अनुभूति
मलाई पिसाबले च्यापेको छ। सु गर्ने ठाउँ कहाँ छ कोरियन भाषामा कसरी भन्ने? आफूसँग भाषा छैन।
छनदोंगले घरको आँगनमा गाडी रोक्यो। गाडीबाट ओर्लन मलाई इसारा गर्यो।
मालिक छनदोंग फ्युको घरवरिपरि अरू कुनै घर थिएन। झिँगटीको छानो भएको चिटिक्कको एकतले घरको आँगनछेउमा रंगीबिरंगी फूल फुलेका थिए। धूपी र सल्लाका बोट पनि थिए। हावामा फूलको बास्ना मगमगाइरहेको थियो। पैयुँका दुई ठूला रूख थिए, जसमा भर्खरै हरिया पात पलाएका थिए।
मे महिनाको मध्य भए पनि मंसिर महिनाको विराटनगरको चिसो बिहानजस्तो लाग्यो। मैले पातलो नीलो टिसर्ट र कालो जिन्स लगाएको थिएँ।
आँगनमा गाडी आइपुगेको चाल पाएपछि घरको मूलढोकाबाट एक महिला निस्किई। छनदोंगकी स्वास्नी रहिछे। त्यसपछि दुईजना बूढाबूढी देखापरे। उनीहरू छनदोंगका बाआमा रहेछन्।
छनदोंगले मलाई केही भन्यो। त्यसमध्ये ‘इन्सा’ शब्द बुझेँ। उसले ‘मेरा बा, आमा र स्वास्नीलाई ढोग’ भनेको रहेछ। (यो कुरा पछि बुझेँ।)
उसले भनेअनुसार तीनै जनालाई ढोगेँ। किताबमा पढेझैँ निकै झुकेर भनेँ, ‘आनेङहासेयो!’
तीनै जनाले ‘आनेङ’ भनेर मेरो ढोग स्विकारे।
छनदोंगले नभने पनि उसका बाआमा र स्वास्नीलाई ढोग्नेवाला थिएँ। उसले मलाई साँच्चिकै केही नजान्ने ग्वाँच ठानेर ढोग्नसमेत सिकायो। कोरियामा आफूभन्दा ठूलालाई झुकेर अभिवादन गर्ने चलन छ। नेपालमा भाषा पढ्दा कोरियन मास्टरले भनेको थियो, “कोरिया गएपछि त्यहाँको चलन र कानुन मान्नुपर्छ।”
मजदुरले मालिकका सातपुस्तेलाई ढोग्ने चलन त नेपालमा पनि छ। मालिक र मजदुरको सम्बन्ध जहाँ पनि लगभग एउटै हो।
छनदोंगकी स्वास्नी होचो कदकी छे। गोरो छाला भएको उसको अनुहार चम्किलो र हँसिलो थियो। भर्खर मेकअप गरेकी हुनुपर्छ, गाला अप्राकृतिक रूपमा राता र सुन्दर थिए। कपाल छोटो थियो। उमेर ४० मुनिकी देखिन्थी।
स्वास्नी भर्खरकी छे। पहिलो घर बिग्रेर दोस्रो घरबार गरेको होला भन्ने अनुमान गरेँ।
मेरो छेउमा आएर नामदोंगकी स्वास्नीले सुस्तरी सोधी, “इरुम मो हेयो?”
