काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अबिच्युरी

जेन-जी आन्दोलनपछि पनि सुध्रिने छाँटकाँट नदेखाएका दल र तिनका नेता देख्दा मैले केही दिनअघि मात्र ‘हम नही सुधरेंगे’ सिनेमासँगै असरानीलाई पनि सम्झिएको थिएँ। सायद नमीठो खबर आउँदै छ भन्ने टेलिप्याथी थियो कि? एकाएक असरानीको निधनको खबर सुनियो।

८ कार्तिक २०८२
दिवंगत बलिउड अभिनेता असरानी।
अ+
अ-

‘अरे भाइ, तुम तो असरानी जैसे लगते हो? कमेडी वमेडी किया है क्या?’ भारतीय अभिनेता अन्नु कपुरले भने।

बेजोड अभिनेता अन्नु कपुर अलि अलि गायक पनि हुन्। २५ वर्षअघि काठमाडौँमा अन्नु कपुरको लाइभ अन्ताक्षरी कार्यक्रम आयोजना हुँदा बिन्दासले त्यो कार्यक्रमको व्यवस्थापन समूहमा रहेर भूमिका निर्वाह गर्ने मौका पाएको थियो।

अन्नुलाई विमानस्थलमा ‘रिसिभ’ गर्ने, उनी बस्ने होटल एभरेस्टसम्म पुर्‍याउने, रसियन कल्चरल सेन्टरमा अडिसनको तारतम्य मिलाउने र हालको जेन-जी आक्रोशको आगोमा खरानी भइसकेको संघीय संसद् भवन (तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)मा फाइनल सोको आयोजना गर्नेसम्मका काममा बिन्दासले अन्नु कपुरसँग सहकार्य गर्ने मौका पाएको थियो।

विमानस्थलमा ‘रिसिभ’ गर्न जाँदा नै अन्नु कपुरले मलाई देखेर भनिहाले, ‘तिमी त असरानीजस्तै देखिन्छौ, मेलामा हराएका थियौ कि?’

बलिउड कलाकार अन्नु कपुरसँग पङ्क्तिकार

‘अवश्य, हामी मेलामा हराएका थियौँ, तर अघिल्लो जुनीमा,’ मैले भनेँ।

अन्नु कपुर हाँसे, खित्का छाडेर।

०००

‘ईश्वरको कृपाले तेरो घरको गाईले अबदेखि दूधको साटो पानी देओस् र तँ त्यही पानीमा डुबेर मरेस्।’

यो संवाद हिन्दी सिनेमा मालामाल विक्लीको हो, जसमा कलाकार असरानी अर्का कलाकार ओम पुरीलाई सराप्दै यसो भनिरहेका देखिन्छन्। चिठ्ठा अर्थात् लोटरीलाई विषयवस्तु बनाइएको मालामाल विक्लीमा असरानीको अभिनय हेरेर म जति हाँसेको थिएँ, त्योभन्दा बढी असरानीको हम नही सुधरेंगे भन्ने सिनेमा हेरेर हाँसेको थिएँ, १९८० तिरै।

जेन-जी आन्दोलनले धक्का दिइसकेपछि पनि अझै सुध्रिने छाँटकाँट नदेखाएका दल र तिनका नेता देख्दा मैले केही दिनअघि मात्र हम नही सुधरेंगे  सिनेमासँगै असरानीलाई पनि सम्झिएको थिएँ। सायद नमीठो खबर आउँदै छ भन्ने टेलिप्याथी थियो कि? एकाएक असरानीको निधनको खबर सुनियो।

‘असरानी स्टाइल’ को अभिशाप

हिन्दी सिनेमाका हास्य सम्राट् असरानीसँग म पनि कुनै न कुनै रूपमा जोडिएको रहेछु, फ्ल्यासब्याकमा।

‘कुन रानीले भाँडा माझिन्छ?’

‘खरानीले’

‘कुन रानीले हँसाउँछ?’

‘…..’

स्कुल पढ्दा साथीहरूले सोधेको यो पछिल्लो प्रश्नको उत्तर मैले त्यतिबेला ठम्याएँ, जब मैले शोले हेरेँ। साँझ आएर साथीहरूलाई भनेँ, ‘तिमीहरूले कुन रानीले हँसाउछ भनेको हैन? त्यति जाबो प्रश्नको उत्तर पनि नआउने हो र?’

