व्यक्तिवृत्त
तीव्र ‘मुभमेन्ट’, हरेक कोणमा आफ्नो शरीर फ्याँकेर बल समात्ने फुर्तिलोपना, जुनसुकै स्थानबाट गर्न सक्ने ‘सटीक थ्रो’ र मैदानभर फराकिलो क्षेत्र कभर गर्ने क्षमताले उनलाई विशेष बनाएको छ।
नेपाली क्रिकेटमा कुनै समय फिल्डरले खासै महत्त्व पाउँदैनथे। बलर र ब्याटरको खुब चर्चा हुन्थ्यो। तर, परिस्थिति फेरिएको छ। हिजोआज नेपाली क्रिकेटमा खेलको नतिजा निर्धारण गर्ने मुख्य आधार नै फिल्डिङ बन्न थालेको छ।
नेपाली क्रिकेटमा आएको यो परिवर्तनको मुख्य संवाहक हुन्, दीपेन्द्रसिंह ऐरी अर्थात् राष्ट्रिय टोलीका उपकप्तान।
मैदानमा उनको उपस्थितिले मात्र खेलको वातावरण बदलिने गर्छ। तीव्र ‘मुभमेन्ट’, हरेक कोणमा आफ्नो शरीर फ्याँकेर बल समात्ने फुर्तिलोपना, जुनसुकै स्थानबाट गर्न सक्ने ‘सटीक थ्रो’ र मैदानभर फराकिलो क्षेत्र कभर गर्ने क्षमताले उनलाई विशेष बनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का भन्छन्, “मैदानमा उनले ब्याकअप गरेको बेला दिप्पी (दीपेन्द्र) छ भनेर कति जना पछि हट्ने गर्थे।”
दीपेन्द्रलाई उनका समर्थक ‘टाइगर’ को उपनामले चिन्छन्। यो उपनामको फुर्को पारसले नै झुन्ड्याइदिएका हुन्। दीपेन्द्रले सन् २०१७ मा भएको डिभिजन-३ अन्तर्गत केन्याविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले त्यतिबेला ‘ब्याक टु ब्याक’ दुई अर्धशतक प्रहार गर्दै आफ्नो उपस्थितिलाई सार्थक बनाएका थिए। यसपछि उनले पछाडि फर्किएर हेर्नुपरेको छैन। अझ, फिल्डिङमा उनको अद्भुत क्षमता देखेपछि बल र ब्याटमा नजमे पनि उनी टिममा यथावत् हुने गरेका छन्।
राष्ट्रिय टोलीका पूर्वअलराउन्डर तथा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मञ्जित श्रेष्ठ भन्छन्, ‘‘दीपेन्द्र पाँच मिटर मात्र नभई २५ मिटरबाट पनि उत्तिकै सटीक थ्रो गर्न सक्छन्। उनको यही अद्भुत प्रतिभाका कारण विपक्षी खेलाडी पनि उनको एरियामा बल खस्दा रन लिन डराउँछन्।’’
केही समयदेखि नेपाली टोलीसँग छुट्टै फिल्डिङ प्रशिक्षक पनि जोडिएका छन्। यसले दीपेन्द्रको फिल्डिङलाई अर्को उचाइमा पुर्याएको छ।
दीपेन्द्र आफ्नो फिल्डिङको दममा खेलको स्वरूप बदल्ने क्षमता राख्छन्। हालै ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप छनोटमा उनले ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध गरेको फिल्डिङले यसलाई प्रमाणित गरिसकेको छ।
“बाघ सबैभन्दा बलियो जनावर हो। उनी बाघजस्तै छन्। स्पिड र एजिलिटी हेर्दा मलाई यो नाम नै उपयुक्त लाग्यो,” दीपेन्द्रलाई बाघको उपनाम दिनुको कारण प्रस्ट्याउँदै पारसले कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा भनेका छन्।
विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको निर्णायक खेलमा दीपेन्द्रले प्रहार गरेको एउटा ‘थ्रो’ ले दर्शक मात्र होइन, प्रतिद्वन्द्वीलाई समेत चकित बनाएको थियो। निर्णायक मानिएको घरेलु ओमानविरुद्धको खेलमा सिल्ली मिड–अननजिकबाट अमिर कलिमलाई आउट बनाएपछि उनी लगातार पाँच खेलमा सीधा थ्रोबाट पाँच खेलाडीलाई रन आउट गर्ने खेलाडी बने। त्यो सफलतालाई नजिकबाट नियालेका आयरल्यान्डका पूर्वखेलाडी तथा कमेन्टेटर एन्ड्र्यु लेनर्ड थामिएनन्। उनले भने, “यसअघि कसैले यस्तो गरेकै थिएन। पाँच खेलमा पाँच लगातार डाइटेर हिट? अझ त्यसमा दुईपल्ट आफ्नै बलिङमा। यो विश्व कीर्तिमान हो जस्तो मलाई लाग्छ।”
छनोट प्रतियोगितामा दीपेन्द्रले कुवेतका क्लिन्टो एन्टो, जापानका अभिषेक आनन्द र कतारका कप्तान मिर्जा मोहम्मदलाई पनि यसरी नै आश्चर्यचकित बनाउँदै आउट गरेका थिए। यूएईविरुद्धको खेलमा पनि उनले राहुल चोपडालाई सिकार बनाए।

