काठमाडौँ
००:००:००
२० मंसिर २०८२, शनिबार

७ कार्तिक २०८२
अ+
अ-

विराटनगर। असोज २१ गतेदेखि बेपत्ता रहेकी मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको हत्या भएको पुष्टि भएको छ।

उनको शव शुक्रबार बिहान लेटाङ–२ र बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रभित्र टुक्रा–टुक्रा अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बिहान घाँस काट्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले अंशुको हत्या भएको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको बताए।“घटनास्थलको प्रारम्भिक अध्ययन र भेटिएका प्रमाणका आधारमा यो हत्या भएको स्पष्ट भएको छ,” प्रहरी उपरीक्षक कटवालले भने, “अपराधमा संलग्न व्यक्तिलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ।”

लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको शव अत्यन्तै बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा चप्पल, हाफप्यान्ट, घडी, भित्री वस्त्रलगायत वस्तुहरू फरक–फरक ठाउँमा फेला परेका थिए।

यो क्रूर र अमानवीय घटनाले गाउँभर शोक र आक्रोश छाएको छ। अंशुको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।