काठमाडौँ। अघिल्ला दुई खेलमा लगातार हार बेहोरेको नेपालले काभा कप पुरुष भलिबल (काभा कप फर मेन) मा पहिलो जित हात पारेको छ।
ढाकास्थित इन्डोर हलमा शुक्रबार सम्पन्न तेस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई पहिलो सेटमा नेपालले २५–२१ ले पाखा लगाएको थियो। दोस्रो सेटमा पनि नेपालले २५–२३ अंकसहित नतिजा आफ्नो पक्षमा पार्यो।
नेपाललाई अन्तिम सेटमा भने अघिल्लामा जस्तो संघर्ष गर्न परेन। उक्त सेट २५–१८ ले सहजै आफ्नो बनायो।
पहिलो खेलमा तुर्कमेनिस्तानसँग नेपालले ३–० को सोझो सेटमा हार बेहोरेको थियो। रोमाञ्चक रहेको दोस्रो खेलमा घरेलु टोली बाङ्लादेशसँग ३–२ को सेटमा हार बेहोर्न पुगेको थियो। पहिल जितसँगै नेपालले चार अंक पुर्याएको छ।