“मेरो नाम रमेश पोख्रेल हो,” मैले भनेँ।
उसले पहिलो झमटमै मेरो नाम सम्झन सकिनँ। कोसिस गरेर बडो दुःखले ‘रमेश’ भनी, ‘पोख्रेल’ भन्न सकिन।
आँगनको एकातिर पाली निस्किएको सानो गोदामघर थियो। पालीमुनि खाट थियो। छनदोंगले मलाई खाटमा बस्न इसारा गर्यो।
छनदोंग मूल घरभित्र पस्यो। उसको बूढो बा म नजिकै आएर बस्यो। बाको गाला चाउरी परिसकेको थियो। चस्मा लगाएको थियो। कपाल सेताम्मे थियो। ढाड हल्का कुप्रो थियो। यस्तो मान्छे देखेभेटे ‘हाराबाजी’ भन्नू भनेर नेपालमा मास्टरले सिकाएको थियो।
कुठाउँमा लुतो आउँदा मान्छेहरू भएकै ठाउँमा बेस्कन चिलाएझैँ मुखमा भाषा नभएकै बेला धेरै सोध्न मन लाग्दो रहेछ।
मैले उसलाई हाराबाजी (हजुरबा) सम्बोधन गरेँ।
उसले के के सोध्यो, मैले बुझिनँ। नाम के हो भनेको मात्र बुझेँ। आफ्नो नाम भनेँ। तर, बूढाले मेरो नाम खुट्याउन सकेन।
एकछिनपछि छनदोंगकी आमा पनि नजिकै आइन्। एकटकले मेरो अनुहार हेरिन्। त्यसपछि नाम सोधिन्। लोग्नेले झैँ उनले पनि मेरो नाम सम्झन सकिनन्।
उनी लोग्नेभन्दा निकै बूढी देखिन्थिन्। ढाड कुप्रिएर ज्यान ‘एल’ आकारको भइसकेको थियो। यस्तो बूढीमान्छे देखेभेटे ‘हाल्मोनी’ भन्नू भनेर नेपालमा मास्टरले सिकाएको थियो।
उनी मूल घरभित्रै फर्किइन्।
बूढो र म खाटको ओल्लोपल्लो कुनामा मौन बस्यौँ।
यहाँको भूगोल हेर्दा नेपालको पहाडी भूभागजस्तै छ। वसन्त ऋतु फर्किसकेकाले पहाड हरियो छ।
यहाँ मैले के काम गर्नुपर्छ, थाहा छैन। श्रम सम्झौतापत्रमा बाली उब्जनीमा काम गर्नुपर्छ भनी लेखेको थियो। कस्तो बाली, के बाली लेखेको थिएन।
केहीबेरमा छनदोंगकी आमा घरभित्रबाट फेरि बाहिर आइन्। उनको हातमा चकलेट र जुसको बोतल थियो। खा भनेर मलाई दिइन्। मैले हात थापेँ। ‘एकछिनमा खान्छु’ भनेर छेउमा राखेँ। तर, उनले हातको इसाराले खाइहाल् भन्ने आदेश दिइन्। मैले आधा आदेश मानेँ। जुस पिएँ, चकलेट खाइनँ।
बोल्न भाषा छैन।
सल्लाको हाँगामा बसेर काग कराउन थाल्यो। काग त नेपालकै जसरी ‘काँ काँ’ भन्दै कराएको छ। मान्छेको मात्र भाषा फरक हुँदो रहेछ। चराको भाषा त एउटै हुँदो रहेछ। मान्छेको जस्तो चराको देश नभएकाले भाषा नभएको होला। मान्छेले आफ्नो स्वार्थ, महत्त्वाकांक्षा, घमन्ड र बलले फरक देश बनायो। भाषा बनायो। चराका लागि त सिंगै पृथ्वी उसको देश हो।
अथवा, मलाई सबै कागको आवाज एकै लागेको हुनसक्छ। कागलाई पनि सबै मान्छेको आवाज एकै लाग्नसक्छ।
कोरियन भाषामा कागलाई के भन्छ, सोध्न खोजेँ। तर, भाषामा तागत पुगेन।
कुठाउँमा लुतो आउँदा मान्छेहरू भएकै ठाउँमा बेस्कन चिलाएझैँ मुखमा भाषा नभएकै बेला धेरै सोध्न मन लाग्दो रहेछ।
‘कागलाई के भन्छ?’
‘सल्लाको बोटलाई के भन्छ?’
‘त्यो नीलो फूलको नाम के हो?’
कागले जस्तै आवाज निकालेर, रूखमा बसेको कागतिर चौरऔँलाले देखाउँदै ‘इरुम’ भन्न लाग्दै थिएँ, साहु छनदोंग घरबाट फुत्त बाहिर निस्कियो र गाडीमा चढ्न इसारा गर्यो। हतारिँदै गाडीमा चढेँ।
कागलाई कोरियन भाषामा के भन्छ? जान्न पाइनँ।
मैले कागको नाम जान्न खोजेको दुई मिनेट बित्दानबित्दै छनदोंगले प्लास्टिकको छानो भएको ठूलो गोदामघरभित्र गाडी हुल्यो। मलाई गाडीबाट उत्रन इसारा गर्यो। उसले लगेज पनि झार् भन्यो।
म ठेगानामा आइपुगेछु।
यहाँ त बस्ने ठाउँ नै छैन, कहाँ बस्ने?