‘के हो त?’ उनीहरूले सोधे।

‘असरानी,’ मैले भनेँ।

‘ठीक ठीक,’ उनीहरूले भने।

प्रश्नको सही उत्तर दिन पाउँदाको यो गर्वबोधले मलाई आजसम्म प्रेरणा दिँदै आएको छ। ‘असरानी’ मेरा लागि उत्तर मात्र थिएन, पढाइमा ध्यान दिने, परीक्षाका हरेक प्रश्नहरूको सही उत्तर दिने र ‘पढी गुनी ज्ञानी भई देशको सेवा गर्ने’ उतिबेलाको ‘रेडिमेड’ सपना साकार पार्ने प्रेरणा पनि थियो। भलै, पढी गुनी ज्ञानी भइयो कि भइएन, देशको सेवा गरियो कि गरिएन, त्यो भिन्नै कुरा हो, तर असरानी मेरो जीवनकै पहिलो उत्तर थियो।

यो त्यतिबेलाको कुरा हो, जतिबेला नेपालमा फिल्मी शैलीले बम विस्फोट भएको थियो। १० जेठ २०४२ बाट नेपाली कांग्रेसले सत्याग्रह थाल्यो। सत्याग्रह चलिरहेकै बेला सोही वर्षको ६ असारमा नारायणहिटी दरबार, राष्ट्रिय पञ्चायत भवन, सिंहदरबारको मुख्य ढोका र अन्नपूर्ण होटल स्वागत कक्षमा बम विस्फोट भयो। विस्फोटमा पाँचजनाको मृत्यु भयो।

बम विस्फोटलगत्तै पञ्चायती सरकारले धमाधम बहुदलवादी कांग्रेस र कम्युनिस्टलाई पक्राउ गर्न थाल्यो। सोही मेसोमा भैरहवामा तत्कालीन दैनिक निर्णयका सम्पादक अर्थात् मेरा पिताजी रामचन्द्र भट्टराई पनि पक्राउ परे। पिताजीका खातिर साँझ घरबाट खाना बोकेर दाजुसँगै आवा अफिसनजिकैको प्रहरी कार्यालय पुग्दा मैले हिटलरी शैलीको जुँगा पालेको एक प्रहरीलाई देखेँ।

‘यो त शोलेको असरानीजस्तो छ,’ मैले भनेँ।

‘नकरा, बालाई त थुनिहाल्यो, तँलाई पनि जाक्लान्,’ दाइले भने।

केही दिनअघि मात्र भैरहवाको पञ्चरत्न सिनेमा हलमा शोले  ‘पिक्चर’ हेरिसकेको थिएँ, जतिबेला म भर्खर १४ वर्षको थिएँ। विरु (धर्मेन्द्र), जय (अमिताभ बच्चन), ठाकुर (सञ्जीवकुमार) र गब्बर सिंह (अमजद खान)को मात्र हैन, ‘मै अंग्रेज के जमानेका जेलर हुँ’ भन्ने असरानीको पात्र विम्ब मेरो मस्तिष्कमा गडिसकेको थियो।

हुन त मैले महमुद, जोनी वाकर, केस्टो मुखर्जी, जगदीप, कादर खान, शक्ति कपुर, टुनटुनदेखि लक्ष्मीकान्त ब्रेडे,जोनी लिभर, अर्सद वारसी, राजपाल यादवसम्मका कलाकारका सिनेमा हेरेको छु, हाँसेको छु, रमाएको छु। तर, असरानीको छाप कस्तो पर्‍यो भने तिनताक हिरो को छ, हिरोनी को छ भन्दा पनि ‘सिनेमामा असरानी छ, खुब हँसाउछ’ भन्नासाथ हामी सिनेमा हेर्न दौडन्थ्यौँ। गोजीमा दाम टन्न भए ड्रेस सर्कल, कम भए प्रथम श्रेणी, नभए दुई रुपैयाँवाला ‘फ्रन्ट बेन्च’ त भइहाल्यो। मजा के भने, असरानी पर्दामा देखिनासाथ हामी त्यसै ‘खितखित खितखित’ गरिहाल्थ्यौँं, उसले केही बोल्न पाएको हुँदैन, ‘हँसाउने मान्छे आयो’ भन्नासाथ हाँसिहाल्ने। त्यसमाथि असरानी।

मलाई असरानी भनेकोमा थ्यांक यु विष्णुमाया। किनकि, असरानी भनेका महान् कलाकार हुन्। हास्यकलाका उस्ताद असरानी संसारबाट बिदा त भएका छन्, तर उनले आजसम्म जजसलाई हँसाए, उनीहरूको हाँसो सर्वत्र ब्रह्माण्डमा गुन्जिरहेकै छ।

केही दिनपछि जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहले बम काण्डको जिम्मा लिएपछि पिताजीलाई रिहा गरियो। भैरहवा कारागारमा पिताजीलाई लिन जाँदा ‘सुरमा भोपाली’ उभिएका थिए, त्यसबेलाको खाकी रंगको युनिफर्ममा।

