राजनीतिक दलहरूसँग संवाद गरेर, देशी-विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वास बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकारको ध्यान पुगेन
डडेलधुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस नगर समिति परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाटमा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए। ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो। जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो। आन्दोलनको आदेश पनि त्यही हो। यसबाट सरकार विचलित नहोस्,’ उनले भने।
सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनाव गर्नु भन्ने नै रहेकाले सरकारलाई कत्ति पनि विचलित नभएर त्यसमा थप सक्रियता बढाउन महरले सुझाएका छन्। ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ? यो प्रश्न आमजनताको हो। त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ,’ उनले भने।
राजनीतिक दलहरूसँग संवाद गरेर, देशी-विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वास बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकारको ध्यान पुग्न नसकेको महरले टिप्पणी गरेका छन्। ‘मतदानमा दलहरूले भाग लिन वातावरण बनाउने र जनतालाई मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने वातावरण मिलाउने काम सरकारले गर्नुपर्छ। त्यो हुँदा निर्वाचन भइहाल्छ। दलहरूले चुनाव बहिष्कार गर्छौं भनेका छैनौं। हाम्रो माग नै शान्तिपूर्ण र समयमा निर्वाचन होस् भन्ने हो,’ उनले भने।
‘संविधानको धारामा ग्रहण लागेको छ। त्यो ग्रहण हटाउन पुन: कानुन निर्माण गर्ने क्षेत्र संसद्लाई तयार गर्नुपर्छ।’
अहिलेको अवस्थामा सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको उनले आरोप लगाएका छन्। ‘दलहरूमाथि पूर्वाग्रही रुपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्योभन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ। त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ। आफ्नो काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ,’ उनले भने।
उनले जननिर्वाचित सरकार जस्तो एक महिनाको ‘हनिमुन पिरियड’ हेरिरहेझैँ गरिरहेको आरोप लगाएका छन्। आफ्नो अधिकारभन्दा बाहिरका क्षेत्रमा गएर कर्मचारीको सरुवालगायत क्रियाकलाप गरिरहेकाले उनले उद्देश्य भुलेर सरकारलाई यस्ता गतिविधिमा समय खेर नफाल्न आग्रह गरेका छन्।
कांग्रेसको धारणा पनि सरकार फागुन २१ गते नर्वाचन सम्पन्न गर्ने बाटोमा अर्जुनदृष्टि लगाएर अघि बढोस् भन्ने रहेको उनले प्रस्ट पारेका छन्। कात्तिक १३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा चुनावी वातावरणका पक्षमा कांग्रेसले निर्णय नै गरेर अघि बढ्ने उनले बताए। संसद् पुन:स्थापनाको विषय कुनै विकल्प नबचेको अवस्थामा मात्र सम्भव हुने उनले बताए।
‘संविधानको धारामा ग्रहण लागेको छ। त्यो ग्रहण हटाउन पुन: कानुन निर्माण गर्ने क्षेत्र संसद्लाई तयार गर्नुपर्छ,’ उनले भने। उनले कांग्रेसले पनि आगामी केन्द्रीय समिति बैठकबाट यही विषयलाई गाइडलाइन बनाउने बताए