काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कात्तिक ३० गतेभित्र मतदाता नामावली दर्ता गराउन भन्दै तल्ला तहका समितिलाई परिपत्र गरेका छन्। महामन्त्रीद्वय थपा र शर्माले प्रदेश सभापतिहरूलाई परिपत्र गर्दै कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्न निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गरेर व्यापक सक्रियता बढाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्।

परिपत्रमार्फत उनीहरूले ४ बुँदामा तल्ला तहका सभापतिहरूको ध्यानाकर्षण गरेका छन्। जसमध्ये पहिलो छठ पर्वलगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई फरक फरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’ मा केन्द्रित गराउन प्रतिनिधिका रूपमा जिम्मेवारी तोक्ने भनेका छन्। दोस्रो जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाती राखेर ‘मतदाता दर्ता अभियान’ मा लाग्न महामन्त्रीद्वयले निर्देश गरेका छन्। यस्तै तेस्रो बुँदामा प्रदेश संसदीय दलमा रहेका सबैले आआफ्नो क्षेत्रमा बसेर ‘मतदाता दर्ता अभियान’ व्यापक बनाउन भनिएको छ।

‘जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने, दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिननै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउने‚’ परिपत्रको चौथो बुँदामा लेखिएको छ।

साथै उनीहरूले पार्टीको केन्द्रीय समिति बैठक बसिरहेकाले नवीन राजनीतिक सन्दर्भमा पार्टी केन्द्रीय समितिको जारी बैठकले उपयुक्त निर्णय लिने पनि जानकारी गराएका छन्।