त्यतिबेला पनि एन्ड्र्यु नै कमेन्टेटर थिए। भन्न भ्याइहाले, ‘वर्ल्डक्लास फिल्डिङ, एनिह्वेयर इन द वर्ल्ड।’’
एन्ड्र्युको यो शब्द जुगौँजुग नेपाली क्रिकेटप्रेमीका कानमा गुन्जिरहनेछ। दीपेन्द्रको फिल्डिङले यतिबेला यो प्रमाणित गरेको छ– फिल्डिङ अब नेपाली टोलीका लागि सहायक नभएर खेल जित्ने मुख्य हतियार बन्न थालेको छ।
मञ्जित भन्छन्, “दीपेन्द्रमा सय प्रतिशत कमिटमेन्ट छ। उनी जहिले पनि टिमलाई कसरी जिताउने भन्ने सोच्छन् र त्यसका लागि जे पनि गर्न तयार हुन्छन्। पहिले पनि उनको फिल्डिङ राम्रो थियो, अहिले झनै क्वालिटी बढेको देखिन्छ।”
आधुनिक क्रिकेटमा फिल्डिङको प्रभावले खेलको नतिजालाई प्रभावित तुल्याइरहेको हुन्छ। त्यसैले केही देशहरूले छुट्टै फिल्डिङ प्रशिक्षक राख्ने गरेका छन्। नेपालमा यस कुरालाई पहिला खासै महत्त्व दिइँदैनथ्यो। तर, केही समयदेखि नेपाली टोलीसँग छुट्टै फिल्डिङ प्रशिक्षक पनि जोडिएका छन्। यसले दीपेन्द्रको फिल्डिङलाई अर्को उचाइमा पुर्याएको छ।
यो सफलताका पछाडि उनी एक्लै उभिएका छैनन्। उनीसँग एउटा समूह नै तयार छ। उनी काठमाडौँ भएको बेला जतिखेर पनि मैदानमै भेटिन्छन्। मैदानमा ब्याटिङ, बलिङ र रनिङसँगै फिल्डिङलाई पनि उनी उत्तिकै समय दिन्छन्।
यसका लागि उनले कुशल भुर्तेललगायत खेलाडी समेटेर एक समूह तयार पारेका छन्। यो समूह ‘फ्री’ भएको बेला कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा दिनरात अभ्यास गर्छ। यसले उनको व्यक्तिगत स्तर मात्र होइन, टिममा पनि सुधार ल्याएको देखिन्छ। दीपेन्द्र भन्छन्, “मलाई ब्याटिङ र बलिङ मन पर्छ, तर फिल्डिङ मेरो पहिचान हो। जब म मैदानमा हुन्छु, हरेक बल मेरो जिम्मेवारीमा हुन्छ।”
दीपेन्द्र नेपाली क्रिकेटको बलियो आत्मविश्वास बनिसकेका छन्। उनी मैदानमा हुँदा नेपालका खेलाडी मात्र होइन, क्रिकेट समर्थकले पनि महसुस गर्छ– फिल्डिङ पनि एउटा कला हो, र दीपेन्द्र सच्चा कलाकार।
उनको मान्यता छ– फिल्डिङमा एक प्रतिशत ऊर्जा कम भयो भने टिमले १० रन गुमाउँछ। त्यसैले उनी अभ्यासमा हरेक बललाई निर्णायक क्षणका रूपमा लिन्छन्। उनको प्रदर्शनले टिममा पनि परिवर्तन ल्याएको छ।
अहिलेका युवा खेलाडीहरू उनको खेलका ‘हाइलाइट’ हेरेर सिक्छन्। उनीहरू मैदानमा बल देख्नेबित्तिकै ‘डाइभ’ गर्न हिचकिचाउँदैनन्। अझ खेललाई कस्तो दृष्टिले हेर्ने, चुनौतीलाई कसरी सामना गर्ने र टोलीका लागि व्यक्तिगत प्रयास कसरी निर्णायक बन्न सक्छ भनेर सिक्न खोज्ने गरेको प्रशिक्षक मञ्जितको भनाइ छ।
यसले नयाँ पुस्तामा एक किसिमको ‘टिम स्पिरिट’ ल्याएको महसुस गर्छन्। “दिप्पी दाइले गर्दै छ भने हामीले पनि गर्नुपर्ने हुन्छ भन्ने भावना सिर्जना गरेको छ। उनको प्रयासले सबैलाई फिल्डिङ राम्रै गर्नुपर्छ भन्ने बोध गराएको छ,” उनी भन्छन्।
नेपालको क्रिकेटलाई विश्वस्तरमा पुर्याउने पंक्तिमा सन्दीप लामिछानेसँगै दीपेन्द्रको नाम पनि उच्चारित हुन्छ। तर, उनको योगदान ‘स्कोरबोर्ड’ ले मापन गर्नसक्ने अवस्था छैन। उनको योगदान असम्भव बल समात्दा, ‘बाउन्ड्री लाइन’ मा शरीर फ्याँक्दा, ‘सटीक थ्रो’ गर्दा र टिमलाई हरेक बलमा विश्वास दिलाउँदा मात्र देखिने गर्छ।
त्यसैले दीपेन्द्र नेपाली क्रिकेटको बलियो आत्मविश्वास बनिसकेका छन्। उनी मैदानमा हुँदा नेपालका खेलाडी मात्र होइन, क्रिकेट समर्थकले पनि महसुस गर्छ– फिल्डिङ पनि एउटा कला हो, र दीपेन्द्र सच्चा कलाकार।