काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ कार्तिक २०८२
महेशविक्रम शाह
अ+
अ-

छापामारको छोरो  (२०६३) कथासंग्रहबाट मदन पुरस्कार जितेका साहित्यकार महेशविक्रम शाह भूतपूर्व डीआईजी पनि हुन्। उनी दुई दशकअघि मात्र शाकाहारी बनेका हुन्। उनीसँग नेपालन्युजले गरेको शाकाहारी-संवाद:

कुनै बेलाको मांसाहारी, पछि शाकाहारी बन्नुभयो। कुनै विशेष घटना वा कारण?

२०६१ सालमा योग सिक्न गएको पहिलो दिन नै गुरुले योग सिक्ने हो भने शाकाहारी बन्नुस् भन्नुभयो। त्यही वाणीबाट प्रेरित भएर शाकाहारी बनेँ, योग पनि सिकेँ।

तपाईंलाई मन पर्ने परिकार के हो?

दाल, भात, तरकारी र चटनी। विशेष गरी मलाई मासको बाक्लो दाल र टमाटरको चटनी मन पर्छ।

माछामासु नखाए डाइट पुग्दैन वा जीवन नै अधुरो भन्नेसम्म भेटिन्छन् नि?

प्रोटिन त दूध, दही, पनिर, गेडागुडी र सागसब्जीबाट जति पनि पाइन्छ। के हुँदा जीवन पूर्ण वा अधुरो हुन्छ भन्ने कुरा व्यक्तिविशेषको धारणामा निर्भर हुने कुरा हो।

मम नै खाएपछि भेज मम के खानु भनेर उडाउनेलाई के भन्नुहुन्छ?

मान्छेले आफ्नो चिन्ता गर्ने हो, आफूलाई मन लागेको खाने हो। अरूले खाएर तपाईंको पेट भरिने होइन, न त अरूले नखाएर तपाईं भोको रहने हो। आफूलाई मन लागेको खानुस् र रमाउनुस्।

महेशविक्रम शाह

शाकाहारी हुनुको घाटा पनि छ?

स्वदेशमा फरक परेको छैन, विदेशमा धेरै दुःख पाएको छु। सुडानमा हुँदा पार्टीहरूमा काँचो प्याज र टमाटर मात्र खाएर फर्किनुपरेको थियो।

आफैँले माछामासु पकाउनुपर्‍यो भने कुन परिकार रोज्नुहुन्छ?

यही दसैँका बेला पाहुनाका लागि मटन ग्रेभी र चिकेन रोस्ट पकाएको थिएँ। आफ्नो खास रोजाइ छैन।

शाकाहारी बन्नुअघि र बनेपछि तपाईंको दृष्टिकोणमा आएको कुनै महत्त्वपूर्ण हेरफेर?

शाकाहारी भएपछि दसैँमा वा अन्य बेला भाकल गरेर प्राणीको बलि दिन छोडेँ।