‘अंकल, तपाईं त असरानीजस्तै हुनुहुन्छ, हि हि हि,’ चुलबुले केटोले भनिहाल्यो।

सुरक्षार्थ खटिएको प्रहरीलाई कुनै हिन्दी सिनेमाको हास्य कलाकारसँग दाँजेको मन नपर्नु स्वाभाविकै थियो। उनले मलाई तर्साउन राइफल तेर्स्याउन लागेजस्तो गरे। म त्यहाँबाट रफुचक्कर भएँ।

यी त हल्काफुल्का कुरा भए। ‘असरानी’ ले मेरो जीवनमा पारेको मुख्य असर भने ह्युमरस हैन, ट्र्याजेडिक छ।

केटाकेटीमा मेरो गोलो टाउको, गोरो मुहार, कर्ली परेको कपाल करिब करिब असरानीजस्तै देखिन्थ्यो। उचाइ पनि करिब करिब उस्तै। अझ असरानीभन्दा होचै। अनि हँसीमजाक पनि गरिरहने। त्यसैले साथीभाइले जिस्क्याएर ‘जोकर’ भनिरहन्थे।

बाल्यकालमा पङ्क्तिकार

भैरहवा, नारायणथानस्थित इन्द्रराज्य लक्ष्मी मावि (कन्या स्कुल)मा कक्षा ७ मा पढ्दा मैले विष्णुमाया नाम गरेकी सहपाठीलाई मन पराएको थिएँ। मनको कुरा भन्न सकिरहेको थिइनँ। तिनताक पूर्वव्यावसायिक शिक्षाअन्तर्गत ‘पाक शिक्षा’ पनि पर्थ्यो र निर्धारित परिकार पकाएर गुरु-गुरुआमालाई चखाएको खण्डमा र उनीहरूले मीठो मानेको खण्डमा व्यावहारिक परीक्षाको नम्बर पाइन्थ्यो।

परिकार तयार गर्ने समूहमा एकपटक विष्णुमाया, अन्जना र मलाई सँगै राखिदिए। हामीले पकाउनुपर्ने थियो, गरमागरम ‘हलुवा’। मै अघि सरेँ, ‘पवन मिष्ठान्न भण्डारको भन्दा दामी हलुवा पकाउँछु’ भन्दै। घरमा कहिलेकाहीँ सुजी भुटभाट पारेर, गडी (नरिवल) राखेर हलुवा बनाएर खाइन्थ्यो। मैले कराहीमा सुजी भुट्ने र पानी हाल्ने बेला भएपछि विष्णुमाया र अन्जनाले पानी हाल्ने कुरा भयो।

पकाउँदै गर्दा सुजी तलपट्टि बढी नै भुटिएछ, माथि सेतै। ‘पानी हाल’ भन्न ढिलो गर्दा हलुवा बढी नै रातो भएछ। तैपनि, पानी सुकेर सुजी फुलेपछि ‘पाक्यो’ भनेर चुलोबाट कराही निकालेर ढकनीले ढाकियो।

अब सबैले तयार गरेका परिकार चाख्ने बेला भयो। कसैले चुकाउनी, कसैले पुरी, कसैले खीर, कसैले बुनिया (लड्डुका दाना) र कसैले त पेठासमेत बनाए। टिचरहरू आएर एक एक गर्दै परिकार चाख्न थाले। हरेक परिकार चाखेपछि ‘वाह, क्या मीठो, गज्जब’ भन्दै आएका टिचरहरूले हाम्रो हलुवा चाख्नासाथ भनिहाले, ‘छ्या कति नमीठो, तीतो न तीतो, हलुवामा चिनीको साटो मेथी हालेको हो?’

सबैले हामीतर्फ हेर्दै खिल्ली उडाए। हामी हास्यका पात्रसरह भयौँ। हाम्रो समूह खिन्न भयो। मेरै कारणले गर्दा हलुवा डढेको ठहरियो। जे होस्, प्राक्टिकलमा नम्बर कम आउने भो भन्ने कुराले हैन, बरु त्यो दिन मेरो मन अर्कै कुराले कुँडियो। साँझ फर्किने बेलामा विष्णुमायाले अन्जनासँग भनेको सुनेँ, ‘त्यो जोकर असरानीले बनाएको हलुवा पनि कहीँ मीठो हुन्छ? साला जोकरले हाम्रोसमेत नम्बर नआउने बनायो। अलच्छिना असरानी मोरो।’

