भेटिएको ती अनुसन्धान अधिकृत बताउँछन्। बाइनान्स, पे–पालमार्फत नेपाली रकम खरिद–बिक्री गरेर पनि त्यो समूहले पैसा आफ्नो कब्जामा लिने गरेको पाइएको छ।

‘हामी दोस्रो तहका व्यक्तिहरूबारे अनुसन्धान गरिरहेका छौँ। जसले पैसा व्यवस्थापनको काम गरिरहेका छन्। पहिलो तह त पत्ता लगाउन सकिएको छैन,’ उनी भन्छन्।

कति व्यक्तिको रकम कहाँबाट आएको र कहाँ गएकोबारे सम्बन्धित बैंकसँग विवरण माग गरिएको ती अनुसन्धान अधिकृत बताउँछन्। ‘केही विदेशी आईपी एड्रेस प्रयोग भएको देखियो। इन्टरनेट सर्भिस प्रोभाइडरलाई चिठी लेखेर जानकारी माग्ने काम गरेका छौँ, उताबाट जवाफ आउने गरेको छैन,’ अवस्थी भन्छन्।

कतिपय सन्दर्भमा सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता भएको पनि छ। तर, यो प्रक्रिया एकदमै चुस्त हुनुपर्छ कि जसको खातामा रकम पठाइयो उसले झिक्नै नपाओस्। ‘तर, मानिसहरू यहाँ (ब्युरो) आइपुग्दा ढिलो भइसकेको हुन्छ। हामीले बैंकलाई चिठी लेखेर खाता रोक्का गर्न लगाउँदा पैसा झिकिसकिएको हुन्छ,’ ब्युरोका ती अधिकृत भन्छन्, ‘त्यसकारण यसरी ठगिएको पैसा फिर्ता ल्याउन एकदमै जटिल छ।’

अवस्थीका अनुसार जति पनि सामाजिक सञ्जाल छन्, तिनलाई नेपाली कानुनले छुँदैन। ‘यस्तो ठगीमा पारस्परिक कानुनी सहायता छैन,’ उनी भन्छन्, ‘नेपालले एकपटक टिकटक बन्द गरेपछि भने बल्ल त्यहाँ लेखेर सहयोग माग्न सकिने अवस्था आएको छ। हामीले कानुनी सहयोग माग्दा उनीहरू दिन बाध्य छैनन्।’