लगेज झारेँ। तर, बस्ने ठाउँबारे सोध्न सकिनँ।
गोदामघरको एउटा कुनामा कार्टुन र प्लास्टिकका टोकरीको चाङ थियो। त्यहाँ बेल्चा, कुटो, कोदालो, हँसिया र एउटा हाते ट्य्राक्टर पनि थियो।
गोदामघरको अर्को कुनामा एउटा कन्टेनर रहेछ। त्यो मालवाहक ट्रकको कन्टेनरजस्तो थियो। कन्टेनरसँगै टाँसिएको सानो भान्सा पनि थियो।
छनदोंगले कन्टेनरको ढोका खोल्यो अनि हातले इसारा गर्दै भन्यो, ‘अब तँ यहाँ सुत्नुपर्छ।’
यति ठूलो गोदाममा एक्लै कसरी बस्ने? सुत्ने ठाउँ र निर्जन वातावरण देखेर आत्तिएँ।
कोठामा खाट थिएन। भुइँमा इलेक्ट्रिक म्याट थियो। छेउमा दराज र टेबल थियो। भित्ताको र्याकमा कोरियन भाषाका किताबहरू थिए। कोठा सफा थियो।
मलाई पिसाबले च्यापेको छ। सु गर्ने ठाउँ कहाँ छ कोरियन भाषामा कसरी भन्ने? आफूसँग भाषा छैन।
छनदोंग भित्र पस्यो। मेरो लगेज देखाउँदै खोल्न भन्यो।
लगेज खोलेँ। कपडा पट्याएर दराजमा उसैले राखिदियो। मैले आभार प्रकट गर्दै ‘खाम्साहाम्निदा’ भनेँ।
टेबलमा एउटा पुरानो क्यासेट प्लेयर रहेछ। उसले त्यसमा चक्का हाल्यो। गीत बजायो। उसले केही भन्यो। तर, बुझिनँ। सायद भनेको होला, ‘बोर भयौ भने गीत सुन्नू।’
पटक्कै भाषा नजान्ने मान्छेलाई कोरियन भाषाको गीत सुन भन्ने साहुको फेला परेँ भन्ने लाग्यो। फेरि सम्झिएँ, संगीतको भाषा हुँदैन। ‘गङ्नम स्टाइल’ मा थुप्रैपल्ट ब्रेकडान्स हानेको याद भयो।
एकछिनपछि उसका बाआमा र स्वास्नी पनि गोदाममा आइपुगे।
उसकी स्वास्नीले थालमा खानेकुरा ल्याई। ‘खानेकुरा खान्छस्?’ भनेर इसारामा सोधी। खान्नँ भन्न टाउको हल्लाएँ।
खान्नँ भन्नुको कारण खान मन नलाग्नु हैन, खाने साधन चपस्टिक हुनु हो। कसरी चपस्टिकले च्यापेर मुखभित्र हुल्नु?
छनदोंगले केही भन्यो। उसकी स्वास्नीले काँटा लिएर आई। मेरो हातमा थमाई। काँटाले रोपेर खानेकुराको डल्लो मुखभित्र हुलेँ। मीठो रहेछ। (चामलको पीठोबाट बनेको परिकार रहेछ, जसलाई ‘तक’ भनिँदो रहेछ।)
छनदोंगले इसारा गरेर अर्को डल्लो पनि खा भन्यो। तर, अर्को खान लाज लाग्यो। खाइनँ।
उनीहरूले मीठो लागेन होला भन्ठाने।
मलाई पिसाबले च्यापेको छ। सु गर्ने ठाउँ कहाँ छ कोरियन भाषामा कसरी भन्ने? आफूसँग भाषा छैन।
शौचालयलाई कोरियनमा के भनिन्छ? पढेको थिएँ। बिर्सिएँ।
कोरिया आएर आमासँग कुरा गरेपछि मात्र ख्याल भयो, म त परदेशमा छु। अब मसँग परिवार छैन। आफन्त र साथीभाइ छैनन्। देश छैन। सबैभन्दा ठूलो कुरा त, अब मसँग बोल्ने भाषा छैन। म आवाजविहीन निरीह मान्छे भएँ भन्ने थाहा भयो।
इसारा गरेँ। दायाँ हातको कान्छी औँला उठाएँ र बूढी औँलाले बाँकी तीन औँला मोडेर थिचेँ। यति गर्दा उनीहरूले बुझ्नुपर्थ्यो– मलाई सु आयो। नेपालमा छँदा यही संकेत काफी हुन्थ्यो।
‘एँ अँ!’ भन्ने भाव छनदोंगको अनुहारमा देखियो।
खुसी भएँ।
तर, छनदोंगले चर्पी देखाएन। मलाई केही भन्यो। बुझिनँ। उसकी स्वास्नी पनि बोली। बुझिनँ।
छनदोंगले खल्तीबाट मोबाइल निकाल्यो। र, कानमा राखेर संकेत गर्दै फेरि केही भन्यो। सोधेको रहेछ, ‘घरमा फोन गर्छस्?’ संकेतपछि बल्ल बुझेँ।
पिसाब लागेको छ, पहिला पिसाब गर्छु भन्न फेरि कान्छी औँला देखाएँ।
उसले फेरि पनि चर्पी देखाएन। मोबाइल मेरो हातमा दियो र फोन गर् भन्ने इसारा गर्यो।
कहाँ फोन गर्ने? आमाको नम्बर डायल गरेँ।
घरबाट हिँडेको चार दिन भएको छ। यत्तिका दिन आमासँग कुरा भएको छैन। आत्तिइरहनुभएको रहेछ। आवाजबाट थाहा भयो। आमाले सोध्नुभयो, “सन्चै छस्? अनि खाना खाइस्?”