‘असरानी’ हास्य अभिनेता किन नहुन्, मेरा लागि असरानी स्टाइल अफाप भयो। कर्ली कपालप्रति आफैँमा घृणाभाव जाग्यो। अनि मैले ‘असरानी लुक’ को घना कर्ली कपाल छाँटिन मात्र, भर्खर प्रदर्शनमा आएको सिनेमा हिरोका नायक जेकी श्राफ स्टाइल कपाल बनाउन थालेँ, निधारमा पट्टीसमेत बाँध्न थालेँ। कक्षाभित्र पट्टी निकाल्थेँ, बिदा भएपछि पूरै ज्याकीकै पारामा सिटी बजाउँदै, सान झार्दै हिँड्थेँ। तर, विष्णुमायाले मात्र हैन, अरू साथीहरूले पनि मलाई कहिल्यै ज्याकी मानेनन्, असरानी नै ठाने, जुन मेरो जीवनको कमेडी मात्र हैन, ‘ट्र्याजेडी’ नै थियो त्यतिबेला।

आज भने सहर्ष भन्छु– मलाई असरानी भनेकोमा थ्यांक यु विष्णुमाया। किनकि, असरानी भनेका महान् कलाकार हुन्। हास्यकलाका उस्ताद असरानी संसारबाट बिदा त भएका छन्, तर उनले आजसम्म जजसलाई हँसाए, उनीहरूको हाँसो सर्वत्र ब्रह्माण्डमा गुन्जिरहेकै छ।

भित्ता, पोस्टर र सपनाहरू

असरानीको जन्म जयपुरको गुलाबी सहरमा भएको थियो। बुबा ठाकुरदास जेठानन्द असरानीको जयपुरमा कार्पेट र साडीको व्यवसाय थियो। भारत-पाकिस्तान विभाजनपछि असरानीको परिवार कराँचीबाट जयपुर बसाइ सरेको थियो। मध्यमवर्गीय सिन्धी परिवारमा जन्मिएका असरानीले जयपुरको सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेपछि राजस्थान कलेजबाट स्नातक डिग्री हासिल गरेका थिए। पढ्दापढ्दै खर्च जोहो गर्न जयपुरको अल इन्डिया रेडियोमा भोइस आर्टिस्टको भूमिकाबाट करियर थालेका असरानीको आवाज र अभिनयले त्यतिबेलै सबैको ध्यान आकर्षित गरेको थियो।

असरानी सिनेमामा आउनुअघिको एउटा किस्सा चर्चित छ। किस्सा त्यतिबेलाको हो, जब असरानी एमआई रोडमा साथीसँग साइकल चलाइरहेका थिए। असरानी साइकलको अगाडि बसिरहेका थिए र एउटा खुट्टा ह्यान्डल बारमा झुन्ड्याएर जोसका साथ गफ लडाइरहेका थिए।

‘साइकल रोक!’ सरकारी मोटर ग्यारेजबाट गुज्रिरहेकै बेला अचानक इसारा गर्दै असरानीले आफ्ना साथीलाई भने।

साइकल रोकियो। असरानी सीधै मेहरबान भन्ने सिनेमाको होर्डिङनेर पुगे।

‘यो हेर, एकदिन मेरो फिल्मको पोस्टर पनि यहाँ हुनेछ,’ पोस्टर देखाउँदै मुस्कुराउँदै असरानीले भने।

‘हो भाइ, यो पक्कै हुनेछ,’ साथीले नपत्याएझैं गरी भने।

नभन्दै, असरानीको ‘डेस्टिनी’ ले आफ्नो बाटो तय गरिहाल्यो। केही महिनापछि त्यही ठाउँमा, त्यही भित्तामा हरे काँच की चुडियाँ  सिनेमाको पोस्टर टाँसियो। विश्वजीत, नैना साहु, हेलेन र राजेन्द्रनाथ जस्ता स्टारहरूसँगै त्यो पोस्टरको एक कुनामा असरानीको अनुहार पनि चम्किरहेको थियो।

त्यो खुसीको क्षण केवल असरानीको थिएन, अपितु हरेक आकांक्षी कलाकारको विजय थियो। यदि सपनाहरू सत्य छन् भने भित्ताहरूले अभिवादन गर्छन् भन्ने प्रमाण थियो।

त्यो भित्ताको के कुरा, असरानी त दर्शकहरूको दिलकै भित्तामा कुँदिए, स्वर्ण अक्षरले लेखिएको अभिनन्दनसहित।

भारतीय सिनेमामा सबैभन्दा लामो समयसम्म सक्रिय हास्य कलाकारमध्ये एक थिए, असरानी। पाँच दशक लामो करिअरमा उनले ३५० सिनेमामा काम गरेका छन्। पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट अभिनय सिकेर आफ्नो प्रतिभा तिखारेका असरानीले सन् १९६० को दशकको मध्यतिरबाट हिन्दी सिने जगत्‌मा प्रवेश गरेका हुन्।

असरानीका हकमा त यो दिवाली हयाप्पी भयो होला, किनकि उनले दुःखकष्टले भरिएको संसारबाट मुक्ति पाए, सके मोक्ष नै पाए, तर हामी उनका डाइहार्ट फ्यानलाई उनको महाप्रस्थानको खबरले स्तब्ध बनायो।

गम्भीर र सहायक भूमिकाबाट करियर थालेका असरानीको हास्य प्रतिभा चाँडै उजागर भइहाल्यो। फलस्वरूप सन् १९७० देखि १९८० को दशकमा उनी हिन्दी सिनेमाको अपरिहार्य, परिचित र मुख्य अनुहार बन्न पुगे, जसमा उनले प्रायः प्यारो मूर्ख, समस्याले घेरिएर आजित भएको हाकिम या हँस्यौलो पाराको सहायक भूमिका निर्वाह गरे। ‘कमिक टाइमिङ’ र अनुहारको भावकै कारण हरेक निर्देशकले रुचाएका कलाकार बने, असरानी। शोले र चुपके चुपके जस्ता सिनेमामा सम्झनलायक अभिनय गरेका असरानीले शोलेमा खेलेको जर्मनका नाजी शासक हिटलरकै गेटअप झल्काउने सुरमा भोपालीको भूमिका निकै चर्चित भयो।

गुजराती, राजस्थानीलगायत कैयौँ भाषाका सिनेमामा काम गरेका असरानीले महमुद, राजेश खन्ना र पछिल्लो कालखण्डमा गोविन्दाजस्ता अभिनेतासँग समेत हास्य अभिनयको रंग छरे।

‘पकौडा बेच्यौँ, तर मगन्ते भएनौँ’

ठीक ११ महिनाअघि अर्थात् २३ नोभेम्बर २०२४ मा अजमेर (राजस्थान)मा आयोजित एक कार्यक्रममा असरानीले एउटा यस्तो बयान दिए, जसले उपस्थित सबैलाई गौरवान्वित तुल्याइदियो।

‘के तपाईंले कहिल्यै कुनै देशमा सिन्धी भिखारी देख्नुभएको छ? छैन। किनभने सिन्धीहरूले कहिल्यै माग्दैनन्। हामीले गोली बेचेका छौँ, लुगा बेचेका छौँ, पकौडा बेचेका छौँ, तर कहिल्यै हात फैलाएका छैनौँ। यो हाम्रो समुदायको सबैभन्दा ठूलो पहिचान हो।’

भिडले करतल ध्वनिका साथ ताली बजायो। तर असरानी यत्तिकै रोकिएनन्।

‘तपाईंले कुनै पनि सिन्धी डाँका, आतंककारी, नक्सलवादी वा हत्यारा भेट्टाउनुहुनेछैन। तर, तपाईंले व्यापारी भेट्टाउनुहुनेछ। हामीले संसारको कुनै पनि देश छोडेका छैनौँ। जापान, इन्डोनेसिया, मलेसिया जताततै सिन्धीहरूले लुगा बेचेका छन् र स्वादिष्ठ परिकारहरूबाट सेवा गरेका छन्। म आफैँले पनि लुगा बेचेको छु। मेरा बुबा र आमाले पनि त्यही गरे। उनीहरूले लुगा सिलाए, कडा परिश्रम गरे, तर कहिल्यै मागेनन्। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ असरानीले भने।

हास-परिहाससँगै मानिस हुनुको सार्थकता झल्काउने अभिव्यक्ति दिने असरानीको गत सोमबार ८४ वर्षको उमेरमा निधन हुँदा हरेकका आँखामा आँसु छचल्किए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत द्रवीभूत भए। मर्नुभन्दा केही समयअघि मात्र असरानीले आफ्ना फ्यानहरूका लागि इन्स्टाग्राम एकाउन्टमा पोस्ट गरेका थिए, ‘ह्याप्पी दिवाली।’

विडम्बना, असरानीका हकमा त यो दिवाली हयाप्पी भयो होला, किनकि उनले दुःखकष्टले भरिएको संसारबाट मुक्ति पाए, सके मोक्ष नै पाए, तर हामी उनका डाइहार्ट फ्यानलाई उनको महाप्रस्थानको खबरले स्तब्ध बनायो। अलबिदा असरानी!