“सब ठीकठाक छ। यहाँ राम्रो मात्र छ,” भनेँ। आमाले पत्याउनुभयो।
घरबाट एयरपोर्ट एक्लै आएको थिएँ। देश छाड्दा मनमा दुःखको भाव थिएन। बरु खुल्दुलीमय उत्साह थियो, कोरिया कस्तो होला?
देश, परिवार, आफन्त, साथीभाइ, भाषा कसैको पनि माया लागेको थिएन। कोरिया आएर आमासँग कुरा गरेपछि मात्र ख्याल भयो, म त परदेशमा छु। अब मसँग परिवार छैन। आफन्त र साथीभाइ छैनन्। देश छैन। सबैभन्दा ठूलो कुरा त, अब मसँग बोल्ने भाषा छैन। म आवाजविहीन निरीह मान्छे भएँ भन्ने थाहा भयो।
त्योभन्दा पनि पीरको कुरा, मलाई पिसाबले च्यापेर खपिनसक्नु बनाएको छ।
आमासँग कुरा गरिसकेपछि छनदोंगलाई उसैगरी कान्छी औँला देखाएँ।
उसका आँखा छक्क परे। उसकी स्वास्नी पनि छक्क परी।
मलाई पिसाबले खुब च्यापेको छ, चर्पी देखाइदे भन्न कान्छी औँला मात्र छ।
अब के उपाय लगाउनु? कस्तो संकेत गर्नु?
देब्रे हात पिसाब फेर्ने ठाउँतिर बिस्तारै लगेर पेन्टको जिपमाथि राखेँ। दायाँ हातको कान्छी औँला फेरि उसैगरी देखाएँ।
छनदोंग बेस्मारी हाँस्यो। हाँसिसकेपछि केही भन्यो। बुझिनँ। हैरान भएँ।
पछि कोरियन भाषा र चालचलन बुझ्दै गएँ। कोरियामा कसैले कान्छी औँला उठाउँछ भने त्यसले प्रिय व्यक्तिलाई जनाउँदो रहेछ। पिसाब फेर्ने ठाउँतिर देखाउँदै कान्छी औँला उठाउनु त गम्भीर अर्थ लाग्दो रहेछ।
छनदोंगले फेरि मलाई फोन दियो। मैले ‘हैन’ भन्न मुन्टो हल्लाएँ।
“अनि के त?” ऊ रिसायो।
मलाई मालिक रिसाएपछि डर लाग्छ। नेपालमा पनि यस्तै हुन्थ्यो। रिसाएको मालिक र हानुवा गोरु सधैँ उस्तै लाग्छ।
छनदोंग उठेर हिँड्न लाग्यो। केही सम्झेझैँ गरेर उभियो र हातको इसाराले मलाई डाक्यो। ऊ अघि लाग्यो, मैले पछ्याएँ। उसले प्लास्टिकका छाना भएका ठूल्ठूला टनेल हाउस डुलायो। जहाँ भर्खरै जोतेको थियो। माटो सुक्खा थियो।
टनेल हाउसको एक कुनामा मूत्रत्याग गरेँ।
मैले मुतेको छनदोंगले देख्यो। उसले बुझ्यो– नेपालीले मुत्न जान्छु भन्दा कान्छी औँला देखाउँछ।
एक फेरो डुलेपछि ऊ स्वास्नी र बाआमा भएको ठाउँमा पुग्यो। उनीहरूसँग केही भन्यो। उसका स्वास्नी र बाआमा मजाले हाँसे।
मेरै कुरा गरेर हाँसे। मलाई थाहा भयो।
कोरियामा सबैले सुन्ने गरी पिसाब फेर्ने ठाउँ कता छ भनेर सोध्न हुँदैनथ्यो कि? वा, मालिकले देख्ने गरी उभिएर मुत्न हुँदैनथ्यो कि? मैले अपमान पो गरेँ कि? ठ्याक्कै यो कुरा हो भनेर मेसो पाइनँ।
पछि कोरियन भाषा र चालचलन बुझ्दै गएँ। कोरियामा कसैले कान्छी औँला उठाउँछ भने त्यसले प्रिय व्यक्तिलाई जनाउँदो रहेछ। पिसाब फेर्ने ठाउँतिर देखाउँदै कान्छी औँला उठाउनु त गम्भीर अर्थ लाग्दो रहेछ। जुन तपाईं पाठकले बुझिसक्नुभयो।